अब नेपाल एयरलाइन्सको टिकटमा जापान एयरलाइन्समार्फत विश्वभर यात्रा गर्न सकिने
काठमाडौं । नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबीच द्विपक्षीय सम्झौता भएको छ । दुई कम्पनीबीचको आपसी सम्झौताले जापानबाट अन्य गन्तव्य जाने यात्रुलाई सहज हुने निगमले जनाएको छ । अहिले नेपाल एयरलाइन्सले काठमाडौंबाट जापानको नारितासम्म सिधा उडान गर्दै आएको छ ।
यो सम्झौतासँगै नेवानि जहाजबाट नारिता पुगी छोटो र छिटो ‘कनेक्टिङ फ्लाइट’ मार्फत अमेरिकी तथा पश्चिमी मुलुक र कोरियाको यात्रा सहज हुने निगमले जनाएको छ ।
सम्झौता अनुसार नेवानिको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइट मार्फत विश्वभरि यात्रु तथा ब्यागेज चेक–इन सुविधा लिन सहज हुने कम्पनीको भनाइ छ । यसले संसारभरिका यात्रुलाई नेपाल भ्रमणमा आउन समेत सहज हुने दुवै कम्पनीले जनाएका छन् । जापानसँगको सम्झौतासँगै यस्तो सम्झौता हुने एयरलाइन्स संख्या यात्रुतर्फ २५ र कार्गोमा २८ पुगेको छ ।