हमासद्धारा चार इजरायली बन्धकको शव हस्तान्तरण
काठमाडौं । हमासले गजामा मृत्यु भएका चार जना इसराइली बन्धकको शव हस्तान्तरण गरेको छ। बिहीबार दिउँसो रेड क्रसमार्फत ती शवहरू हमासले इसराइललाई हस्तान्तरण गरेको हो। टाइम्स अफ इसराइलका अनुसार सन् २०२३ को अक्टोबर ७ मा इसराइलबाट बन्धक बनाएर हमासले गाजा पुर्याएका ३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल र झन्डै २ वर्षका छोरा केफिर सहित ८४ वर्षका ओडेड लिफसिथको मृत्यु भएको थियो।
हमासले बन्धक बनाएका युवतीलाई खाना पकाउने र भाडा धुने काममा लगाइयो, सूर्यको मुख देख्न दिइएन
केफिर हमासले बन्धक बनाएर गजा पुर्याउँदा ९ महिनाका मात्रै थिए। उनीहरू सबैभन्दा कम उमेरका बन्धक भएकाले केफिर र एरियल इसराइलभरि परिचित छन् । उनीहरूको मृत्यु भएको र शव हस्तान्तरण गर्न लागिएको भन्ने खबरले पूरै इसराइल स्तब्ध भएको टाइम्स अफ इसराइको समाचारमा उल्लेख छ। केफिरको शव हमासले बन्धकमुक्त गर्ने भनेपछि गुलाबी रङको खेलौना हात्ती समातेर दाँत नभएको मुस्कानका साथ सिधै क्यामेरामा हेरिरहेको उनको तस्बिर विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ।
प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले इसराइलका लागि आज सबैभन्दा दु:खद दिन रहेको बताएका छन्। यस कठिन समयमा हाम्रो हृदय शोकमा परेका परिवारहरूसँगै छौं, नेतन्याहूले भनेका छन्। हमासले पहिलो पटक बन्धकको शव छाडेको हो। यसअघि गत शनिबारसम्म हमासले २४ जना बन्धक जिवित छाडेको थियो। आगामी शनिबार हमासले ६ जना जिवित बन्धक छाड्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।