एप्पलबाट १६ ई शृंखलाको नयाँ बजेट आइफोन सार्वजनिक
काठमाडौं । एप्पलले एसई मोडलको सट्टा १६ ई शृंखलाको नयाँ आइफोन सार्वजनिक गरेको छ । बहुप्रतीक्षित बुधबारको कार्यक्रममा कम्पनीले बजेट फोनअन्तर्गतको पुरानो एसई भर्सनलाई अन्त्य गर्दै नयाँ आइफोन शृंखला बजारमा ल्याएको बताएको छ । किफायती मूल्यको यस स्मार्टफोनमा कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि एप्पल इन्टेलिजेन्स समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आईफोन १६ भित्र सामेल ‘ई’ भर्सनलाई एप्पलले सस्तो मूल्यमा आकर्षक फिचरसहित प्रयोगकर्तालाई उपलब्ध गराउन लागेको बताएको हो । आईफोन १६ ई मा ए१८ चिप, फेस आईडी, यूएसबी सी पोर्ट, एप्पल इन्टेलिजेन्स र असाधारण ब्याट्री लाइफ समावेश रहेको कम्पनीको भनाई छ । यसमा ४८ मेगापिक्सेल क्यामेरा सिस्टम रहेको यो पानी र धुलो प्रतिरोधिसँगै सेरामिक सिल्ड कभरमा उपलब्ध हुने एप्पलले जनाएको छ ।
फेब्रुअरी २१ देखि आईफोन १६ ई को प्रि–अर्डर खुला गरिने र फेब्रुअरी २८ बाट बजारमा उपलब्ध हुने एप्पलको विज्ञप्तिमा उल्लेख छ । सीएनएनका अनुसार १२८ जीबी स्टोरेजको आइफोन १६ ईको मूल्य ५९९ डलर (करिब ८० हजार रुपैयाँ) तोकिएको छ ।
सस्तो आइफोनमा एप्पल इन्टेलिजेन्स समावेश गरेर कम्पनीले आफ्नो एआई प्रविधि सक्दो धेरै उपभोक्तामाझ पुर्याउन चाहेको सीएनएनको विश्लेषण छ । ‘सस्तो स्मार्टफोन बजार र एआई क्षेत्रमा एप्पलले पछिल्लो समय गुगल र सामसङबाट बढ्दो प्रतिस्पर्धा सामना गरिरहेको छ,’ सीएनएनको समाचारमा भनिएको छ, ‘अब १६ईमार्फत एप्पललाई धेरै ग्राहकमाझ पुग्न महत्वपूर्ण हुन सक्छ ।’