समाचार

च्याम्पियन्स ट्रफी : भारतको जित–गिलले हाने सतक

काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफीमा भारतले सानदार सुरूवात गरेको छ। बिहीबार दुबईमा भएको खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै भारतले समूह ‘ए’ मा जित निकालेको हो । यो समूहको पहिलो खेलमा आयोजक पाकिस्तानलाई न्युजिल्यान्डले हराएको छ । ट्रफीमा भारतका खेल युएई र अरु देशका खेल पाकिस्तानमा जारी छन् ।

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आजबाट

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले ४ विकेटको क्षतिमा ४६.३ ओभरमा भेट्टायो । भारतको जितमा शुभमन गिलले शतक प्रहार गरे। उनले १२९ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै नटआउट १०१ बनाए । केएल राहुलले नटआउट ४१ रन जोडे । ओपनर तथा कप्तान रोहित शर्मा ४१ रनमा आउट भए। विराट कोहली २२ रन, श्रेयस अय्यर १५ रन र अक्षर पटेल ८ रनमा आउट भए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश दुई बल खेल्न बाँकी छदा २२८ रनमा अलआउट भयो। कठिन परिस्थितिमा बंगलादेशको इनिङ सम्हालेका तोहिद हृदोयले शतक प्रहार गरे। पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका उनी ४९.२ ओभरमा १०० रनमा अन्तिम विकेटको रुपमा आउट भए।

कुनै समय ३५ रन बनाउँदा ५ विकेट गुमाएको बंगलादेशका लागि हृदोयसँगै जकर अलीले ६८ रन जोड्दा टोली संकटबाट बाहिर निस्कन सफल भयो। दुईबीच छैटौं विकेटका लागि १४४ रनको साझेदारी भयो। बलिङमा भारतका मोहमद सामीले ५ विकेट लिए भने हर्षित रानाले ३ विकेट हात पार्न सफल भए। अक्षर पटेलले २ विकेट आफ्नो नाममा लेखाए। आज अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दैछन् ।