परराष्ट्रमन्त्री राणा शनिबार जेनेभा जाने
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन स्विट्जरल्याल्डको जेनेभा जाने भएकी छन् । उनी शनिबार प्रस्थान गर्ने सचिवालयले जानकारी दिएको छ । उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने तय छ ।
मन्त्री डा राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनी विभिन्न देशका आफ्ना समकक्षीसँगै संयुक्त राष्ट्रसंघीय निकाय र अन्तरराष्ट्रिय संगठनका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग समेत भेटवार्ता गर्ने बताइएको छ ।
कलिंगा घटनाबारे परराष्ट्रमन्त्री र ओडिसाका शिक्षामन्त्रीबीच टेलिफोन संवाद
परराष्ट्र डा राणाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ को कार्यकालका लागि नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूबाट समर्थन जुटाउने बताइएको छ । उनले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् । परराष्ट्रमन्त्री राणा फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम भएको मन्त्रालयले जनाएको छ ।