पशुपतिको जलहरीसम्बन्धी विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी निर्माणको भ्रष्टाचारका आरोपितहरुलाई विशेष अदालतले त्रुटीपूर्ण रुपमा सफाइ दिएको दावी गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवहरु डा. प्रदीप ढकाल र डा. मिलनकुमार थापालाई सफाइ दिने विशेष अदालतको फैसलालाई त्रुटिपूर्ण भनेको छ ।
उसले विशेष अदालतको फैसला उल्ट्याएर आरोपितहरुलाई दोषी ठहर गर्नुपर्ने माग गरेको छ । झन्डै डेढ किलो सुन हिनामिना गरेको आरोपमा अख्तियारले कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलन थापा, सदस्य सचिव प्रदीप ढकाल र विशेष नाइके(स्टोरकिपर) अरुण कुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पशुपतिको जलहरी मुद्दामा सबैलाई सफाई
राष्ट्र बैंकबाट खरिद भएको र जलहरी निर्माणमा प्रयोग भएको अनि बँचेको सुनमा करिब डेढ किलो फरक देखिएको भन्दै अख्तियारले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले बाँकी सुन हिनामिना गरेको दावी गरिएको छ । त्यतिबेलाको बजारभाउ अनुसार एक करोड १७ लाख रुपैयाँ हिनामिना भएको दाबी गर्दै अख्तियारले निर्माणमा संलग्नहरुलाई जवाफदेही बनाउनुपर्ने दावी गरेको हो ।
खरिद भएको सुन, निर्माणमा प्रयोग भएको सुन र बाँकी सुनको पारदर्शी हिसाव नराखी संलग्नहरुले बदनियत र लापबाही गरेको भन्दै अख्तियारले सबै आरोपितहरुलाई सफाइ दिनु गलत भएको जिकिर गरेको हो ।
अख्तियारले पशुपति क्षेत्र विकास कोषका दुई पदाधिकारी र एक कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । असोज, २०८० मा अख्तियारले जलहरी राख्ने क्रममा करिव डेढ किलो सुन हिनामिना भएको दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीहरुमाथि एक करोड १७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो ।