समाचार

विपि र प्रचण्ड यूगनायक हुन् : वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बीपी र प्रचण्ड युगनायक भएको बताएका छन् । झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युग परिवर्तन गर्ने आन्दोलनको नेतृत्व गरेको बताए । कोही इतिहास बदल्ने नेता र कोही नियमित नेता हुन्छन् भन्दै पुनले यी दुई नेता मुलुकको राजनीतिक इतिहास बदल्ने नेताका रूपमा स्थापित भएको उल्लेख गरे ।

‘नेता त्यसै जन्मिँदैन । नेता इतिहासले जन्माउने हो । बीपीले जहाँनिया राणशासन फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो । प्रचण्डले सामन्तवादी राजतन्त्र फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो’, पुनले भने, ‘यी नेपाली राजनीतिका इतिहास बदल्ने आन्दोलनहरू हुन् । त्यस अर्थमा प्रचण्ड माओवादीको मात्र नेता होइन । उहाँ युग बदल्ने नेता हो, राजनेता हो ।’

मुलुकमा ठूलो आन्दोलनको आवश्यकता छ : प्रचण्ड

प्रचण्ड १०औं हजारको बदिलानबाट निर्माण भएको टावर भन्दै पुनले उनलाई व्यक्ति पुष्पकमल दाहाल प्रचण्ड नभई आन्दोलनको प्राधिकारयुक्त नेताका रूपमा इतिहासले स्वीकार गर्ने दाबी गरे । यसको अर्थ प्रचण्डको देवत्वकरण गर्ने वा कमीकमजोरी भए ढाकछोप गर्नु नभएको प्रष्टीकरण पनि पुनले दिए । आफूले प्रचण्डसँग २८ वर्ष लामो सहकार्य गरेको भन्दै पुनले सधैं उनलाई सहयोग गर्ने र उनकै वरिपरि केन्द्रित हुने गरेको बताए ।

जनयुद्धदेखि शान्ति प्रक्रिया, पहिलो र दोश्रो संविधानसभा निर्वाचन, संविधान निर्माण, कटवाल प्रकरण, पार्टी विभाजनजस्ता महत्वपूर्ण राजनीतिक घटनाक्रमहरूमा आफू जहिले पनि प्रचण्डसँगै उभिएको स्मरण पुनले गरे । ‘म जनयुद्धको पहिलो फौजी कमाण्डको कमाण्डर हुँ । २८ वर्षदेखि प्रचण्डसँग काम गर्दै आएको छु ।

बिग्रिएका जति सबै प्रचण्डको थाप्लोमा हाल्ने र राम्रो सबै हामीले गरेको भन्ने पक्षमा हामी हुनुहुँदैन’, पुनले भने, ‘मेरो भनाइ कोही साथीप्रति लक्षित छैन । हामीले राम्रा जति सबै प्रचण्डबाट भएको भन्ने वा नराम्रा जति सबै प्रचण्डको टाउकोमा हाल्ने र जसजति आफूले लिने गल्ती गर्नुहुँदैन । राम्रा र नराम्रा सबै कुराको जिम्मेवारी नेतृत्वमा भएका हामी सबैले लिनुपर्छ ।’

पुनले पार्टीभित्र आफ्नो छुट्टै समूह नभएको पनि स्पष्ट गरे । कार्यशैली, विचार र दृष्टिकोणमा समानता हुनेहरूबीच बढी नजिक सम्बन्ध हुनुलाई अन्यथा मान्न नहुने भए पनि त्यसैलाई स्थायी गुट बनाउन नहुने भन्दै उनले आफूले गुट निर्माण नगरेको बताए ।

फरक प्रसँगमा पुनले आगामी ०८४ को निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा कसैसँग तालमेल नगरिने दोहोर्‍याए । प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि चालेका कदमका कारण जनतामा माओवादीको लोकप्रियता बढेको भन्दै उनले त्यही एजेण्डाका साथ चुनावमा जाने नीति रहेको बताए ।

उनले सरकारले राम्रो गर्दा समर्थन र खराब काम गर्दा प्रतिपक्षमा रहेर भण्डाफोर र प्रतिवाद गर्ने भन्दै सरकार प्राथमिकतामा नरहेको स्पष्ट गरे ।
‘प्रचण्ड नेतृत्वको सरकारको सुशासन र भ्रष्टाचारविरोधी अभियानबाट डराएर कांग्रेस र एमाले मिलेका हुन् । हामी ०८४ सम्म यही सरकार चलोस् भन्ने चाहन्छौं’, पुनले भने, ‘सरकारमा हाम्रो ध्यान छैन । राम्रो गर्दा सरकारलाई साथ दिन्छौं । नराम्रो गर्दा भण्डाफोर र प्रतिवाद गर्छौ ।’

कांग्रेस र एमालेसँग आफूहरूले राजतन्त्र अन्त्यदेखि संविधान निर्माणसम्म सहकार्य गरेको र त्यो सही रहेको भन्दै उनले संविधान कार्यान्यवनसम्म आउँदा आधारभूत रूपमै ती दुई दलसँग फरक परेको बताए । कांग्रेस र एमाले प्राप्त उपलब्धीबाट पछि फर्कन खोजेको आरोप पनि पुनले लगाए । अर्को एक प्रसंगमा पुनले प्रधानमन्त्री केपी ओलीको लोकप्रियताको ग्राफ धेरै घटेको दाबी गरे ।