अमेरिकामा नेपालसहित १७ देशले पाइरहेको टीपीएस खारेज, साढे ८ लाख आप्रवासी प्रभावित
काठमाडौं । अमेरिकी गृह सुरक्षा विभागले अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गर्ने निर्णय गरेको छ । यस निर्णयले करिब आठ लाख ५० हजार आप्रवासी प्रभावित हुने नेपालको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । ट्रम्प प्रशासनले हाल कायम नेपाललगायत १७ देशका आप्रवासीको टिपीएस खारेज गर्ने निर्णय गरेको हो । यसले टिपीएस वाहक प्रभावित हुने भएको हो । उनीहरू अब अवैध हुनेछन् । टीपीएस वाहकलाई अमेरिकाभर काम गर्ने अनुमति प्राप्त हुन्छ । ट्रम्प प्रशासनको टीपीएस खारेजीको निर्णयसँगै ती आप्रवासीहरू या त आफै स्वदेश फर्कनुपर्छ वा अमेरिकाले अवैध आप्रवासीसरह व्यवहार गरेर जवर्जस्ती स्वदेश फर्काउँछ ।
टीपीएस वाहकले अमेरिकी अध्यागमन विभागसमक्ष आफ्नो स्थितिका बारेमा प्रत्येक वर्षजस्तो पुनः दर्ता गर्नुपर्ने हुन्छ । तर सो विभागले हाल पुनः दर्ताको प्रक्रियासमेत रोकेको समाचारमा उल्लेख छ । विगतका सरकार टीपीएस वाहकहरूप्रति नरम बनेका थिए । प्राकृतिक विपत्ति, सशस्त्र द्वन्द्व र महामारी जस्ता कारणले आफ्नो देशबाट भागेर आएका वा ल्याइएका आप्रवासीहरूलाई अमेरिकाले अस्थायी रूपमा काम गर्ने गरी अनुमति टीपीएस दिने गरेको छ ।
ट्रम्प–मोदी भेटवार्ता : आप्रवासी मुद्दामा यस्तो भयो कुराकानी
राष्ट्रपति जर्ज डब्लु वुसको कार्यकालमा सन् १९९० मा इमिग्रेसन याक्टका रूपमा यो कानुन ल्याइएको हो । हाल विश्वका १७ देशका नागरिकलाई अमेरिकाले टीपीएस सुविधा दिएको र उनीहरू वर्षौवर्षदेखि काम गर्दै आएका थिए । तर ट्रम्प प्रशासनले यी सबै देशको सुविधा खारेज गरेको छ । हाल अमेरिकामा सर्वाधिक हैटीका नागरिकहरू टीपीएस वाहक छन् । सन् २०१० मा हैटीमा गएको महाभूकम्पपछि अमेरिकाले हैटीका जनतालाई अमेरिकामा काम गर्ने गरी अस्थायी कामदार अनुमति दिएको थियो ।
नेस्नल इमिग्रेसन फर्मका अनुसार, अमेरिकामा भेनेजुएलाका तीन लाख ५० हजार टीपीएस वाहक छन् । उनीहरूको आगामी अप्रिलमा म्याद भुक्तान हुनेछ । अमेरिकामा तेस्रो धेरै टीपीएस वाहक सङ्ख्या होण्डुरसको रहेको छ । होण्डुरसका ५४ हजार मानिसले टीपीएस लिएका छन् भने चौथो स्थान युक्रेनको छ । युक्रेनका करिब ५० हजार मानिसले टीपीएस लिएका छन् । पाँचौँ स्थानमा अफगानिस्तान रहेको छ ।
यहाँका करिब आठ हजार दुई सयले टीपीएस सुविधा पाएका छन् भने यो सुविधा पाउनेमा नेपाल छैटौँ स्थानमा रहेको छ । नेपालका सात हजार आठ सय जनाले यो सुविधा लिएका छन् । त्यस्तै सिरिया तीन हजार आठ सय, क्यामरुन तीन हजार दुई सय, निकारागुवा दुई हजार नौ सय, वर्मा दुई हजार तीन सय, यमन एक हजार आठ सय, सुडान, समालिया, साउथ सुडान, इथियोपिया आदि देशका आप्रवासीहरूले पनि टीपीएस सुविधा लिएका छन् । र, यिनीहरूको बसोबासको सङ्ख्याको दृष्टिकोणले अमेरिकाका विभिन्न राज्यमध्ये सर्वाधिक फ्लोरिडा, टेक्सस, न्यु योर्क र क्यालिफोर्नियामा रहेका छन् ।