समाचार

नेपाली फुटबल टोलिले पायो नयाँ प्रशिक्षक


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ९ महिनापछि मुख्य प्रशिक्षक पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अष्ट्रेलियन नागरिक म्याट रोसलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

यसअघि नेपालको मुख्य प्रशिक्षक रहेका इटालियन नागरिक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता जेठमै सकिएको थियो । त्यसपछि एन्फाले उनलाई निरन्तरता दिने वा अवधि थप्ने केही निर्णय गरेन ।


भदौमा मात्र एन्फाले आधिकारिक रुपमा एनेसको सम्झौता नविकरण नगर्ने निर्णय सार्वजनिक गरेको थियो । त्यसपछि एन्फाले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ४०० भन्दा बढीले आवेदन हालेकोमा एन्फाले म्याट रोसलाई छानेको हो 

यस बीचमा नेपालले ताजिकिस्तान गएर घरेलु टोली र अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दा नविन न्यौपानेले अन्तरिम मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

रोस पहिलो पटक कुनै पनि देशको पुरूष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका हुन् । यसका लागि उनी आफु उत्साहित रहेको बताएका छन् । प्रशिक्षक नियुक्त भएपछि उनले एन्फा टिभीसँग कुरा गर्दै सर्ट टम र लङ टमका केही उद्देश्य समेत सुनाएका छन् ।

इंग्ल्याण्डको न्युक्यासलमा जन्मिएका अस्ट्रेलियन नागरिक म्याट रोस ‘यूईएफए प्रो लाइसेन्स’ मान्यता प्राप्त प्रशिक्षक हुन् । पछिल्लोपटक उनले दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिए ।

उनी सन् २०२० देखि २०२३ सम्म कोरियाको सहायक प्रशिक्षक थिए । यस्तै रोसले स्वीडिस महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेको पनि प्रशिक्षक भएर काम गरेका थिए ।

उनी सहायक प्रशिक्षक रहँदा दक्षिण कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा कोरिया चीनसँग ३-२ ले पराजित हुँदै उपविजेता बनेको थियो ।

त्यसअघि उनले चीनको यू-१५ राष्ट्रिय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेका थिए । चीन छाडेर उनी कोरिया पुगेका थिए ।