अष्ट्रेलियामा नेपाली फिल्म अवार्ड हुने
काठमाडौं । अस्ट्रेलियामा नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ । डि व्वाइज इन्टरटेन्मेन्ट नामक संस्थाले मे २८ जुन १ सम्म अस्ट्रेलियामा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्न लागेको जनाएको छ । नेपाली फिल्म र पर्यटन प्रवर्धन उद्देश्यसहित अवार्ड आयोजना गर्न लागिएको डि व्वाइज इन्टरटेन्मेन्टका प्रमुख गणेश मल्लले बताए ।
पछिल्लो समय नेपाली फिल्मको बजार अस्ट्रेलियामा राम्रो हुँदै गएको छ । अस्ट्रेलियामा नियमित रूपमा अधिकांश नेपाली फिल्म प्रदर्शन हुँँदैआएको छ । ठुलो फिल्मले करोडभन्दा बढीको व्यापार अस्ट्रेलियामा मात्र गर्ने गरेको छ। यसले नेपाली फिल्मको बजारलाई राम्रो प्रवर्धन गरेको छ । फिल्ममार्फत पर्यटन र नेपाली फिल्मका दर्शकमा पनि प्रवर्धन हुँदै आएको छ ।
फिल्म, निर्देशक, कथा, सङ्गीत, अभिनेता, अभिनेत्री, चरित्र कलाकार, गायक, गायिका, छाँयाकार, सम्पादक, ब्याकराउन्ड स्कोरलगायत विधा समावेश हुनेछ । पपुलर हिरो अफ द इयर, पपुलर हिरोइन अफ द इयर पनि समावेश गरिनेछ । एक जना चलचित्र पत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कार र एक जना विशिष्ट फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड नगद राशीसहित प्रदान गरिने आयोजनकले जनाएको छ।
अवार्डमा समावेश हुने विधाहरू, सहभागी कलाकार तथा अवार्डको जुरी र अन्य जानकारी छिट्टै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने आयोजकले जनाएको छ। पछिल्लो समय विकृतिको रूपमा आयोजना भइरहेको अवार्ड समारोहलाई व्यवस्थित र प्रतिष्ठित अवार्डको रूपमा आयोजना गर्न कुनै कसर बाँकी नराख्ने पनि आयोजकले बताएको छ ।