अमेरिकी कंग्रेसमा सम्बोधन गर्दै ट्रम्पले के भने ?
काठमाडौं । गत जनवरीमा अमेरिकी राष्ट्रपति पद सम्हालेपछि डोनल्ड ट्रम्पले बुधवार पहिलो पटक अमेरिकी संसद्को संयुक्त सत्रलाई सम्बोधन गरेका छन्। उनले आफ्नो सम्बोधनमा अमेरिकी सपना नरोकिने बताए । संसद्मा अमेरिकी राष्ट्रपतिले दिएको सबैभन्दा लामो उक्त भाषणलाई रिपब्लिकनहरूले प्रशंसा गरेका छन्।
उनले पद सम्हालेको ६ सातामा देशभित्र र अमेरिकी विदेश नीतिमा उथलपुथल देखापरेका बेला ट्रम्पले उक्त भाषण गरेका हुन्। उक्त भाषणका बेलाम विपक्षी डेमोक्र्याटहरूले चाहिँ ट्रम्पलाई उल्याएका थिए। आफ्नो १०० मिनेट लामो भाषणको सुरुवाततिरै ट्रम्पले आफ्ना अरबपति सल्लाहकार इलोन मस्कको नाम लिए। मस्क चाहिँ ग्यालरीमा बसेर उनको भाषण सुनिरहेका थिए।
प्रविधि क्षेत्रका सर्वाधिक धनीमध्येका एक मस्क ट्रम्पले स्थापना गरेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सीका हर्ताहर्ता हुन्। उक्त निकायले दशौँ हजार सङ्घीय कर्मचारीहरूलाई हटाएको छ भने अर्बौँ डलर वैदेशिक सहायतालाई रोकिदिएको छ। राष्ट्रपतिले मस्कको खर्च कटौती योजनाअनुसार हटाइएका योजना र कार्यक्रमको सूची पनि त्यहाँ सुनाएका थिए। त्यस बेला रिपब्लिकनहरू हाँसेका थिए।
डेमोक्र्याटहरूले चाहिँ इलोनले चोर्छन् र झूट भन्दै चिच्याएका थिए। ट्रम्पले भाषण सुरु गरेको पाँच मिनटभित्रै टेक्ससबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि एआई ग्रीनलाई त्यहाँबाट सुरक्षाकर्मीले बाहिर निकाले। उनले सभामुखले राष्ट्रपति बोलिरहँदा अवरोध नगर्न र आफ्नो सिटमा बस्न दिएको आदेश पालन नगरेपछि बाहिर पठाइएको थियो। ह्वाइट हाउससहित अमेरिकाका दुवै सदनमा रिपब्लिकनहरूको कब्जा भएकाले डेमोक्र्याटहरू नेतृत्वविहीन जस्ता देखिएका छन्।
उनले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत र चीनमाथि थप १० प्रतिशत कर लगाएपछि उत्पन्न हुन सक्ने व्यापार युद्धको असरबारे पनि बोलेका छन्।
तर उनले त्यसको खासै असर नहुने जस्तोगरी भाषण गरे। आफ्नो कर नीतिले अमेरिकालाई फेरि महान् र धनी बनाउने पुरानै कुरा ट्रम्पले आफ्नो भाषणमा दोहोर्याए।
ट्रम्पले मतदाताहरूलाई उनी राष्ट्रपति बनेपछि मुद्रास्फीति कम हुने बताएका थिए। तर उनैका पालमा अण्डाको भाउ बढेपछि आलोचना भएको हो। तर भाषणमा उनले अण्डाको भाउ बढ्नुमा आफू जिम्मेवार नभएको बताए। ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडनले अण्डाको मूल्य नियन्त्रण बाहिर जान दिएको आरोप लगाउँदै त्यसलाई लयमा फर्काउन आफूले काम गरिरहेको दाबी गरे।