बिचार

नारालाई व्यवहारमा कार्यान्वयन गर्न अझ सशक्त बन्नुपर्ने

न्युयोर्क

प्रत्येक वर्ष मार्च ८ का दिन गर्विलो नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस अर्थात् महिला श्रमिक दिवस मनाइन्छ । यस वर्ष “Accelerate Action” for gender equality भन्ने सन् २०२५ को लागि चयन गरेको नाराका साथ नारी दिवस विश्वभर मनाइदैं छ । सरकारी तथा गैरसरकारी संस्थाहरुको पनि दिवस मनाउँने तयारी व्यापक देखिन्छ ।

हामीले कुनै पनि कार्य गर्दा त्यसको इतिहासलाई स्मरण गर्नुपर्ने हुन्छ । मानव सभ्यताको शुरुवातदेखि नै महिलाहरूले पुरुषसरह काम गर्ने गरेको र काम गरेबापतको ज्याला पुरुषको तुलनामा ज्यादै कम पाउने र पुरुषले भन्दा धेरै घण्टासम्म काम गर्नुपर्ने हुँदा आफूहरू शोषित भएको महसुस गरि आफ्नो अधिकारको लागि सन् १९०० देखि आवाज उठाउन थालेको इतिहासमा भेटिन्छ ।

नारी सशक्तिकरणको अभियानलाई अगाडि बढाउदै जाँदा विश्वका महिलाहरु आज यो अभियानमा धेरै अगाडि बढिसकेका छन् । तर हामी नेपाली महिलाहरु भने आज पनि घरेलुहिंसा, बलात्कार, हत्या, आत्महत्या, दाइजोप्रथा जस्ता जघन्य अपराध र कुरीतिको घेराबाट बाहिर निस्कन सकेको अवस्था छैन । नेपालमा मात्र नभएर विदेशमा भएका नेपाली महिलाहरू पनि यस्तो अपराधबाट छुट्कारा पाउन नसकेको कुरा बेलाबेलामा हामीले सुन्दैं आएका छौं । केही वर्ष अगाडिसम्म हाम्रो छोरीचेलीहरु विभिन्न बहानामा जलाउने र झुन्ड्याउने गरिन्थ्यो भने आजकल स्वयं जल्ने र झुन्डिने गरेको दिनहॅु जस्तो घटिरहेको सुन्छौं र हामी सामाजिक संजालबाट हार्दिक श्रद्वाञ्जली दिएर आफ्नो कर्त्तव्य पूरा गरेको ठान्छौं ।किनभने हिंसामा परेको छोरीलाई हाम्रो समाजका तॅपाई हामीले बाँच्नुभन्दा मर्नु ठिक मान्छौं ।

आजकल हिंसामा परेका छोरीहरुको आत्मबल कमभई आत्महत्या गर्नुमा यहीं समाजका तॅपाई हामी नै दोषि छौं ।यस्ता घटनामा परेका छोरीहरुलाई आत्मबल बढाउनको लागि आवश्यक काउंसलिंग गर्नुकोसट्टा दोष देखाई मनोबल कम गराउने काम तॅपाई हामीले नै गर्नेगर्छौं । सोचौं आज अरु कसैको घरमा घटेको घट्ना भोली तॅपाईको घरमा घट्न सक्छ किनभने तॅपाईको घरमा पनि कुनै न कुनैरूपमा नारी छिन्। तसर्थ नारीप्रतिको सोंच बदलौं ।

हालसालै हाम्रा छोरीचेलीहरु अमेरिकामा चन्द्रमाया पौडेल रिमाल, ममता काफ्ले, मुना पाण्डे, अस्ट्रेलियामा कृति थापा त्यसैगरि इण्डियामा प्रकृति लम्सालले हिंसामा परि आत्महत्या गरेका छन् अर्थात् हत्या भएको छ । यी छोरीचेलीको हत्या अथवा आत्महत्याको कारण आफ्नै नजिकको पार्टनर र आफन्तबाट प्रताडित् भएर भएको देखिन्छ ।

आज नारी दिवसले ११५ औं वसन्त पार गर्दै गर्दा पनि महिलाहरुलाई नेतृत्व तहमा र निर्णायक भूमिकामा सहर्ष स्विकार गर्न नसकेको अवस्था छ । नेतृत्व तहमा भएका केही महिलाहरु पनि राजनीतिक आस्थाको आधारमा, जातीय आधारमा र अरु विभिन्न कुराले विभाजित भएको देखिन्छ ।

तसर्थ जेण्डर इक्वालिटीको लागि अझैं ५ पुस्ता निरन्तर यो अभियानमा लाग्नुप​र्ने एक सर्वेक्षणले देखाएको छ । यो अभियानलाई समर्थन गर्नको लागि सभा सम्मेलनबाट मात्र नभई घरबाट पनि गर्न सकिन्छ । हरेक महिलाले महिलाको सम्मान गर्दै समाज परिवर्तनको लागि हातेमालो गर्दै अगाडि बढ्न सक्नुपर्छ । व्यक्तित्व विकासको कमी भए विभिन्न तालिमहरु लिएर सशक्तिकरणको मार्गमा हिड्न महिलाहरु अब हिच्किचाउनु हुँदैन । महिला दिदीबहिनीहरू नेतृत्व तहमा आउन जरुरी छ । पुरुष दाजुभाइले पनि महिला दिदीबहिनीलाई नेतृत्व तहमा अगाडि बढाउनको लागि सहज वातावरण प्रदान गर्नुपर्छ र आफू पनि मानसिक रुपमा परिवर्तन हुनुपर्छ ।

जुन घरमा, जुन समाजमा, जुन देशमा महिलाको सम्मान हॅुदैन त्यो घरमा, त्यो समाजमा, त्यो देशमा हिंसा र द्वन्द हुन्छ र त्यो घर, समाज र देश कहिले पनि सम्पन्न र सफल हॅुदैन ।
११५ औं अन्तराष्ट्रिय नारी दिवसको सबैमा शुभकामना ।

(लेखिका एनआरएनए न्युयोर्क च्याप्टरको महिला उपाध्यक्ष हुनुहुन्छ)