समाचार

सिरिया हिंसामा मारिनेको संख्या हजार माथि

काठमाडौं । सिरियामा सरकारी सुरक्षा फौज र पूर्वराष्ट्रपति बसर अल असदका समर्थकबीच शुक्रबार र शनिबार भएका झडपमा एक हजारभन्दा बढीको ज्यान गएको छ । ज्यान गुमाउनेमा कम्तीमा ७४५ जना सर्वसाधारण रहेको बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) ले उल्लेख गरेको छ । एसओएचआरका अनुसार झडपमा पूर्वराष्ट्रपति असद समर्थित १४८ र सरकारी फौजका १२५ जनाले ज्यान गुमाएका छन् । सिरियामा १४ वर्षयताकै सबैभन्दा ठूलो हिंसा हो ।

अपदस्थ पूर्वराष्ट्रपति असदप्रति बफादार ‘अलावाइट लडाकु’ ले तटीय लताकिया प्रान्तको जाब्लेहमा सुरक्षा फौजमाथि आक्रमण गरेपछि झडप सुरु भएको हो । लगत्तै सिरियाली सरकारले विद्रोहलाई दबाउन सक्रियता अपनाएपछि देशभरबाट हजारौं लडाकु उक्त क्षेत्रमा जम्मा भएका थिए । असदलाई हटाएपछि विद्रोहीले सत्ता लिएको तीन महिनापछि भड्किएको झडपले दमास्कसमा नयाँ सरकारलाई चुनौती दिएको छ ।

इस्लामिक विद्रोही समूह हयात तहरिर अल–शामको नेतृत्वको समूहले सिरियाली राष्ट्रपति बसर अल असदको शासन तीन महिनाअघि ढालेको थियो । सिरिया सरकारले असदप्रति बफादार फौजको अवशेषबाट भएको आक्रमणको जवाफ दिइरहेको जनाएको छ । ‘व्यक्तिगत स्वार्थ’ का कारण हिंसा फैलिएको सरकारको दाबी छ ।

सिरियाका अन्तरिम राष्ट्रपति अहमद शाराले राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् । ‘हामीले राष्ट्रिय एकता र नागरिक शान्तिलाई सकेसम्म धेरै जोगाउनुपर्छ, ईश्वरको इच्छा भएमा हामी यस देशमा सँगै बस्न सक्षम हुनेछौं,’ शाराले दमास्कसको एक मस्जिदबाट भनेका छन् । उनले पछिल्ला घटना असद शासनको पतनपछिका अपेक्षित चुनौतीको हिस्सा भएको दाबी गरेका छन् ।

झडपपछि लताकिया सहर र वरपरका क्षेत्रमा बिजुली र खानेपानीको लाइन काटिएको एसओएचआरले जनाएको छ । अपदस्थ राष्ट्रपति असदको मुख्य गढ मानिएको लताकिया र टार्टसस्थित तटीय प्रान्तबाट सयौं मानिस आफ्नो घर छाडेर भागेको बीबीसीले जनाएको छ । आफ्ना सुरक्षाकर्मीमाथि ‘विश्वासघाती आक्रमण’ गरेपछि सरकारले स्थिति पुनः नियन्त्रणमा लिएको केही समाचार संस्थाले सिरियाली रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै जनाएका छन् ।

‘हिंसाले अलावाइट समुदायलाई त्रासको अवस्थामा पुर्‍याएको छ,’ सहरका एक अभियन्ताले बीबीसीसँग बताएका छन् । सिरियामा कुल जनसंख्याको करिब १० प्रतिशत अलावाइट जाति छन् । सयौं मानिस प्रभावित क्षेत्रबाट भागेको उनको भनाइ छ । समाचार संस्था रोयटर्सका अनुसार झडपपछि ठूलो भीडले लताकियाको ह्मेइमिममा रहेको रुसी सैन्य अड्डामा शरण लिएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दर्जनौं परिवार भागेर छिमेकी देश लेवनान पुगेका छन् । सिरियाका लागि राष्ट्रसंघीय विशेषदूत गेयर पेडरसनले सिरियाका तटीय क्षेत्रमा ‘धेरै नागरिक हताहत भएको चिन्ताजनक रिपोर्टहरू आएको र यसबाट गहिरो चिन्ता लागेको’ बताएका छन् । उनले सबै पक्षलाई देशमा अस्थिरता उत्पन्न हुने र समावेशी राजनीतिक संक्रमणलाई खतरामा पार्न सक्ने कार्यबाट टाढा रहन आह्वान गरेको बीबीसीले जनाएको छ ।