प्रचण्डले मंगलबार संसदमा सम्बोधन गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ । भोलिको संसदमा बोल्नका लागि संसदसँग समय माग्नुभएको छ । उहाँले बोल्ने गरी समय निर्धारण भएको छ, मुख्य सचेतक बर्तौलाले बताए ।
त्यस्तै दलहरूबीच लोकतन्त्र र गणतन्त्रविरुद्ध अराजकतावादी शक्तिहरूले गरेका गतिविधिलाई संसद्ले पनि ख्याल गर्नुपर्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ । त्यस्तै संसद्बाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिष्थापन विधेयक २८ गते बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखेर प्रक्रिया अघि बढाइने भएको छ ।