समाचार

पाकिस्तानमा सशस्त्र समूहको कब्जामा रेल, ४७० यात्रुको ज्यान जोखिममा

काठमाडौं । पाकिस्तानबाट बलुचिस्तानको स्वतन्त्रताका लागि संघर्ष गरिरहेको बलुच लिबरेशन आर्मी (बीएलए)ले एक यात्रु ट्रेन कब्जामा लिएको छ । एक सय सुरक्षाकर्मीसहित ४७० जना सवार ट्रेन दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको क्वेटाबाट हैदर पख्तुनख्वा हुँदै पेशावर जाँदै थियो । ट्रेन नियन्त्रणमा लिएपछि महिला, बालबालिकालगायत ३७० स्थानीयलाई मुक्त गरेको तथा एक सय सुरक्षाकर्मीलाई बन्धक बनाएको बीएलएले दावी गरेको छ ।

सयजना सुरक्षाकर्मीमध्ये पाकिस्तानी सेना, पाकिस्तानी प्रहरी र इन्टेलिजेन्स एजेन्सीका सदस्य छन् । ट्रेनलाई नियन्त्रणमा लिएपछि भएको भिडन्तमा ६ पाकिस्तानी सुरक्षाकर्मी मारिएको दावी बीएलएको गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

हाइज्याक गरिएको ट्रेनमा ९ वटा डिब्बा रहेका छन् । बलुच बिद्रोहीले ट्रेनलाई एउटा टनेलनजिकै रोकेर राखेको बताइएको छ । घटना सार्वजनिक भएपछि पाकिस्तानी सेनाले बन्धकहरूलाई मुक्त गर्ने अप्रेशन सुरु गरेको छ । यसक्रममा पाकिस्तानी एयरफोर्सले हमला सुरु गरेको छ भने स्थल सेना पनि परिचालन भएको छ । बीएलएले हवाइ हमला नरोके सबै बन्धकको हत्या गर्ने धम्की दिएको छ ।

एक सरकारी प्रवक्ताले विज्ञप्ति जारी गर्दै सिबी अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको र एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको बताएका छन् ।
बलुच विद्रोहीहरूले रेलवे ट्र्याकहरू उडाएर रेल रोक्न बाध्य पारेका थिए । त्यसपछि उनीहरू त्यसमा चढेर यात्रुलाई बन्धक बनाएका थिए ।

ग्यास र अन्य खनिज स्रोतहरूले समृद्ध मानिने बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले दशकौंदेखि सशस्त्र संघर्ष गर्दै आएका छन् । उनीहरूले पाकिस्तानी सरकार, पाकिस्तानी सेना र चिनियाँहरू विरुद्ध आक्रमण गर्दै आएका छन् । यस क्षेत्रमा चिनियाँ लगानीका विभिन्न आयोजना चलिरहेकाले तिनमा चिनियाँ प्राविधिकहरू कार्यरत रहेका छन् । बेला बेला उनीहरू बीएलएको निशानामा पर्दै आएका छन् ।

क्षेत्रफलको हिसाबले बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । तर, जनसंख्याका हिसावले भने सबैभन्दा सानो हो । यसले पाकिस्तानको कुल भूभागको लगभग ४४ प्रतिशत क्षेत्रफल ओगटेको छ । बलुचिस्तान उत्तरपूर्वमा खैबर पख्तुनख्वा, पूर्वमा पञ्जाब र दक्षिणपूर्वमा सिन्धका पाकिस्तानी प्रान्तहरूसँग सिमाना जोडिएको छ । यसको पश्चिममा इरान र उत्तरमा अफगानिस्तानसँग सिमाना जोडिएको छ भने दक्षिणी सिमाना अरब सागरले बनेको छ ।