अमेरिकामा नेपाललाई ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रवर्द्धन
काठमाडौं । अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यको प्रचार प्रसार गरिएको छ । अमेरिका कोलोराडोस्थित डेन्भरमा भएको ’ट्राभल एन्ड एडभेन्चर शो–२०२५’ मा नेपाल पर्यटन बोर्डले नेपाललाई विश्वमै ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रस्तुत गरेको हो । ८–९ मार्चमा सम्पन्न एडभेन्चर शोमा पर्यटन बोर्डले विशेष कार्यक्रम आयोजना गर्दै नेपाललाई साहसिक र सुरक्षित पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको हो ।
कार्यक्रममा बोर्डले सहभागी पर्यटन व्यवसायीमध्येबाट लक्की ड्रमार्फत एक जनालाई सगरमाथा आधार शिविरसम्मको पदयात्रा निःशुल्क गराउने भएको छ । उक्त लक्की ड्र अमेरिकी पर्यटन व्यवसायी उपला सेफर्टले जितेकी छिन् । उनले मार्चदेखि मेसम्म नेपाल भ्रमण गरिसक्नुपर्ने छ । नेपाल भ्रमणका क्रममा लाग्ने खर्च बोर्डले बेहोर्ने छ ।
यसले अमेरिकी बजारमा नेपालको पर्यटन प्रवर्द्धन र प्रचारका लागि थप मद्दत पुग्ने बोर्डको विश्वास छ । एडभेन्चर शोको आधिकारिक वेबसाइटमा नेपाललाई साहसिक यात्राको राजधानीका रूपमा उल्लेख गरिएको छ ।
‘विश्वका ८ हजारभन्दा अग्ला १४ वटा शिखरमध्ये ८ वटा नेपालमै पर्छन् । यसकारण पनि नेपाल पर्वतारोहीका लागि उत्कृष्ट गन्तव्य हो,’ उक्त वेबसाइटमा छ, ‘अद्भूत प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र समृद्ध सांस्कृतिक धरोहरले नेपाललाई साहसिक यात्रा गर्नेका लागि अनुपम अनुभव प्रदान गर्दछ ।’
नेपाल पदयात्रा बाहेक पर्वतारोहण, र्याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, जिप–लाइनिङ, जंगल सफारीजस्ता साहसिक पर्यटन गतिविधिले पनि संसारमा चिनिएको उक्त वेबसाइटमा उल्लेख छ ।
कोरोना महामारीपछि नेपालमा पर्यटक भित्र्याउन पर्यटन बोर्डले संसारका विभिन्न देशमा पर्यटन प्रवर्द्धन, प्रचार र पर्यटन गतिविधिमा तीव्रता दिइरहेको छ ।
एड्भेन्चर शोमा नेपालका ९ निजी पर्यटन व्यवसायीको सहभागिता थियो । नेपालले आयोजना गरेको विशेष कार्यक्रममा ५५ अमेरिकी टुर अपरेटर कम्पनीका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।