समाचार

पाकिस्तानमा रेल अपहरणमा परेकामध्ये ३ सयको उद्धार

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका ३०० जनालाई उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ । यस क्रममा ३३ अपहरणकारी मारिएका पनि छन् । मंगलबार क्वेटाबाट पेशाबरतर्फ जाँदै गरेको जाफर एक्सप्रेसको रेललाई बीच बाटोमा रोकेर बलुच लिबरेसन आर्मी (बीएलए)ले यात्रीहरुलाई अपहरण गरेको थियो ।

रेलमा करिब चार सय यात्रीहरु थिए । यात्रीको रुपमा १०० जना सैनिक पनि थिए । अपहरणकारीले २१ सर्वसाधारण र ४ सैनिकलाई गोली हानेर मारिदिएका बीबीसीले जनाएको छ । पाकिस्तानी सेनाले ३६ घण्टाको अपरेसनपछि सबै यात्रीहरुलाई सकुशल उद्धार गरिएको जनाएको छ । जति यात्रुहरुको मृत्यु भएको छ, ती अप्रेसन सुरु हुनुभन्दा अगाडि नै अपहरणकारीले मारेको सेनाका अधिकारीहरुको भनाइ छ ।

पाकिस्तानका सञ्चार मन्त्री अत्ता तरारले रेलमा कूल ४४० यात्रु रहेका र सेनाले सावधानी एवम् कुशलतापूर्वक उद्धार गर्न सफल भएको बताएका छन् । सेनाको अप्रेसनको क्रममा यात्रीहरुलाई कुनै पनि क्षति नभएको उनले बताए । बीएलएले रेलका यात्रीहरु अपहरण गरी आफ्ना कार्यकर्ताहरुलाई ४८ घण्टाभित्र विनासर्त रिहा गर्न माग गरेको थियो । तर सरकारले उनीहरुका कुरा नसुनी सैनिक टोली परिचालन गरेको थियो ।