शुक्रबारदेखि ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास र पर्यटन मन्त्रालयसँगको सहकार्यमा शुक्रबारदेखि ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ गर्ने भएको छ । महोत्सव ७ चैत २०८१ देखि २९ वैशाख २०८२ सम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरमा आयोजना हुने नेपाल पर्यटन बोर्डले जनाएको छ । लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदान–प्रदान प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको बोर्डले जनाएको छ ।
७ चैतदेखि सुरु हुने महोत्सवमा ८ चैतका दिन मायादेवी मन्दिर बाहिर पवित्र उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान सत्र सञ्चालन हुनेछ । ९ चैतमा खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ । यसबीच लुम्बिनी शान्ति सांगीतिक कार्यक्रम, झोङ हुआ गुम्बाको २५औं वार्षिकोत्सवका अवसरमा फोटो प्रदर्शनी, बुद्ध दीक्षा समारोह लगायत विविध कार्यक्रम गर्ने र वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने बोर्डले जारी गरेको विज्ञप्तिमा छ ।
महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स संघ, केजीएच ग्रुप, भिभो, दीपल, बुद्ध एयर जस्ता स्थानीय र अन्तर्राष्ट्रिय संस्थाले सहयोग गर्ने छन् । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव नेपालले शान्ति र सांस्कृतिक आदान–प्रदान प्रवद्र्धन गर्न गरेको प्रतिबद्धताको प्रतीकका रूपमा अघि बढाइएको बताए । ‘हामी विश्वभरिका पाहुनालाई लुम्बिनीको आध्यात्मिक अनुभव गर्न र विश्वव्यापी सौहार्दता मनाउन निमन्त्रणा गर्दछौं,’ उनले भने ।