विश्व

प्रधानमन्त्री ओली र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनबीच टेलिफोन संवाद, विपिन रिहाईबारे कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनबीच टेलिफोन संवाद भएको छ । रेकेपसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् । बुधबार भएको टेलिफोन संवादमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिएर पहल गर्ने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत २७ फागुनमा पनि प्रधानमन्त्री ओलीले जोशीको रिहाइमा सहयोग गर्न आग्रह गर्दै इजिप्टका राष्ट्रपतिसँग पनि टेलिफोन संवाद गरेका थिए । आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराए । टेलिफोन संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे पनि कुराकानी भएको सचिवालयले जनाएको छ ।