अमेरिकी कानून नमाने देश निकाला गर्ने नेपालस्थित अमेरिकी दूतावासको चेतावनी
काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकाको भिसावाहक नेपालीलाई अमेरिकी कानुन र आप्रवासन नियम उल्लंघन गरेको पाइए देशबाटै निकाल्ने चेतावनी दिएको छ। दूतावासले बुधबार सामाजिक सञ्जालमार्फत अमेरिकाको कानुन उल्लंघन गरेको पाइए त्यस्ता व्यक्तिको भिसा रद्द गरी देशबाटै निष्कासन गर्ने चेतावनी दिएको हो।
नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसावाहकहरूको जाँच गर्छौं। उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौँ।’
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिसम्बन्धी कार्यकारी आदेश जारी गरेयता अवैध रूपमा अमेरिकामा बसेका नागरिक निकाल्ने क्रममा नेपालीहरू पनि धमाधम फिर्ता भइरहेका छन्।
