सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित
काठमाडौं । जिलेस्पी जंग कार्कीको एक मात्र गोलको मद्दतमा नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित निकालेको छ । सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई १–० ले पराजित गरेको हो । नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टच गोल गरेका हुन् ।
त्यसपछि पनि नेपालले खेलमा गोल गर्ने मौका पाएको थियो तर सदुपयोग भएन । सिंगापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि सफल भएन । सिंगापुरले अन्तिमतिर लगातार आक्रमण गरे पनि नेपाली डिफेन्स र कप्तान तथा गोलकिपर किरणले बचाएका थिए । एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि नेपालले सिंगापुरलाई हराउन सकेको थिएन ।
तीन अफिसियल खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो भने नेपालमा भएको सिल्भर जुब्ली कपमा नेपाल र सिंगापुरले बराबरी खेलेको थियो ।
नेपालले अब एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ ।