इतिहास बनेकाले टाउको उठाउन खोज्दैछन्, सफल हुँदैनन् : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहास बनिसकेकाहरूले पुनः टाउको उठाउने कोसिस गरिरहेको भन्दै त्यो सम्भव नहुने बताएका छन् । शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारमा रहेका दलहरूको कामकै कारण इतिहास बनिसकेकाहरूले टाउको उठाउने प्रयास गरेको जिकिर गरे ।
‘यो सरकारका कारणले इतिहासका कुडाकर्कटमा गइसकेकाहरू पनि टाउको उठाउने दुस्साहस गरिरहेका छन् । यद्यपि त्यो टाउको धेरै उठ्नेवाला छैन,’ प्रचण्डले भने । उनले आगामी चैत १५ गतेसम्म पुग्दा नपुग्दै त्यो सकिने दाबी गरे । आफुले देशको हितमा काम गर्न खोज्दा भ्रष्टाचारी, नोकरशाही प्रवृत्तिका व्यक्तिले हटाएको उनले बताए ।