एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै
काठमाडौं । एफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणमा नेपालले मंगलबार आफ्नो पहिलो खेल मलेसियासँग खेल्दैछ। छनोटमा नेपाल समूह एफ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्। खेल नेपाली समयअनुसार राति ७ः४५ मा मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा हुँदैछ । यो खेल नेपालमा हुनु पर्ने थियो । तर दशरथ रंगशालालाई एसियाली फुटबल महासंघले मान्यता दिएको छैन ।
यो छनोटअघि नेपालले शुक्रबार सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलमा हराएको थियो । नेपालका प्रशिक्षक म्याट रसले मलेसियाविरूद्ध जितका लागि खेल्ने बताएका छन्। उनले नेपालले तीन अंकका लागि खेल्ने बाहेक अरु नसोचेको बताए । उनले मलेसिया बलियो टोली भएको बताउँदै बराबरीमा पनि सन्तुष्ट हुन सकिने भए पनि नेपालको सोच जित मात्र भएको प्रतिक्रिया दिए।
कप्तान किरण चेम्जोङले पनि मलेसियामा राम्रो खेल खेल्ने विश्वास गरेका छन्। नेपाल र मलेसियाबीच अन्तर्राष्ट्रिय फुटबलमा आठौं पटक प्रतिस्पर्धा हुन लागेको हो। नेपालले यसअघि खेलेका सात खेलमा जित निकाल्न सकेको छैन। सातमध्ये छ खेलमा मलेसिया विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ। फिफा वरीयतामा नेपाल १७५औं स्थानमा छ। मलेसिया नेपालभन्दा ४३ स्थानमाथि १३२औं स्थानमा छ।
छनोटमा मलेसियासँग खेलेपछि नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग होम म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ। सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ।