कुलमान प्रकरणको विरुद्धमा देशभर प्रदर्शन : सरकारका प्रवक्ताको प्रतिक्रिया, सामान्य हो
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पक्षमा सडक र सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ । आज देशभर प्रदर्शन चर्कियो । बिरोधलाई सरकारले भने सामान्य भनेको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री समेत रहेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यो सामान्य भएको बताए ।
सरकारले गरेका निर्णयमा असहमति जनाउने अधिकार सबैमा हुने भन्दै त्यसलाई सरकारले अन्यथा नलिएको उनको दावि छ । ‘सरकारले गर्ने गरेको निर्णयमा असहमति जनाउने अधिकार छ । वक्तव्य दिन सक्छ, त्यसलाई हामीले अन्यथा मानेका छैनौं,’ मन्त्री गुरुङले भने । साथै, उनले मन्त्रिपरिषद्ले गर्ने हरेक निर्णय सुशासन प्रवद्र्धनसँग जोडिने दाबी गरे । ‘सबै कुरा सुशासनसँग सम्बन्धित हो । मन्त्रिपरिषद्का निर्णयले सुशासन प्रवद्र्धनसँग जोडिएर गरिएका निर्णय हो,’ गुरुङले भने, ‘जे चिज आजको आवश्यकता हो त्यो गरेको हो ।’