कुलमान बर्खास्ती विवादलाई प्रधानमन्त्री भन्छन् : नचाहिँदो बखेडा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् । महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए । उनले यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने स्थितिमा त्यसलाई प्रभावित पार्न सदन अवरुद्ध गरिएको आरोप समेत लगाए ।
अहिले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयमा संसदमा विपक्षी दलले विरोध गरिरहेका छन् । “वषौँसम्म त्यही निकायमा काम गरेको मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्ने त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ । गाली नगर्नुपर्नेलाई झुठा गाली गरिएको छ ।” प्रधानमन्त्री ओलीले भने । “आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ । चैत १५ गते काठमाडौँका दुई स्थानमा हुने जुलुस र सभा हुन्छ । सकिन्छ । हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन ।”
प्रधानमन्त्री ओलीले औपनिवेशिक र सामन्तवादी स्थितिले सिङ्गै नेपाली समाज पछाडि परेको र त्यसमा पनि महिलालाई झन् पछाडि पारिएको स्थितिमा सङ्घर्ष र बलिदानको परिणामबाट समाज परिवर्तज र विकासको यात्रामा अघि बढेको बताए । उनले पञ्चायतकालमा निकै पछाडि परेको मुलुक अहिले चौतर्फी विकासको क्रममा अघि बढेको र खासगरी आफूले सरकारको नेतृत्व गरेका समयमा ठुला र रणनीतिक महत्त्वका आयोजना अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको बताए ।