माइतिघरमा राजा चाहियो भन्दै उत्रिएका अमेरिकी नागरिक पक्राउ
काठमाडौं । राजा चाहियो भन्दै आन्दोलनमा उत्रिएका अमेरिकी नागरिक पक्राउ परेका छन् । माइतीघरमा केही नेपाली नागरिकहरूसहित राजसंस्थाका पक्षमा नारा लगाइरहेका बेला अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरीले पक्राउ गरेको हो । उनी नेपालमा भने आफूलाई जयानन्द कृपाका रूपमा चिनाउने गरेको पाइएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार राजनीतिक विषयमा समेत विरोध जनाई आक्रामक भएपछि उनलाई नियन्त्रणमा लिइएको हो । ब्लिस ‘कृपया शुद्ध शाकाहारी भोजन खानुहोस्, प्लास्टिक जलाउने र फ्याँक्ने कार्य अपराध हो । त्यसैले सधैं प्लास्टिकलाई अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस्’ ब्यानरसहित माइतीघरमा माइकिङ गर्दै बसेका थिए । एक्कासि उनले राजसंस्थाका बारेमा नारा लगाउँदै सरकारको विरोध गरेका थिए ।
‘भ्रष्ट सरकार खारेज गरौँ’ लेखिएको प्लेकार्डसमेत उनले बोकेका थिए । ब्लिसले ‘टेन मिलियन काउज’ नामक अभियानसमेत चलाउँदै आएका छन् । यही नामबाट चलाइएको फेसबुक पेजमा उनी नेपालमा विभिन्न ठाउँमा गई शाकाहारी अभियान चलाएका तस्बिर पनि पोस्ट भएका छन् । त्यस्तै विभिन्न जिल्लाका विद्यालय र प्रहरी अधिकारीहरूसँगको तस्बिर पनि सामाजिक सञ्जालमा छ ।