गैरआवासीय नेपालीको आयोजनामा स्टार्टअप र उद्यमशीलता सम्मेलन हुने
काठमाडौं । गैरआवासीय नेपालीहरूको परोपकारी संस्था एमआईटी फाउन्डेसनले काठमाडौंमा दिगो स्टार्टअप र उद्यमशीलता सम्मेलन गर्ने भएको छ ।
‘युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) उद्योग वाणिज्य संघको नेपाली युवा उद्यमी मञ्चसँगको सहकार्यमा फाउन्डेसनले शनिबार सम्मेलन आयोजना गर्न लागेको हो । ललितपुरको होटल हिमालयमा आयोजना हुने सम्मेलनले नीति निर्माता, उद्यमी र नेपाली प्रवासी समुदायका सदस्यहरूलाई एकीकृत गरी सस्टेनेबल व्यापार मोडेलहरूलाई प्रवर्द्धन गर्ने र नेपालमा विदेशी लगानी आकर्षित गर्ने सम्भावनाहरू खोज्ने लक्ष्य राखेको छ ।
सम्मेलनमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, नेपालका लागि अष्ट्रेलियाका राजदूत, एमआईटी फाउन्डेसनका संस्थापकहरू शेष घले, जमुना घले लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । नेपालको अर्थतन्त्रको रूपान्तरण, वैदेशिक लगानीका सम्भावना, स्थानीय स्टार्टअपहरूलाई विश्वव्यापी विशेषज्ञता प्रदान गर्ने, कृषि स्टार्टअपको प्रवर्द्धन लगायत विषयमा प्यानलगत छलफल हुनेछन् । सम्मेलनको अर्को महत्त्वपूर्ण आकर्षण फ्युचर रुट्स अवार्ड प्रतियोगिता रहेको आयोजकको भनाइ छ । जसले दिगो स्टार्टअप मोडेल प्रस्तुत गर्ने स्टार्टअपलाई सम्मान गर्नेछ ।
शीर्ष तीन फाइनलिस्टहरूले आफ्नो परियोजनाहरू जुरीसमक्ष पेस गर्नेछन्, जसमध्ये उत्कृष्टलाई पुरस्कृत गरिने छ । प्यानल छलफल र पुरस्कार वितरणका साथै, सम्मेलनमा पर्याप्त नेटवर्किङ अवसरहरू पनि रहनेछन् । सहभागीहरूले कृषि, नेपाली उत्पादनहरू, हस्तकला, तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने विभिन्न स्टलहरू अवलोकन गर्न सक्नेछन् । नेपालले आफ्नो आर्थिक रूपान्तरणका लागि नयाँ मार्गहरू खोज्दै गर्दा, सस्टेनेबल स्टार्टअप र उद्यमशीलता सम्मेलनले प्रवासी समुदाय र स्थानीय उद्यमीहरूबीच सार्थक सहकार्यका लागि उत्प्रेरकको रूपमा कार्य गर्ने लक्ष्य राखेको छ ।