समाचार

देशका विभिन्न भेगमा छिटपुट वर्षा, डडेलो र प्रदुषणबाट राहत

काठमाडौं । आज देशका विभिन्न स्थानमा छिटपुट वर्षा हुँदा डडेलो र प्रदुषणबाट राहत मलिेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको देखिएको छ । कोशी प्रदेशका संखुवासभा, सोलुखुम्बु, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गण्डकी प्रदेशका कास्की, बाग्लुङ, म्याग्दी, पर्वत तथा लुम्बिनी प्रदेशका रोल्पा, प्युठान र पाल्पामा हल्कादेखि मध्यम खालको वर्षा भएको छ ।

कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम खालको वर्षा मापन भएको छ । गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा म्याग्दीको मुनामा भएको छ । मुना स्टेसनमा ३२.६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ । त्यसपछि धेरै वर्षा सिन्धुपाल्चोकको चन्द्रखु क्षेत्रमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा २२ मिलमिटर वर्षा रेकर्ड भएको छ ।

सिन्धुपाल्चोककै गुम्थाङमा १९.४, दुवाचौरमा १२.८, ढुंगेमा १२.४, भोताङमा १०.८, बाहुनेपाटीमा १०.६, बोल्देमा ८.८ र मेलम्चीघ्याङमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ । झापाको बाहुनडाँगीमा पनि मध्यमखालको वर्षा भएको छ । त्यहाँ गत २४ घण्टाको अवधिमा २१.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

त्यसपछि धेरै वर्षा कर्णाली प्रदेशको जाजरकोटस्थित दल्ली स्टेसनमा भएको छ । दल्लीमा १९.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली प्रदेशको रुकुमपश्चिममा पर्ने मुसिकोट नगरपालिका वडा नं ९ चौखाबाङमा असिना–पानी परेको छ । असिनाले काट्न ठिक्क भएको गहुँ र अन्य तरकारी तथा फलफूलमा क्षति पुर्‍याएको छ । यसैगरी काभ्रेको रोशीखोला पनौतीमा ७.६ मिलिमिटर वर्षा भएको छ । तर काभ्रेको छिमेकी काठमाडौं उपत्यकाका जिल्ला भने सुक्खा नै रहे । साँखुमा हल्का छिट्याउने बाहेक अन्य स्थानमा वर्षाको रकेर्ड देखिएन ।

जल तथा मौसम विज्ञान विभागका मौसमविदले मंगलबार अपराह्नदेखि काठमाडौंमा पनि वर्षा हुने पूर्वानुमान गरेका थिए । तर पूर्वानुमान गरेअनुसार वर्षा भएन । बुधबार र विहीबार दुई दिन भने काठमाडौंमा पनि पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् । अहिले बिहान काठमाडौंमा डम्म बादल लागेको छ । अपराह्न वा साँझतिर भने मेघगर्जनरचट्याङसहित पानी पर्ने सम्भावना छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । त्यसैले मौसमविदले वर्षा, हिमपात र बदलीको पूर्वानुमान गरेका हुन् ।