काठमाडौंमा हल्का वर्षा, प्रदूषण हट्ने आशा
२७ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् गोविन्द झाका अनुसार उपत्यकालगाायत विभिन्न स्थानमा वर्षा भएको हो । उनका अनुसार बिहीबार बिहान र दिउँसो पनि वर्षा हुने सम्भावना छ । यसपालिको वर्षाले वायुु प्रदूषण घटने र किसानलाई राहत पुग्ने उनले बताए ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा मुलुकको लुम्बिनी प्रदेशसम्मका अधिकांश भूभागमा वर्षा हुने मौसमविद् झाको भनाइ छ । उनका अनुसार मध्यपश्चिम र सुदूरपश्चिमका पहाडी भूभाग मात्रै वर्षाको सम्भावना छ । धेरै समयपछिको वर्षाले सुक्खाको अवस्था हट्ने उनले बताए ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले हावाको गति बढ्दा र आकाशबाट पानी पर्दा वायु प्रदूषण पनि कम हुने बताए । “काठमाडौँ कचौरा आकारमा पनि छ । पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ”, उनले भने । एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्कअनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण एक सय ७७ एक्युआई रहेको छ ।