स्वास्थ्य

भारतमा सात बिरामीको मृत्यु भएपछि ‘नक्कली डाक्टर’ पक्राउ

२८ चैत, नयाँ दिल्ली । सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार लन्डनमा आधारित एक प्रतिष्ठित हृदयरोग विशेषज्ञका रूपमा छद्म वेश धारण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । मध्य प्रदेश राज्यको निजी मिशन अस्पतालमा काम गरेका कथित ठगलाई ठगी र जालसाजीको आरोपमा पक्राउ गरिएको प्रहरी अधीक्षक श्रुतकीर्ति सोमवंशीले पत्रकारहरूलाई बताए । “उनका कागजातहरू नक्कली भएको पाइएको छ, अभियुक्त चिकित्सकलाई हाम्रो टोलीले पक्राउ गरेको छ”, सोमवंशीले भने । पक्राउ परेका व्यक्तिले आफ्नो नाम ‘नरेन्द्र जोन क्याम’ भनेका छन् । यो नाम अस्पतालको वेबसाइटमा हिन्दीमा लेखिएको नामसँग मिल्दछ ।

स्थानीय मिडियामा प्रकाशित मुखाकृतिमा उनलाई पहेँलो फुस्रो कपालसहित देखाइएको छ । राष्ट्रिय मानव अधिकार आयोगले यस वर्ष मिसन अस्पतालमा सात जना बिरामीको मृत्युको अनुसन्धान सुरु गरेको केही दिनपछि यो गिरफ्तारी भएको हो । गिरफ्तार व्यक्तिद्वारा सबै सात जनाको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको थियो । स्थानीय मिडियाका अनुसार उनले बेलायतमा रहेका वास्तविक हृदयरोग विशेषज्ञ जोन क्यामको छद्म वेश धारण गरेका थिए । जोन क्याम सेन्ट जर्जेज युनिभर्सिटी अफ लन्डनमा क्लिनिकल कार्डियोलोजीका एमेरिटस प्रोफेसर हुन् ।

बेलायतमा आधारित क्यामले कुनै गलत काम गरेको सङ्केत छैन । उनले एएफपीलाई यो घटना ‘अत्यन्त चिन्ताजनक’ भएको बताए । ती व्यक्तिले “विभिन्न समयमा मेरो छद्म वेश धारण गरेको र लन्डनको सेन्ट जर्जेज अस्पतालमा मेरो प्रशिक्षण लिएको दावी गरेको’ क्यामले बताए । क्यामले आफू र आफ्ना सहकर्मीहरूले गत पाँच वर्षदेखि ठगलाई रोक्न पटक–पटक प्रयास गरेको पनि बताए ।

“मैले पत्ता लगाएँ कि मैले यसबारे केही पनि गर्न सक्दिनथेँ, तर मेरा कम उमेरका सहकर्मीहरू, जो इन्टरनेटमा सामाजिक सञ्जालमा सक्रिय थिए, उनीहरूले आफ्नो सकेसम्मको प्रयास गरे”, क्यामले लन्डनबाट लेखेका छन् । “भारतीय चिकित्सक र हृदयरोग विशेषज्ञहरूले चाँडै नै यी व्यक्तिको मसँग कुनै सम्बन्ध छैन भन्ने कुरा पत्ता लगाए र उनलाई ‘बन्द गर्ने’ प्रयास गरे ।”

मध्य प्रदेशका उपमुख्यमन्त्री राजेन्द्र शुक्लाले दोषी ठहरिए पक्राउ व्यक्तिविरुद्ध कडा कारबाही गरिने बताए । यो घटना मृत्यु भएका बिरामीहरूको एक परिवारले उजुरी गर्न अगाडि आएपछि सार्वजनिक भएको हो । “मेरी आमाको मृत्यु हुनासाथ चिकित्सक हराए”, छोरा नबी कुरैशीले प्रसारक एनडीटीभीलाई भनेको उद्धृत गरिएको छ । भारतमा विशेष गरी ठूलो जनसङ्ख्या निरक्षर रहेको ग्रामीण क्षेत्रमा व्यक्तिहरूले चिकित्सकको वेशमा काम गरेको रिपोर्टहरू व्यापक छन् । अधिकारीहरूले हालका वर्षहरूमा नक्कली चिकित्सकहरूमाथि कारबाही गरेका छन्, क्लिनिकहरूमा छापा मारेका छन् र पक्राउ गरेका छन् ।

रासस