यू-१९ विश्वकप एसिया छनोट आजबाट काठमाडौंमा
काठमाडौं । आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपको एसिया छनोट आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । मुलपानीस्थित दुई मैदानमा सञ्चालन हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दैछ । खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । अघिल्लोपटक नेपालले यूएईमाथि नै रोमाञ्चक जित निकालेर विश्वकपमा छनोट भएको थियो जतिबेला दिपेश कँडेलले म्याच विनिङ ह्याट्रिक लिएका थिए ।
यसपटक अफगानिस्तान पनि छनोटमा तानिएको छ, त्यसकारण अफगानिस्तान पनि नेपालका लागि चुनौतीका रूपमा छ । छनोटअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले अफगानिस्तानसँग ३ खेलको शृंखला खेलेको थियो जहाँ २ खेल गुमाउँदा १ खेल जितेको थियो । नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू–१९ विश्वकपमा छनोट हुने छन् ।