युक्रेनको सुमीमा रुसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, ८४ जना घाइते
३१ चैत, काठमाडौं । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा आइतबार भएको रूसी मिसाइल आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना बालबालिकासमेत रहेको छ भने ८४ जना घाइते भएका छन् । सुमी सहर पछिल्ला केही सातादेखि लगातार रूसी आक्रमणको सामना गरिरहेको छ ।
स्थानीय अधिकारीहरूले घाइतेहरूमा १० जना बालबालिका पनि रहेका जनाएका छन् । घटनास्थलमा उद्धारकर्मीहरूले भग्नावशेष हटाउने काम गरिरहेका छन् । केही सवारी साधनमा आगलागी भएको र सडकमा लासहरू देखिएको भिडियो सार्वजनिक गरिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमण ‘पाम सन्डे’ को दिन भएको भन्दै दुःख व्यक्त गरे । उनले युद्ध अन्त्यका लागि रुसमाथि अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेको बताए । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों र अन्य युरोपेली नेताहरूले पनि यस आक्रमणको आलोचना गर्दै रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको बताएका छन् । यसअघि अप्रिलको सुरुमा पनि युक्रेनको क्रिभी रिह सहरमा भएको आक्रमणमा १८ जनाको मृत्यु भएको थियो ।
रुसले हालै सुमी क्षेत्रको एउटा गाउँ कब्जा गरेको दाबी गरेको छ । युद्धको सुरुआतमा पनि रुसले यही क्षेत्रबाट आक्रमण थालेको थियो तर पछि युक्रेनी सेनाले केही भागहरू फिर्ता लिएको थियो । अहिलेसम्म रुसले सुमीमा भएको यो आक्रमणबारे आधिकारिक प्रतिक्रिया दिएको छैन ।