समाचार

पाकिस्तानबाट ६० हजार भन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता

३ वैशाख, काबूल । पाकिस्तानले पछिल्ला १३ दिनमा झण्डै ६० हजार अफगान नागरिकलाई आफ्नै देश फिर्ता पठाएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ( आईओएम) ले जानकारी दिएको छ । आईओएमका अनुसार सन् २०२५ अप्रिल १ देखि १३ तारिखसम्म टोरखम र स्पिन बोल्डक नाकाबाट धेरै अफगान नागरिक अफगानिस्तान फर्किएका छन् । सङ्गठनले जबरजस्ती फिर्ता पठाइएका व्यक्तिको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।

सन् २०२३ सेप्टेम्बर यता पाकिस्तान र इरानबाट करिब २४ लाख ३० हजार अफगान नागरिकहरू फर्किसकेका छन्, जसमा धेरैजसोलाई स्वेच्छाले नभई बाध्य भएर फर्कनु परेको बताइएको छ । पाकिस्तान सरकारले सन् २०२५ भित्र करिब ३० लाख अफगान नागरिकलाई फिर्ता पठाउने योजना बनाएको छ । हाल करिब ७० लाख अफगान नागरिक विदेशमा बसोबास गरिरहेका छन्, जसमा अधिकांश पाकिस्तान र इरानमा छन्। तीमध्ये धेरैजसोसँग आवश्यक कागजातहरू छैनन् ।