समाचार

विश्वव्यापी अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध शिक्षा महत्वपूर्णः प्रधानमन्त्री

काठमाडौँ, २९ वैशाख : प्रधानमन्त्री ओली-सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओली बुद्धजयन्तीका अवसरमा सोमबार स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा सम्बोधन गर्नुहुँदै । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

रासस
२९ वैशाख, लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्धबाट प्राप्त शिक्षा महत्वपूर्ण भएको बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा आज आयोजित २५६९औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेश र शिक्षा विश्वका लागि महत्वपूर्ण रहेको बताए ।

उनले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारको बलमा नभई बुद्धबाट प्राप्त शान्तिको सन्देशले मात्र रोक्न सक्ने धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले भारत–पाकिस्तान बीचको द्वन्द्व नेपालसहित अन्तरराष्ट्रिय जगतको अनुरोधपछि दुवै पक्ष संयमित भएका तथा त्यसको परिणामस्वरुप युद्ध रोकिनुका साथै क्षति हुनबाट जोगिएकामा खुसी व्यक्त गरे ।

केही दिनअघि छिमेकी मुलुक भारत र पाकिस्तानबीच तनावको स्थिति देखिएको प्रसङ्ग उल्लेख गर्दै उने तर स्थिति त्योभन्दा बढी अघि बढ्न नपाएको र संयमताका लागि दुवै पक्षलाई धन्यवाद समेत दिए । “हामीले सुरुदेखि नै तनावको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्यौँ, उहाँहरुसँग पनि कुरा ग¥यौँ । उहाँहरुले लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो”, प्रधानमन्त्री ओलीले भने । विद्यमान विश्वपरिवेशमा बुद्धको शान्तिको सन्देश जतासुकै आवश्यक रहेको उनको भनाइ थियो ।

“बुद्धको सन्देशको महत्व व्यक्तिको मनस्थितिको शान्तिका लागि छ, पारिवारिक शान्तिका लागि र हरेक ठाउँमा उत्तिकै छ”, प्रधानमन्त्री ओलीले भने । विश्वमा युद्ध होडबाजिका नाममा ठूलो सङ्ख्यामा हतियार निर्माण गर्ने र थुप्रो लगाउने काम भइरहेको उल्लेख गर्दै उनले यो विश्वको मानव अस्तित्वका लागि खतरनाक विषय भएको बताए । यस खालका खतरनाक चिजबाट उन्मूक्तिका लागि फेरी पनि विश्व शान्ति र स्थिरताका पक्षमै हामी उभिनुपर्ने हुन्छ भने ।


बुद्धको जन्मथलोको विकासमा योगदान गर्नुहुने सबैलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनीहरु प्रति आभार व्यक्त गरे । लुम्बिनीको विकासका लागि गुरुयोजना निर्माण गरेर विशेष योगदान पु¥याउने प्रोफेसर केञ्जो टाङ्गेप्रति आभार व्यक्त गर्दै उनले गुरुयोजना पूरा गर्न अझै बाँकी रहेको र गुरुयोजना यथासक्य छिटो सम्पन्न गर्नेगरी काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । शान्ति, मानवता र करूणा उपदेशलाई आत्मसात गर्दै बुद्धका सन्देश संसारभर फैलाउन आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए । मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धका उपदेश मैत्रीभाव र करूणाको प्रवृत्ति हरेक मानिसले आत्मसात गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले बुद्धको शिक्षाको मुख्य उद्देश्य शान्ति, मानवतावाद र करूणा रहेको उल्लेख गर्दै बुद्वका उपदेश र आदर्श हामीले आत्मसात गर्नुपर्ने बताए । बुद्वका शिक्षा र उपदेश फैल्याउन बौद्ध विश्वविद्यालय स्थापना गरिएको बताउँदै उहाँले विश्वविद्यालयले खोज अनुसन्धानमा ध्यान दिनुपर्नेमा जोड दिए ।

बुद्धका शिष्यहरूको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले शान्ति, करुणा र प्रेमजस्ता मूल्यको प्रचारमा उनीहरूले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले बुद्धको शिक्षा त्रिपिटकको निर्माण र बुद्धको शिक्षाको सङ्ग्रह गर्न भिक्षु आनन्दको योगदानको स्मरण गर्दै त्रिपिटकलाई भोजपत्रमा लेखेर सुरक्षित गरिएको उल्लेख गरे । उनले भिक्षु आनन्दले तक्षशिलामा गएर त्रिपिटकलाई लिखित गर्नुभएको पहिलो दस्तावेज अहिले पनि भारतको पटना सङ्ग्रहालयमा रहेको बताए ।