समाचार

देशैभर विद्युत अनियमित, सिंहदरवारमा मोवाइलको उज्यालामा समिति बैठक चलाइयो

काठमाडौं । काठमाडौंमा हावाहुरीसहित पानी परिरहेका बेला सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली अवरुद्ध हुँदा मोवाइलको बत्तिमा बैठक चलाउनु परेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठकलाई निरन्तरता दिइएको छ । बैठकमा सहभागी सांसदहरुका अनुसार विजुली अबरुद्ध हुँदा मोबाइलको बत्ती बालेर बैठकलाई निरन्तरता दिइएको हो ।

अबेरसम्म उपसमितिमा शिक्षा विधेयकबारे छलफल भएको थियो । शिक्षक आन्दोलनपछि सरकारले शिक्षा विधेयकलाई अघि बढाउन प्राथमिकता दिइरहेको छ । उता नेपाल विद्युत प्राधिकरणले बिहीबार भारतका कारण बिजुली अवरुद्ध भएको स्पष्टीकरण दिएको थियो । तर, सोही समस्या आज पनि दोहोरिएपछि सामाजिक संजालमा सरकार र प्राधिकरणको चर्को आलोचना भइरहेको छ ।