मनोरञ्जन

भारतीय अभिनेत्री नोरा फतेही नेपालमा

बलिउड अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही शनिबार काठमाडौँस्थित भित्रुवन अन्तर्राष्ट्रीय विमानस्थलमा । उहाँ नेपालमा आयोजित साङ्गितिक कार्यक्रममा सहभागी हुन संयुक्त अरब इमिरेट्सबाट आज नेपाल आइपुग्नुभएको हो । तस्बिर : भेषराज कार्की/ रासस

३ जेठ, काठमाडौं । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाल र नेपालीबाट आफूले माया पाइरहेको बताएकी छिन् । आज त्रिभुवन न्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताइन् । “म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो”, अभिनेत्री फतेहीले भनिन्, उनले नेपालको आतिथ्य र सहयोगी भावना प्रशंसनीय रहेको बताइन् ।

उनी संयुक्त अरब इमिरेट्सबाट आज फ्लाई दुबईबाट नेपाल आएकी हुन् । उनको
नृत्य टोलीमा रहेका अन्य २३ सदस्य शुक्रबार नै नेपाल आइसकेका छन् । उनले आजै तारागाउँस्थित ह्यात चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रम प्रस्तुति दिनेछिन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेहीलाई नेपाल ल्याइएको वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका मनिष कार्कीले जानकारी दिए ।

उनले भने, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि सम्मानित रूपमा स्टेजमा आफूलाई प्रमाणित गर्नुहुनेछ ।”

आयोजक कार्कीका अनुसार अभिनेत्री फतेही आइतबार बिहान भारत फर्किनेछिन् । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको छ । अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् । उक्त कार्यक्रममा नेपाली कलाकारहरूमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामालगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ ।