मलेसिया र यूएईबाट फर्केर नेपालमा उद्यम, माछा बेचेर वार्षिक डेढ करोड आम्दानी
रासस
११ जेठ, भरतपुर । चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गरे । साथीभाइले माछापालन गरेको देखेर उनले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गरेका हुन् । सुरुआती कठिनाइका बाबजुद, अर्यालले माछापालनलाई व्यावसायिक रुपमा विस्तार गरे । पछि राम्रो हुँदै गएपछि उहाँले २०७३ सालमा चार बिघा जमिन थपेर ६ प्रजातिका माछापालन गर्न थाले अहिले, चार बिघा जमिनको जलासयमा माछा छन् । उनले वार्षिक एक करोड ५० लाखको माछा बिक्री गर्छन् । खर्च कटाएर रु ७० लाख बढी नाफा हुने गरेको अर्यालले बताउँछन् ।
“वार्षिक रु ६० लाख जति दानामा खर्च हुन्छ, विद्युत् लगायतका अन्य क्षेत्रमा खर्च हुन्छ”, उनले भने, “रु वार्षिक ७० लाख त कम्तीमा बचत हुन्छ ।” उनको फर्ममा वार्षिक दुई सय टनभन्दा बढी माछा उत्पादन हुन्छ । यतिखेर १० टन माछा बजार लैजाने तयारी छ । अर्यालले माछापालनमा आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन र बिक्रीमा ध्यान दिएका छन् । उनले उत्पादन गरेका माछा चितवनसहित काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा बिक्रीका लागि लैजाने गरिन्छ ।
माछापालनले अर्यालको जीवनस्तरमा महत्वपूर्ण सुधार ल्याएको छ । उनले आफ्नो आम्दानीबाट थप जमिन किनेर, घर बनाएका छन् । गाडी किन्ने योजनामा छन् ।
माछापालन व्यवसायबाट नै अर्यालले तीन छोराछोरीलाई चितवनको प्रतिष्ठित बोर्डिङ स्कुलमा पढाइरहेका छन् । उनले आफ्नो फर्ममा ६ जनालाई रोजगारी दिएका छन् । आगामी दिनमा माछापालन व्यवसायलाई एग्रो टुरिजममा विस्तार गर्ने योजना रहेको उनी बताउँछन् । “पोल्ट्री क्षेत्रमा हात हालेको छु । त्यसबाट राम्रो आम्दानी हुन सकेन”, अर्यालले भने, “यतिबेला कागती खेतीमा पनि लगानी गरेको छु, यसलाई एग्रो टुरिजममा लैजाने योजना छ ।”
श्रीमान्–श्रीमती नै माछापालनमा खटिन्छन् । उनले माछापालनमा रुची राख्ने अन्य कृषकलाई प्रशिक्षण र सल्लाह प्रदान गर्दै आएका छन् । ४५ वर्षीय अर्याल माछापालनमा त्यतिकै लागेका होइनन् । पैसा कमाउन सन् २००५ मा मलेसिया पुगेका उनी २४ महिना बसे । त्यतिखेर नेपालमै केही गर्ने सोचका साथ राम्रै पैसा कमाएर स्वदेश फर्किए । नेपालमा भने जस्तो नभएपछि फेरि सन् २००८ मा फेरि युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई गए । दुई वर्ष दुबई बसेर फर्किनुभएका अर्याल परम्परागत खेतीपाती मै लाग्नुगेका थिए । पछि भरतपुरको बजार क्षेत्रमा माछापालन गरेको देख्नुभयो । यसबाट फाइदा हुने पाएपछि माछापालन गर्न थालेका हुन् । माछापालन गर्दा सुरुवाती दिनमा धेरै दुःख पाएको उनीसँग अनुभव छ ।
“एक कठ्ठामा माछा कति राख्ने, कसरी राख्ने केही ज्ञान थिएन, अन्धाधुन्ध नै माछापालन गर्न थालियो”, उनले भने, “सुरुमा व्यापारीले ठगे । दुई तीन वर्ष घाटा नै भयो ।” पछि माछापालनसम्बन्धी बुझ्दै गएपछि सहज भएको उनको भनाइ छ । सुरुआती दिनमा अर्यालले बङ्गलादेशबाट माछाका भुरा ल्याएर माछापालन गर्न थालेका थिए । त्यतिखेर भारतिय बाटो हुँदै लुकाइछिपाइ गरेर भुरा ल्याउनुपर्ने बाध्यता रहेको उनले सुनाउनुभयो । अहिले भने चितवनमै सरकारीस्तरबाट माछाका भुरा उत्पादन हुँदा माछापालन गर्न सहज भएको उनले बताए । अर्याल पछिल्लो अधिकांश किसानका लागि प्रेणाका स्रोत बनेका छन् ।
माछापोखरीमा आर्यालले रु दुई करोड लगानी गरेका छन् । सात पोखरीमा माछा छन् । सुरुमा पोखरी खन्दा नै रु एक करोड खर्च लागेको उनले बताए । जग्गा भाडामा लिएर माछापालन गर्नुभएका अर्यालको २८ कठ्ठा जमिन आफ्नै हो । अहिले चितवनमा पन्ध्र सयभन्दा बढी किसान माछापालनमा लागेका छन् । नेपालमा माछापालनमा राम्रो सम्भावना रहेको उनको भनाइ छ । “विदेश जानुभन्दा, यहाँ नै उत्पादनमूलक काम गरेर राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने ।
राज्यले दाना र बिजुलीमा छुट दिएमा नेपाली माछापालन किसान अगाडि बढ्न सक्ने उनले बताए । “माछापालनमा राम्रो आम्दानी छ तर राज्यले हेर्ने नजर गलत छ”, अर्यालले भने, “देश धनी बनाउने हो भने युवालाई रोकेर कृषिमा लगानी गर्न जरुरी छ ।”