समाचार

प्रधानमन्त्रीबाट मनसुनजन्य विपद् जोखिम न्यूूनीकरण तयारी तथा मौसम पूर्वानुमान प्रणालीबारे जानकारी

मौसम पूर्वानुमानबारे जानकारी लिनुहुँदै प्रम ओली काठमाडौँ, १३ जेठः प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँको बबरमहलमा मङ्गलबार जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानबारे जानकारी लिनुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिएका छन् । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान÷सूचना प्रवाह र यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारे उनले चासो राखेका थिए ।


विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने गरी सरल भाषामा प्रभावकारी रूपमा सम्प्रेषण गर्न निर्देशन दिए । विभागका सबै स्टेशन चुस्तदुरुस्त अवस्थामा राख्न र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आमसञ्चारका माध्यमबाट समेत सुसूचित गरेर मानवीय र भौतिक क्षति हुन नदिनेतर्फ सचेत रहन उनले आग्रह गरे ।


विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म मनसुन अवधि हुने जानकारी दिँदै गण्डकी तथा लुुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराए ।

विभागको कार्यालयमा स्थलगत रूपमा यसरी पहिलो पटक प्रधानमन्त्री तहबाट अवलोकन र अनुगमन भएकामा खुसी व्यक्त गर्दै उनले आफूहरूले उपलब्ध प्रविधि र स्रोतसाधनको अधिकतम प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । अवलोकनका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजालगायत सम्बन्धित उच्च अधिकारी सहभागी थिए ।

रासस