विश्व

इरानले इजरायलमाथि गर्यो जवाफी हमला, केही हताहतीको खबर

(250613) -- TEL AVIV, June 13, 2025 (Xinhua) -- Smoke rises following an Iranian missile attack in Tel Aviv, Israel, on June 13, 2025. Dozens of missiles were fired from Iran into Israel on Friday evening, according to statements issued by the Israel Defense Forces (IDF). (Gideon Markowicz/JINI via Xinhua)

३१ जेठ, काठमाडौं । इजरायली हमलाको जबाफमा इरानले गतराती इजरायलमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। हमला जारी रहँदा इजरायली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका छन् । बीबीसीका संवाददाताले तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसलेममा विस्फोटको आवाज सुनिएको बताएका छन्।

अन्य इजरायली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्। जबाफी हमलामा परेर ४० जनाको इजरायली अस्पतालहरूमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। इजरेली एवं अमेरिकी सञ्चारमाध्यमहरूले एकजनाको मृत्यु भएको उल्लेख गरेका छन्।

शनिवार बिहानैदेखि दुवै पक्षबाट भएका हमलामा तेहरानमा समेत विस्फोटनका आवाज सुनिएका छन्। संयुक्त राष्ट्र सङ्घका लागि इरानी राजदूतले शुक्रवारदेखिका इजरेली हमलामा वरिष्ठ सैन्य अधिकारीहरूसहित ७८ जनाको मृत्यु भएको र ३२० जना भन्दा बढी घाइते भएको बताउँदै त्यसमा अधिकांश सर्वसाधारणहरू रहेको उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रममा सम्झौता गर्न आग्रह गर्दै त्यसो नभए अझ क्रूर इजरेली आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। इजरेली सेनाले केही क्षेप्यास्त्रहरू निस्तेज पारिएको जनाउँदै कैयौँ स्थानहरूमा खोज तथा उद्धार टोलीहरू खटाइएको जनाएको छ। इजरेली सञ्चारमाध्यमहरूले इरानी प्रतिआक्रमण सुरु भएदेखि एक व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएका छन्।

(250613) — JERUSALEM, June 13, 2025 (Xinhua) — Bright Traces are seen over Jerusalem during missile attacks launched by Iran to Israel, on June, 13, 2025. Dozens of missiles were fired from Iran into Israel on Friday evening, according to statements issued by the Israel Defense Forces (IDF). (Xinhua/Chen Junqing)

इरानको आणविक कार्यक्रमसँग सम्बन्धित स्थान र व्यक्तिहरूमाथि लक्षित गरेर इजरेलले गरेको अभूतपूर्व हवाई आक्रमणको जवाफमा पछिल्लो हमला भएको हो। इजरेली प्रधानमन्त्रीले इरानलाई चेतावनी दिँदै थप आक्रमणहरू हुने क्रममा रहेको जनाएका छन्। बेन्जमिन नेतन्याहूले यस आक्रमणलाई इतिहासकै सबैभन्दा ठूलो सैन्य कारबाहीहरू मध्ये एकको रूपमा उल्लेख गरेका छन्। इजरेलले इस्फहान र फोर्डोमा रहेका आणविक केन्द्रका साथै इरानको नजान्जस्थित मुख्य युरेनिअम प्लान्टमा प्रहार गरिएको जनाएको छ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइले इजरेलले युद्ध सुरु गरेको र आफ्नो देशले जबाफमा ठूलो प्रहार गर्ने बताएका छन्। इजरेलमा जबाफी प्रहारहरू गरेपछि तेहरानमा खुसीयाली मनाइएका तस्बिरहरू सार्वजनिक भएका छन्। समाचार संस्था एएफपीले आफ्ना एकजना पत्रकारलाई उद्धृत गर्दै तेहरानस्थित विमानस्थलबाट आगो र बाक्लो मुस्लो आइरहेको देखिएको जनाएको छ।

इरानको अर्ध-सरकारी मेहर समाचार संस्थाले विमानस्थल क्षेत्रमा विस्फोटन भएको बताएको छ र त्यहाँबाट भारी धुवाँ निस्किरहेको देखिने तस्बिर सार्वजनिक गरेको छ। इजरेली हमला धेरैजसो परमाणु र सैन्य केन्द्रहरूमा लक्षित देखिन्छन् तर आवासीय क्षेत्रहरूमा पनि त्यसको असर पारेको छ। इजरेलले इरानलाई परमाणु अस्त्र बनाउन रोक्नको लागि आक्रमण सुरु गरेको बताएको छ।
बीबीसीबाट