इरानमाथिको अमेरिकी आक्रमण : के प्रभावकारी रह्यो ?
एजेन्सी\रासस
९ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा गरेको हवाई आक्रमणले विश्व राजनीतिमा नयाँ तरंग ल्याएको छ । यस आक्रमणपछि दुई मुख्य प्रश्नहरू उठिरहेका छन् – पहिलो, आक्रमणले कति प्रभाव पारेको हो ? र दोस्रो, इरान अब कुन बाटो अँगाल्न सक्छ ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणपछि सार्वजनिक रूपमा यसलाई ‘पूर्ण रूपमा सफल’ भन्दै, इरानका मुख्य आणविक पूर्वाधारहरू ‘सम्पूर्ण रूपमा नष्ट’ गरिएको दाबी गरे । उनले यसलाई ‘उल्लेखनीय सैन्य उपलब्धि’ का रूपमा प्रस्तुत गरेका छन् । तर विज्ञहरू भने यस दाबीप्रति सावधानीपूर्ण दृष्टिकोण अपनाइरहेका छन् र पूर्ण मूल्याङ्कन नहुञ्जेल निष्कर्षमा पुग्न नहुने सुझाव दिइरहेका छन् ।
अमेरिकी रक्षा अधिकारीहरूका अनुसार आक्रमण विशेष गरी तीन मुख्य आणविक केन्द्रहरूमा केन्द्रित थियो, जसमा भूमिगत प्रशोधन केन्द्र फोर्दो पनि पर्दछ । यो केन्द्र झण्डै ९० मिटर गहिराइमा अवस्थित छ र विगतमा संवर्धित युरेनियम प्रशोधनको प्रमुख स्थलको रूपमा चिनिँदै आएको छ । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले यस आक्रमणबाट इरानको आणविक कार्यक्रममा ‘गम्भीर क्षति पुगेको’ बताएका छन् । तर उपग्रह चित्र तथा अन्य स्वतन्त्र स्रोतहरूले यसको यथार्थ मूल्याङ्कन गर्न केही समय लाग्ने देखिएको छ ।
फ्रान्सस्थित अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाकी विज्ञ हेलेओइज फायेका अनुसार, फोर्दो वरिपरि देखिएको गतिविधिले संवर्धित युरेनियम अन्यत्र सारिएको संकेत गर्न सक्छ । यसले अब अन्तर्राष्ट्रिय निरीक्षण संस्थाहरूका लागि चुनौती उत्पन्न गर्नेछ । धेरै विज्ञहरूले औंल्याएअनुसार, भौतिक संरचनाहरू नष्ट भए पनि इरानले दशकमै संचित गरेको प्राविधिक ज्ञान कायम रहनेछ । हजारौं वैज्ञानिक र प्राविधिक कर्मचारीहरूका अनुभव र सीप सहजै समाप्त हुँदैनन् ।
लन्डनस्थित किङ्स कलेजका प्राध्यापक आन्द्रेयस क्रिगले यो कारबाहीलाई ‘उच्च जोखिमयुक्त र अनिश्चित परिणाम दिने’ बताएका छन् । उनका अनुसार, “फोर्दो जस्तो गहिरो भूमिगत केन्द्रमाथिको आक्रमणले तत्काल ठोस परिणाम दिन्छ भन्ने ठोकुवा गर्न सकिँदैन ।” इरानको तर्फबाट तत्काल ठोस जवाफ नआए पनि परराष्ट्र मन्त्री अब्बास आरागचीले यस आक्रमणलाई ‘एक गम्भीर सीमारेखा पार गरेको’ भन्दै टिप्पणी गरेका छन् ।
भूराजनीतिक विश्लेषकहरूका अनुसार इरानले आफ्नो प्रतिक्रिया सावधानीपूर्वक तर स्पष्ट सन्देश दिने गरी प्रस्तुत गर्ने सम्भावना छ । यसले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो आवाज पु¥याउने प्रयास गर्नेछ, तर ठूलो सैन्य टकरावबाट बच्ने प्रयत्न पनि गर्न सक्छ । विश्लेषक माइकल होरोविट्जका अनुसार सम्भावित विकल्पहरूमा अमेरिकी सैन्य सम्पत्तिहरूमाथि सीमित कारबाही, होरमुजको जलडमरूका बन्द गर्ने, वा खाडी क्षेत्रका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गर्ने कदम हुन सक्छन्। तर यी विकल्पहरू सबै गम्भीर जोखिम बोकेका छन् ।
च्याथम हाउसका अनुसन्धानकर्ता रेनाड मन्सूरले इरान अहिले ‘आफ्नो अस्तित्वको रक्षा गर्ने अवस्थामा’ रहेको बताउँछन् । उनका अनुसार अल्पकालीन रूपमा तनाव बढ्न सक्ने भए पनि दीर्घकालमा वार्ताको बाटो खुल्ने सम्भावना रहन्छ । अन्य विश्लेषकहरूले इरानले सायद अमेरिकी सम्पत्तिमाथि प्रत्यक्ष आक्रमण नगरी इजरायली स्वार्थलाई लक्ष्य गर्न सक्ने बताएका छन्, जसले अमेरिका सिधै युद्धमा तानिने जोखिमलाई कम गर्नेछ ।
राष्ट्रपति ट्रम्पले सैन्य दृष्टिले यसलाई सफलता मानेका छन् । तर केही विश्लेषकहरू भन्छन् – यदि इरानले दीर्घकालीन रणनीति अपनायो भने, उसले कूटनीतिक र राजनीतिकरूपमा अमेरिकी प्रशासनलाई अप्ठेरोमा पार्न सक्छ । यस घटनाले न केवल इरान–अमेरिका सम्बन्धमा तनाव बढाएको छ, तर सम्पूर्ण क्षेत्रीय सुरक्षा सन्तुलनमा पनि नयाँ चुनौतीहरू थपेको छ ।