यसरी फेरिंदो रहेछ अमेरिकामा किड्नी
• योगेश आदी
मे १८ तारिख आइतबार बिहानको २:३९ बजे फोनको घण्टी बेस्सरी बज्यो । चकमन्न रातमा कतिबेर बजेपछि म ब्यूझिएछु हेक्का भएन । नचिनेको नम्बर थियो तर पनि सधैंव झैं उठाएँ । “म रेचल माउण्ट साइनाई हस्पिटल म्यानहयाटनबाट । म गुप्ता डंगोलको कोअर्डिनेटर हुँ । तँ गुप्ताको छोरा योगेश हो ?” भनेर एक्कै सासमा सोध्यो । मैले उत्साह र जिज्ञाशाको भाव दबाएर समान्य किसिमले “हो” मात्र भनें । “तेरो आमालाई ‘अर्गेन अफर’ छ । स्विकार्ने हो ? हो, भने छिटो भन्, तँसँग त्यतिधेरै निर्णय गर्ने समय खासै छैन” समेत भन्न भ्यायो । करिब २ हप्ताअघि पनि ६७ बर्षको महिलाको अफर आएर पनि तुरुन्तै ‘नमिल्ने भनेर’ हामीलाई निराश बनाईसकेको थियो । त्यसैले मलाई हर्ष वा बिस्मातको भावले खासै छुन सकेको थिएन । यद्यपि ८ बर्ष लामो डायलाइशिसको पिडा आमाले खेपेको देखेकोले मैले आशाको लामो श्वास फेरें । बिगत ६ बर्षदेखि नेपाल जान रोकिएको मेरो नेपाल मोहले अलिकति राहत महसुस् गर्यो ।
हप्ताको ३ पटक करिब ४ घण्टा लगाएर हातमा सर्जरी गरेर बनाएको ‘फिस्टुला’ मार्फत शरिर भरिको रगत मेसिनमा पठाउने र रगतको पानी/बिकार मेसिनले छानेर पुन: रगतलाई शरिरमा पठाउने प्रकृया (हेमोडायलाइसिस्) सजिलो जस्तो लागेपनि साह्रै पिडादायी हुन्छ । अत्यन्तै मोटो पाइपवाला दुइवटा सियोले दुईतिर घोचेर सुईले पटक पटक पोजिसन लिनुपर्ने भएकोले बिरामीको पिडादायी खपाई महसुस मात्र गर्दापनि सिरिङ्ग हुन्छ । पाईपमा रगत क्लग (जम) हुने । पुन: अर्को ठाउँमा घोच्नुपर्ने । बिरामीको प्रेशर र अक्सिजन एक्कासी घटेर कयौं पटक डायलाइसिस सेन्टरबाट अस्पतालमा कुदाउनु पर्ने घटना सामान्य जस्तै भइसकेको हुन्छ । यदाकदा डायलाइसिसकै क्रममा कयौं बिरामी घर नफर्केको दृष्य स्विकारेर नै यो सबै प्रकृया भइरहेको हुन्छ ।
खैर, मैले सोध्ने कुरा लाख थियो, सोच्ने करोड । तर केही सोध्नुअघि “हामी रेसिपेण्टले थाहा पाउनु पर्ने केही भए भन्नुस्” भनेर कोअर्डिनेटर रेचललाई अनुरोध गरें । उसले भन्यो “तेरो आमाको फाइलमा “हेप्सी” खुल्ला रहेछ । रेस, जेण्डर, कलरको पनि पाबन्दी रहेनछ अनि यो अफर अल्गरिदमले टप लिष्टमा भएकाहरुलाई पठाएको हो । यहाँ आएपछि मेरो नम्बरमा फोन गर । हामी पर्खिराको हुन्छौं” भन्यो । मलाई नेफ्रोलोजिष्टले (मृगौलाको डाक्टर) पहिले लिष्टमा राख्दा नै हेपाटाइटिस् सि आजकल कुनै समस्या होइन । ३ महिना औषधि खाए निको हुन्छ । मलाई ट्रान्सप्लाण्टपछि हेपाटोजिष्टले (कलेजोको डाक्टर) हेर्नेछ भन्ने ज्ञात थियो । ७ बर्ष पर्खाइको सूचिमा बस्दैगर्दा मैलेपनि धेरथोर यस बिषयमा अनुमान लगाउन सक्ने भइसकेको थिएँ ।
शरिरको मुख्य मुख्य अंगहरुको बिशेषज्ञहरुले क्लियरेन्य दिएपछि मात्र रेनल ट्रानसप्लाण्ट (मृगौला प्रत्यारोपण) मा योग्य हुने भएकोले, सो गरिसक्दा मैले अवस्था अनुमान गरिसकेको थिएँ । उसको अनुसार हेप्सी भनेको हेपाटाइटिस् सी संक्रमित भन्न खोजेको हो । “अस्पतालको टिमले र मेडिकल साइन्सले गर्न मिल्ले भएर त भनेको होला नि !” भनेर भनें । उस्को कुरा अनुसार ४६ बर्षको पुरुषको मृगौंला रहेछ । उसैको एउटा मृगौला मेरो आमालाई प्रत्यारोपण गर्ने मोटमोटी जानकारी पाएँ । लिभिङ् डोनर (मृगौला दिने जिउँदो मान्छे) नहुने हामी जस्तो बिरामी र परिवारले लिष्टमा कुर्ने बाहेक बिकल्प नै हुँदैन । मैले परिवारको कसैलाई पनि नसोधि कोअर्डिनेटरलाई “हुन्छ म आमालाई लिएर अहिले नै आउँछु” भनेर भनें ।
एकछिन् किंकर्तव्यविमूढ भएँ । मेरो श्रीमती रमीले मलाई सहज बनाउन आमालाई उठाउन जानु भन्न थाली । मेरो बुवाआमाको कोठाको ढोका लक हुँदैन, त्यसैले मैले सिधै ढोका खोलेर आमाबुबालाई उठाएँ । बेलिबिस्तार लगाएँ । दुबै अकर्मण्य हुनु भो । लुगा लगाउनु छिटो भनें । म र रमी पनि तयार भयौं । मैले एम्बुलेन्स चाहिदैन भनिसकेको थिएँ त्यसैले हामी ४ जना करिब बिहानको सवा ३ बजेतिर मेरै गाडीमा निस्कियौं ।
२०७२ सालमा भुकम्पपछि आमाको मृगौंला खराब भएको आज ठ्याक्कै १० बर्षमा पालो आयो, अब सजिलो हुन्छ । अमेरिकाको अस्पताल गज्जब राम्रो हुन्छ । जस्ता आमालाई खुसी र हौसला मिल्ने गफ गर्दै करिव २५ मिनेटमा म्यानह्याटनको माउण्ट साइनाई हस्पिटल पुग्यौं ।
म आमाबुवा र रमीलाई छाडेर गाडी पार्किङ खोज्न थालें । ५ मिनेटपछि म पुग्दा रमी र बुवाले माथि लगेर भर्ना गरिसकेको रहेछ । आमाको मुटुको अब्लेशन (पाइप लगाएर धड्कन मिलाउने सर्जरी) र भल्भ रिपेयर गरि सकेकोले कार्डियोलोजिष्टले सबै चेक गर्यो । तर आमाको शरिरमा धेरै पानी देखियो किनकि डायलाइसिस् नगरेको २ दिन भइसकेोको थियो । आमाले ७ बर्षदेखि १ थोपा पनि पिसाब गर्नुभएको थिएन । डायलायसिस् गर्ने मेसिन नै आमाको किड्नि थियो । तत्कालै पानी निकाल्न त्यहीबेला नै डायलायसिस् गर्नुपर्ने भयो । करिव ८ बजेतिर प्रकृया सकेर ओआरमा (अपरेसन रुम) लग्यो ।
हामीलाई एनेस्थेसियोलोजिष्टदेखि सर्जन र नर्सहरुले थरिथरको जानकारी दिंदादिदै विहानको १० बजायो । आमालाई ओआरमा लगेपछि हामी एकैछिनको लागि घर फर्कियौं । करिव ४ घण्टा लामो सर्जरी भएछ । डाक्टरले फोन गरेर शल्यक्रिया सफल भएको जानकारी गराएपछि बुवा र म अस्पताल फर्कियौं । दिउँसोको ३ बजे आमालाई रिकभरीमा भेट्न बुबा र म गयौं । क्याथेटर (पिसाब वा रगत निस्कने पाइप) र आईभी (हातबाट औषधि दिने पाइप) लगाइएको सिथिल आमाको बन्द आँखा बिस्तारै खु्ल्यो । जन्मदै लिएर आएको पछाडि ढाडको मुनि हुने २ वटा किड्निलाई नचलाउँदो रहेछ । केवल आवश्यक नसाहरु र युरेटर (किड्निबाट मुत्र थैलीमा पिसाब जाने पाइप) मात्र छुटाएर नयाँ किड्निमा जोड्दो रहेछ । नयाँ किड्निलाई अगाडि तल्लो पेटनेर करिब ८ इन्च काटेर भित्र राख्दो रहेछ । सर्जनले अपरेसन राम्रो भयो । आमाले राम्रो किड्नि पाउनु भो भनेर हामीलाई वजनदार महसुल गराए । आमाले ७ बर्षपछि पिसाब गर्न थाल्नुभो । सुख्खा पिसाबको थैलीमा अब पिसब जम्मा हुन थाल्यो । पानी नखानु भनेर भनिरहनु पर्ने आमालाई अहिले पानी पिएकोपिएै गर्नु भनेर भनिरहनु पर्ने दिन आएको छ । बुबालाई सबै बुझाएँ । नेपालमा रञ्जना मामूलाई जानकारी गराएँ ।
५ दिनपछि अस्पतालबाट डिस्चार्ज गर्नुअघि डायटिसियन र फर्मासिष्टले पटक पटक के कति कसरी कहिले खाने इत्यादि सिकाइ रहन्थे । २ महिनासम्म हप्तामा २ पटक ल्याब र डाक्टर भिजिट हुँने सेड्यूल पाएँ । दिनमा १८ चक्की औषधि खानुपर्ने बतायो । एण्टी रिजेक्सनको २ चक्की औषधि चाहिँ जीवनभर खानुपर्ने रहेछ । अन्य एण्टी इन्फेसन, पेन मेडिकेशनहरु आवधिक रहेछ । पुरानो अन्य रोगको औषधि निरन्तर गर्दो रहेछ । २ हप्तापछि हेपाटोलोजिष्टले १० हप्ताको लागि हेप्सी (हेपाटाइटिस् सी) को मेडिकेशन शुरु गरायो । अब केही समयपछि किड्निदेखि ब्लाडरसम्म युरेटर भित्र राखेको स्टेन्ट निकालेपछि प्रकृया पुरा हुने रहेछ । एक दिन बिराएर एम्बुलेट (रातो बत्ति र साइरन नभएको) मा डायलायसिस सेन्टर जानुको बदलामा फलोअप र खानामा सावधानी अपनाउनु पर्ने जिम्मेवारी स्विकारेर हामी खुसी छौं ।