आइफिल टावरमा नेपाली साहित्यको प्रवर्द्धन \नेपाली झण्डा र पहिरनमा सजिएर किताबको व्यापार
विश्वन्यूज प्रतिनिधि यूरोप
२३ असार, पेरिस । पेरिसको आइफिल टावर वरिपरि सदा भीडभाड नै हुन्छ । पर्यटकको लहर, सेल्फीको माहौल अनि विश्वकै प्रतिष्ठित गन्तव्यको मोह । त्यही भीडमा आइतबारको दिन नेपाली ढाका टोपी र नेपाली पहिरनमा सजिएर उभिन्छन्– प्रशान्त उप्रेती । जो आफैंलाई ‘भुइँमान्छे’ भन्न रुचाउँछन् ।
प्रशान्त त्यहाँ सेल्फी खिच्न आएका होइनन्, न त अरुको सेल्फी खिच्नलाई । उनी आइतबार छुट्टीमा फुर्सद निकालेर झण्डै ३५ मिनेट गाडी हाँकेर आइफिल टावर पुग्छन्– नेपाली किताब बेच्न । हातमा केही थान पुस्तक हुन्छन्, अनुहारमा मुस्कान अनि आत्मविश्वासको चमक । ‘यहाँ नेपाली किताब देखेर धेरै विदेशी चकित हुन्छन्,’ प्रशान्त सुनाउँछन्, ‘केही त यत्रो भीडमा नेपाली पात्र भेटिएकोमा खुसी हुँदै किताब पनि किन्छन् ।’
पछिल्लो ६ महिनादेखि उनले आइतबारको दिनलाई नेपाली साहित्यको प्रवद्र्धनमा समर्पित गरेका छन् । उनी नेपालबाट मगाएका नेपाली कपडामा आइफिल टावर पुग्छन्, जसले उनलाई अरुभन्दा अलग चिनाउँछ । ब्राण्डेड लुगाको मोहभन्दा पहिचानको आत्मगौरव उनीसँग बलियो छ । उनी भन्छन्, ‘पहिचान लुकाएर हैन, देखाएर बाँच्नुपर्छ । म नेपालबाटै मगाएका नेपाली कपडा लगाउँछु ।’
पेरिसमा बसेको झण्डै डेढ दशक भइसक्यो । फ्रेन्च भाषा र सभ्यता अध्ययन गर्न सन् २००७ मा फ्रान्सको ग्रोनभ्ल गएका उनी दुई वर्षपछि पेरिस सरे । सुरुमा हस्पिटालिटी क्षेत्रमा काम गरे, सात वर्षजति पसिनाको मूल्य बुझ्दै । सन् २०१६ मा उनले आफ्नै व्यवसाय सुरु गरे– नेपाली रेष्टुरेन्ट ।
अहिले उनी र उनकी श्रीमतीले छुट्टाछुट्टै दुईवटा नेपाली रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । आठ वर्षीय छोरासहितको परिवार पेरिसमा बस्छ, तर नेपाललाई उनी मन, मुटु र कर्मले जोडिरहेका छन् । आइतबारको त्यो झण्डै आधा घण्टा यात्रा प्रशान्तका लागि केवल किताब बेच्ने अभियान होइन, आत्मसन्तुष्टि र पहिचानको यात्रा हो । उनी भन्छन्, ‘किताब बेच्नु व्यापार मात्रै होइन, संस्कृति बाँड्नु पनि हो ।’ आइफिल टावरको छायाँमा उभिएर उनले नेपाल, नेपाली र नेपालीपन बोक्ने काम गरिरहेका छन्– शब्दको झोला बोकेर, मौन तर सशक्त सन्देशसहित ।

कोमाबाट उठेपछि पुनर्जन्मजस्तो जीवन
सन् २०१९ । संसारभरि कोभिडको त्रास थियो । यही त्रासले प्रशान्त उप्रेतीको जीवनलाई समेत हल्लाइदियो । रोगले मात्र होइन, त्यसले भित्रभित्रै चिथोरेर उनलाई मृत्युको मुखसम्म पु¥यायो । एक दिन अचानक हर्टअट्याक आयो । सात दिनसम्म कोमामै रहे । बाँच्ने सम्भावना निकै कम थियो । तर, उनले मृत्युलाई जिते ।
कोमामा हुँदा कसैले सामाजिक सञ्जालमा उनको नाममा ‘हार्दिक श्रद्धाञ्जली’ लेखेको थियो ।
त्यसको खबर उनले आफूलाई होस आउनेबित्तिकै थाहा पाए । त्यो क्षण उनको मनभित्र गहिरो चोट पुग्यो । त्यही घाउले उनलाई करिब दुई वर्षसम्म डिप्रेसनमा डुबायो । तर, उनी हार मानेनन् । आज उनी फेरि मुस्कुराइरहेका छन्– नयाँ जीवन लिएर, नयाँ सोचका साथ । पेरिसको जीवनशैलीमा आफूलाई ढाल्दै प्रशान्त अहिले व्यवसाय, साहित्य र समाजसेवामा एकसाथ सक्रिय छन् । नेपाली समुदायसँग जोडिएका उनले पुस्तकप्रतिको मोहलाई आफ्नो अभियान बनाएका छन् ।
‘हामी हजारौं यूरोको आइफोन किन्छौं, तर दस यूरोको किताब किन्न हिच्किचाउँछौं,’ उनी भन्छन्, ‘त्यही सोच बदल्न मैले किताब बेच्न थालेको हुँ ।’ प्रशान्त युरोपकै साहित्यिक राजधानी मानिने पेरिसमा नेपाली किताब बेचिरहेका छन् । नेपालबाट किताब मगाउँछन्, र पेरिसमा नेपाली तथा केही उत्साही विदेशी ग्राहकलाई बेच्छन् । तर, यो व्यापार होइन । उनले रोगीको सहायता र समाजसेवाका लागि किताब बिक्रीबाट केही रकम छुट्याउने पुस्तकलाई प्राथमिकतामा राखेर बेच्ने गरेका छन् । ‘त्यस्ता पुस्तक बिक्री भएको रकम समाजसेवामा जान्छ भन्ने थाहा छ, त्यसैले त्यो बेच्दा गर्व लाग्छ,’ उनी भन्छन् ।
प्रशान्तले नेपाली मूलका बालबालिकाले लेखेका कविता संकलन गरेर क्यालेन्डर प्रकाशन गरेका छन् । तस्बिरसहितको त्यो क्यालेन्डर बच्चाहरुको सृजनात्मक क्षमताको दस्तावेज हो । ‘फोटो छापिएपछि बच्चाहरुलाई थप प्रोत्साहन मिल्छ,’ उनी भन्छन् । त्यस्तै, उनले ‘बुलबुल’ नामक साहित्यिक कार्यक्रममार्फत प्रत्येक महिना १५ हजार रुपैयाँ बराबरको साहित्यिक पुरस्कार वितरण गर्ने गरेका छन्, लेखन संस्कृतिको प्रवद्र्धनका लागि ।
चितवनको पर्सामा जन्मिए पनि प्रशान्त उप्रेतीको पारिवारिक जरो काभ्रेको माटोमा जोडिएको छ । बाल्यकाल चितवनमा बिताएका उनले जीवन भने संसारको विविध रंगसँगै पेरिसमा बुनिरहेका छन्, तर नेपाली पहिचानलाई केन्द्रमा राखेर । आइतबारको दिन आइफिल टावर वरिपरि हजारौं पर्यटकको भिड हुन्छ । यही भिडमा नेपाली ढाका टोपी, नेपाली कपडा र काँधमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै देखा पर्छन् उनी । त्यो आत्मगौरव, पहिचान र मायाको प्रतीक हो, जसलाई लिएर उनी पेरिसका सडक चहार्छन् । उनको शरीर पेरिसमा भए पनि मन अझै नेपालमै अडिएको छ । यही भावनाले उनलाई निरन्तर नेपाली भाषा, साहित्य र समाजसेवामा जोडिराखेको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सक्रिय सदस्य रहेका प्रशान्त उप्रेती नियमित रक्तदाता पनि हुन् । उनीसहितले स्थापना गरेको रक्तदाता सञ्जाल आज झण्डै २१ देशमा फैलिएको छ । नेपाली युवाहरुलाई रगतदानजस्ता मानवीय काममा जोड्ने उद्देश्यसहितले उक्त अभियान सुरु गरेको प्रशान्तले बताएका छन् । प्रशान्तले ६० पटकभन्दा धेरै रक्तदान गरिसकेका छन् । यस्तो उदाहरणीय कार्यले उनलाई केवल एक व्यवसायी या अभियन्ता बनाएको छैन, उनी ‘समर्पित नेपाली’को प्रतीक बनेका छन्, जहाँ देशको माया र मानवीय सेवाको सम्मिश्रण भेटिन्छ ।
नेपाली किताब बेच्ने, नेपाली बालबालिकाको कविता प्रकाशित गर्ने, साहित्यिक कार्यक्रमहरु आयोजना गर्ने, रक्तदानजस्ता काममा जुट्ने प्रशान्तको जीवन एउटा शान्त तर प्रभावकारी क्रान्ति जस्तै लाग्छ । त्यो क्रान्तिको मूल मन्त्र हो– ‘नेपाली भएर बाँच्ने, जहाँ भए पनि नेपाली हुने ।’ आइफिल टावरजस्तो अन्तर्राष्ट्रिय स्थलमा नेपालको झण्डा बोकेर उभिनु र त्यो झण्डालाई कर्म, भाव र पहिचानले जीवन्त बनाउनु, यही हो प्रशान्त उप्रेतीको जीवनकथा । शब्दहरुमा नेपाल, रगतमा मानवता र काँधमा झण्डा बोकेर आइफिल टावरबाट अगाडि बढिरहेका छन्, प्रशान्त उप्रेती भुँइमान्छे ।