मनोरञ्जन

नियात्रा : उडानसँगै खुल्दुलिएको मन


भीमनारायण श्रेष्ठ

एउटा देशको भाषा र लिपि अर्को देशका मान्छेले सहजै बुझ्न र पढ्न नसक्नु स्वाभाविकै हो । सबै सर्वविज्ञ हुन सक्दैनन् । त्यसैले अरुको भाषा नबुझ्ने मान्छे लाटोसरह नै हुने रहेछ भने त्यहाँको लिपि नजान्ने त झन् अन्धोसरह नै हुने रहेछ । यस्तै अनुभव यसपालिको विदेश भ्रमणका क्रममा स्वयम् आफंैले व्यहोर्नु प¥यो । यहाँ प्रस्तुत गर्न खोजेको काठमाडौंदेखि क्यानाडाको विनिपेगसम्मको यात्राको क्रममा बाटोमा भोगेको विषयवस्तु हो । खासमा कोरियाको सिओलस्थित एयरपोर्टको रेष्टुरेण्टको कुरा हो ।


उडान तालिकाअनुसार करिब ६ घण्टामा कोरियाको सिओलस्थित आईसीएन विमानस्थल पु¥याउने अनुमान छ । जहाजले जमिन छोडेर आकाशतर्फ उड्दै थियो । विमान कर्कश ध्वनिका साथ ढलपल गर्दै अक्कासिँदै गर्दाखेरी एक झट्का तलतिर स्वाट्ट झरे । लगभग सबैजना झस्याङ्ग हुन पुगे । त्यसले गर्दा मनमा केही अप्ठ्यारापन उब्जाइदियो । अनि सम्झें आजभन्दा लगभग २५ वर्षजति अगाडिको कुरा ।
त्यसबेला म परराष्ट्र मन्त्रालय (२०५२–२०६२ सम्म)मा कार्यरत थिएँ । मन्त्रालयका कर्मचारीहरु विदेशस्थित दूतावासहरुमा सरुवा भएर जाँदा प्रायःजसोले कोरियन एयरको उडान मन पराउँदैनथे । अरु जहाजको तुलनामा यसको टिकट सस्तो भए तापनि जहाज राम्रो मान्दैनथ्यो । तत्कालीन एकजना उपसचिवका अनुसार कोरियन एयरको जहाज अलि पुरानो र ठूलो आवाज हुने भएकाले प्रायः जान मान्दैन भनेको कुरा सम्झें ।


यतिखेर जहाज उडानको गतिविधि नियाल्दा मलाई पनि त्यस्तै लागिरह्यो । मनमा यस्तै–यस्तै कुरा खेलिरहेको थियो । झन् एक झट्का तल झरेकाले त मनमा चिसो नै गढिदियो । आखिर जहाजले लिनुपर्ने उचाइँ लिइसकेपछि केही भएन र मन शान्त भयो । चालकदलका सदस्यहरुको व्यवहार मिलनसार र सराहनीय लाग्यो । उनीहरुको सेवा र सहयोगप्रति आभारी नै छु ।


रातिको उडान भएकाले बाहिरको दृश्यको बारेमा अत्तोपत्तो भएन, एकैचोटी बिहानीपख सिओल हवाई मैदानमा जहाजको पाङ्ग्राले धरती स्पर्श गरेपछि मात्र थाहा भयो कोरिया पुगिएछ । जहाज आकाशमा उडिरहँदा र धरतीमा टेक्दाको अवस्था र अनुभव नै बेग्लै ।


जहाज आकाशमा उडिरहँदा मनमा अनेक किसिमका तर्कनाहरु ओइरिरहे । मानौं आफैंले जहाज उडाइरहेको हो कि जस्तो पनि लाग्ने । अझ देवताहरु पुष्पविमान चढेर यताउति गइरहन्छन् भन्ने कुरा गुरुहरुको प्रवचनमा सुनेको थिएँ । सायद त्यसकै नमूना त होलान् यी जहाज पनि । आखिर मान्छे पनि देवतासरह नै भइसकेका रहेछन् । यति ठुलो विमानहरु तयार गरेर उडाउन सक्ने । अनि मनमनै भन्छु– म पनि मान्छे, यी विमान बनाउने पनि मान्छे ।


फेरि मनले सोच्न पुग्छु, देवता बस्ने स्वर्ग भन्ने ठाउँमा पनि यही जहाजबाट पुग्न सकिएला कि । जान पाए हुन्थ्यो जस्तो पनि लाग्ने । तर, के हुन्थ्यो ? म कसरी जान सकुला र स्वर्ग । स्वर्ग त कता हो कता ? हाम्रो गन्तव्य नै फरक । हुन त जीवनयात्राको गन्तव्य पहिले नै निर्धारण भइसकेको हुन्छ । अहिले सोचेर मात्र कहाँ हुन्छ र !
जब हामी कोरियाको सिओलस्थित आईसीएन एयरपोर्टमा पुग्यौं र जहाजबाट उत्रियौं । त्यतिखेरको स्थानीय समय बिहानको ५ः१५ बजिरहेको थियो । एकछिन उभिएर एयरपोर्टको वातावरण नियालें । सबैलाई हतार नै भएको जस्तो लाग्छ । माहोल नै बेग्लै देख्यौं । बाह्य जगत उज्यालो भएको थिएन । तापनि कोही कसैलाई फुर्सद भएझैं लाग्दैन । सबैलाई आ–आफ्नै गन्तव्यमा पुग्न हतारो छ ।


हुन त हामी चढेको जहाजमा धेरै नेपालीहरु थिए । उनीहरु कोही न्यूयोर्क, डालास, आलाबामा, मिनियापोलिस र अन्य ठाउँहरुमा जान लागेका रहेछन् । अरु सेक्टरको हवाई यात्राभन्दा यो कोरिया सेक्टर (रुट)को भाडा अलि सस्तो पर्छ । तर, ट्रान्जिटमा भने अत्यासलाग्दो किसिमले बस्नुपर्ने ।


नढाँटीकन भन्नुपर्दा हामीले पनि यही कारणले यो सेक्टर रोजेका हौं । हाम्रो अर्को उडान १५ घण्टापछि मात्र हुने समय तालिका भएकोले यहाँ ट्रान्जिटमा बस्नुपरेको हो । कोरियाबाट सिधा क्यानाडाको विनिपेग उड्ने जहाज रहेनछ । त्यसैले अमेरिकाको मिनियापोलिस भएर जानपर्ने भएकाले डेल्टा विमानको टिकट लिएका छौं । मिनियापोलिसमा पनि ४ घण्टा ट्रान्जिटमा बसेर डेढ घण्टाको हवाई यात्रापश्चात् मात्र क्यानाडाको विनिपेग विमानस्थल पुग्ने रहेछ ।


कोरियामा लामो समय ट्रान्जिटमा बस्दा अत्यास लाग्नु स्वाभाविकै हो । त्यसैले अमेरिकामा कर्मथलो गरिबसेका विनय (छोरा)ले बाबुआमाप्रतिको सदाशयतामा एयरपोर्टस्थित ट्रान्जिट होटलमा कोठा बुक गरिदिएछ । होटलमा बस्न पाएकाले हामीलाई खासै अत्यासलाग्दो अवस्था सिर्जना भएन । बाबुआमाप्रति छोराले देखाएको कर्तव्य सम्झेर हामी खुसीले गद्गद् भयौं ।


सिओलस्थित यो आईसीएन एयरपोर्ट विशाल क्षेत्रमा फैलिएको रहेछ । यसको तुलनामा हाम्रो काठमाडौंस्थित एयरपोर्ट त कति सानो कति । यहाँ ड्युटी फ्री सामानका पसलहरु पनि कति राखेका हुन् । कसले मात्र किनेर लाने हुन् जस्तो लाग्ने । एकसे एक उस्तै पसल । मेरो नजरमा गरगहना, शृङ्गार, मदिरा, लुगाफाटाका पसलहरु नै सबभन्दा आकर्षक लाग्यो ।


हुन त अरु सामानका पसलहरु पनि नभएको होइन । अझ चिया कफीको साना पसलदेखि ठूला फास्ट फूड पसलसम्म पनि नभएको होइन । तर, सजावट र आकर्षणले गर्दा पहिलो नजर नै तिनै महँगा पसलमा पर्ने ।


जहाजबाट निस्कनासाथ हामीलाई इलेक्ट्रिक ह्विलचेयरमा राखेर गेट नं. २४६ नजिक पु¥याए । मिनियापोलिस जानका लागि यही गेट प्रयोग हुने रहेछ भन्ने थाहा भयो । कोरियाली ह्विलचेयर चालकले संकेत गर्दै उडान समय नभएसम्म यहीं बस्नु भने । हामीलाई यही राख्ने देखेर मैले हाम्रो त होटल बुक भएको छ भनेर मोबाइलमा होटल बुक भएको मेल देखाएँ ।

उनले पुनः ह्विलचेयरमा बस्न संकेत ग¥यो ।
हामीलाई लिएर चालकले अलि पर लिफ्ट नजिक पु¥याए । होटलबाट पठाएको मेलअनुसार मलाई जानकारी थियो । चौथो तलामा होटल छ भनेर । ऊ पनि ह्विलचेयर त्यही राखेर लिफ्टमा हामीसँगै आयो । उसले ट्रान्जिट होटलको काउण्टरसम्म पु¥याइदियो । कति सहयोगी भावका ह्विलचेयर चालक । उसले निर्वाह गरेको कर्तव्यप्रति हार्दिक नमन । अझ बेलुका ५ः०० बजे यहीं लिन आउँछु भनेर फर्कियो ।

File Photo


हामी होटलमा १३ मार्च, २०२५ को बिहान लगभग ५.४५ बजे (स्थानीय समय अनुसार) पुगेका थियौं । होटलको काउण्टरमा बसेकी (कोरियाली केटी) कर्मचारीलाई हाम्रो कोठा बुक गरेको प्रमाण देखाएँ । तिनी मुस्कुराउँदै अहिले ८ः०० बजेको छैन भनेर घडी देखाइन् । हुन पनि हामी होटलमा बस्ने समय बिहान ८ः०० बजेदेखि बेलुका ५ः०० सम्मको हो । त्यसैले होटलको काउण्टर अगाडिको प्रतीक्षालयमा आठ बजेको समयलाई कुरेर बस्यौं । त्यही बीचमा हामी एकछिन शौचालयतिर जान निस्केका थियौं । फर्कंदा त त्यहाँका सबै कुर्सीहरु भरिसकेका रहेछन् ।


कतै बस्ने ठाउँ नपाएकोले काउण्टर वरतिरको गोलमेच (सायद अध्ययन कक्ष हो कि ?) कुर्सीमा केही बेर बस्न थाल्यांै । सायद त्यहाँ बस्न नमिल्ने हो कि अथवा हाम्रो अप्ठ्यारापन बुझेर हो काउण्टरमा बसेकी तिनै केटीले हामीलाई बोलाउन आइन् । आठ बज्न अझै २०–२५ मिनेटको समय त बाँकी नै थियो । तैपनि हामीलाई कोठाको साँचो दिइन् । अनि ट्रान्जिट होटलको कोठामा आराम गर्दै अर्को उडानको लागि हामीले बचेखुचेको समय धकेलिरह्यौं ।


कति व्यस्त एयरपोर्ट । कोही आइरहने । कोही गइरहने । सबैलाई आफ्नै गन्तव्यमा पुग्न हतार । सलह जस्तै सबै यताउता सल्बलाइरहेका थिए । कसैलाई फुर्सद छैन । हामी पनि त्यही हुलमा मिसिएर आएका थियौं । कान्छी छोरीको परिवार भेट्ने उद्देश्यले अन्जानको गन्तव्य पछ्याउँदै यात्रारत थियौं । नवीनतम ठाउँको अनुभव संगाल्दै बिरानो देश (कोरिया)मा पुगिरहेका थियौं । बिरानो देशको रहनसहन, खानपान र भेषभूषा नै बैग्लै । यात्रुहरुप्रति गरिने आदर सत्कार नै अलग्गै । हाम्रो देशको भन्दा भिन्नै अनुभव ।


एयरपोर्टस्थित जनसम्पर्क हुने अधिकांश ठाउँ (पसल÷होटल÷रेष्टुरेण्ट आदि)का काउण्टरमा हँसिली मुद्रामा केटीहरु बसिरहेका भेटिन्छन् । झट्ट हेर्दा मूर्तिकारले बान्की मिलाएर मिहिनेतका साथ सुन्दर मूर्ति तयार गरेर राखे जस्तै लाग्ने । गोरी अनुहारमा मिल्दो सामान्य सौन्दर्य । तिनीहरु मुस्कुराउँदा पनि मोती नै बर्सिने हुने जस्तो लाग्ने । लहरै मिलेका सेता दन्त । कति आकर्षक । अझ आँखामा कोरिएका मसिनो धर्सोको गाजल कति सुहाएको । सुन्दरी प्रतियोगिताका लागि बसेकी हुन् कि जस्तो लाग्ने ।


तिनीहरुको काउण्टर अघिल्तिर कोही पुग्नासाथ मन्द मुस्कानमा अभिवादन गर्ने । कति शिष्ट कोरियाली संस्कार । बोलीबचनमा कति मिठास । आफ्नो व्यवसाय सुहाउँदो भेषभूषा र आभूषण पहिरिएका सुन्दरीहरुको आदर्शवाक्य कति मिठास । हुन त तिनीहरुको व्यावसायिक धर्म नै होला मुस्कुराउनु, अभिवादन गर्नु र आदर्शवाक्य बोल्नु । कति मीठो पाराले अंग्रेजी र कोरियाली भाषाबाट अभिवादन गर्ने । तर, आफूलाई भने राम्ररी अंगे्रजी बोल्न नै कठिन, कोरियनको त कुरै छाडौं । त्यसैले ठाउँ–ठाउँमा अप्ठ्यारो व्यहोर्नु परेको यथार्थ हो ।


होटलमा आराम गरेर बस्न पाएकाले समय ढल्कँदै गइरहेको पत्तो नै भएन । बिहान ८ः०० बज्नुअघि नै होटलमा बसेका थियौं । घडीले १२ः०० बजेको समय सूचना दिइरहँदा एकछिन त पत्यार नै लागेन । आखिर समय सूचक न हो, कहाँको पर्खेर बस्दो हो घडी ? उसको काम नै अघि बढ्ने हो । घडीको समय पछ्याउँदै रेष्टुरेण्टतर्फ जान कोठाबाट निस्कियौं । नजिकैको कोरियन फूड कोर्ट (रेष्ट्रेण्ट)तिर लाग्यौं ।


रेष्टुरेण्टमा काउण्टर अगाडि मानिसहरु लाइन लागेको देखेर अचम्म लाग्यो । एकचोटी लाइन लागेका मानिसहरुको अनुहार सर्सर्ती पढें । अधिकांश अनुहार कोरिया, चीन र थाई नागरिक हुन् कि जस्ता लाग्ने । खानेकुरा अर्डर गर्न लाइन लागेका रहेछन् । खानेकुरा अर्डर गर्दै बैंक कार्डबाट पैसा तिरिरहेको देखें ।
अझ अर्कोतर्फ स्वचालित मेसीनमार्फत आफैं अर्डर लिष्ट बनाएर बैंक कार्डबाट भुक्तानी गरे जस्तो पनि लाग्यो । त्यो दृश्य हेर्दाहेर्दै आफू त अक्क न बक्क । आफू त न अंग्रेजी राम्ररी बोल्न सक्ने, न त नयाँ प्रविधिमा अभ्यस्त । कसरी अर्डर गर्ने ?

अझ आफूसँग भने नेपाल र भारतमा मात्र चलाउन मिल्ने बैंक कार्ड थियो ।
हुन त आफूसँग अमेरिकी डलरका केही नोट खल्तीमा नभएको होइन । तर, यहाँ डलरमा कारोबार गर्दा फिर्ता आउने पैसा डलरमै पाइने हो–होइन थाहा छैन । कोरियन पैसा फिर्ता आए के गर्नु ? अन्त चल्ने हैन होला । अल्मलिएँ केहीबेर । तर, खाना त खानु नै थियो ।


कुन खाना कसरी अर्डर गर्नुपर्ला भनेर काउण्टर माथितिर झुण्ड्याइएको मेनु (खानेकुराको विवरण र मूल्यसूची)मा ट्वाल्ल परेर हेरिरहें । मेनुमा अंग्रेजी र कोरियाली भाषा लिपीबाट लेखेको भएर अलिअलि बुझें । राम्ररी बुझ्न सकेन । अर्डरअनुसारको बिल तिरेपछि भित्र अर्को काउण्टरबाट खानेकुरा उपलब्ध हुने रहेछ । सेल्फ सर्भिस सिस्टमको रेष्टुरेण्ट रहेछ । तर, हामीलाई मिल्ने दालभात जस्ता खानेकुरा पाउने सैकेत देखिनँ । अब के गर्ने ? झन् अन्योल थपियो ।


हुन त विनयले हामीलाई मिल्ने खाना पाउन सक्ने भनेर राज इण्डियन रेष्टुरेण्टको नाम नदिएको होइन । तर, त्यो रेष्टुरेण्ट एयरपोर्ट बाहिर पो रहेछ । एयरपोर्ट बाहिर जान हामीसँग कोरियन भिसा नभएकाले बाहिर जाने कुरै भएन । त्यसैले जसोतसो यही फूड कोर्टको खानेकुराबाट काम चलाउने निधो ग¥यौं ।


हामी यहाँ आउनुभन्दा केही दिनअघि मात्र मच्छेगाउँ निवासी कृष्णकुमार श्रेष्ठ (आफन्त)ले दक्षिण कोरियाको विकासक्रम तीव्र गतिले अघि बढिरहेको मुक्तकण्ठ सुनाएका थिए । उनी केही महिना अघि मात्र तालिमको सिलसिलामा दक्षिण कोरिया पुगेर फर्केका हुन् ।


उनका भनाइअनुसार कोरियाका अधिकांश ठाउँमा स्वचालित मेसिनको माध्यमबाट स्वयम् सेवा गर्ने, पसलहरुमा सामान किन्दा स्वचालित मेसिनमा आफंै बिल तयार गर्ने र कार्डबाट भुक्तानी गर्नुपर्ने छ । नगद पनि भुक्तानी गर्न सकिन्छ, तर नगद भुक्तानी गर्दा बाँकी पैसा फिर्ता नआउने समस्या पनि सुनाएका थिए । झट्ट ती कुरा पनि सम्झें । आफूले पनि केही गरी ठूलो नोट मेसिनमा छिराउन प¥यो भने बाँकी पैसा फिर्ता नआउने हो कि भन्ने मनमा कताकता अप्ठ्यारो लागेको पनि थियो ।
एकछिन घोत्लिएर सोचें । यदि त्यस्तै भयो भने त मसँग भएको अमेरिकी डलरको १०० वा ५० दरका नोटको बाँकी पैसा खेर जाने भो ! यसो फर्केर शान्तासँग साउती गरें ।


‘के गर्ने हो ? सबैले कार्डबाट मात्र पैसा तिरिरहेको छ । हामीसँग यहाँ पैसा तिर्न मिल्ने कार्ड छैन । हामीसँग भएको डलरबाट ति¥यो भने बाँकी पैसा फिर्ता आएन भने के गर्ने ?’’ ‘त्यस्तो हुने भए त भएन नि’, तिनले भनिन् । एकछिन त । आ …..! केही नखाउँ क्यारे भन्ने सोच पनि नआएको होइन । आखिर यहाँ १०÷२० डलरको खाएर बाँकी पैसा त्यसै खेर फाल्नुभन्दा नखानु नै वेश । यस्तैमा मनले धाप मार्दै भनिरहेझैं लाग्यो, ‘स्यावास् ! बिनसित्तै पैसा खेर फाल्ने काम तिमीले नगर । पैसा कमाउन कति गाह्रो छ भनेर तिमीलाई भनिरहन पर्दैन । तिम्रो साथमा केही खानेकुरा भए त्यसैबाट काम चलाउ । मनलाग्दी खर्च नगर ।’ हुन त, हामीसँग बिस्कुट र अरु केही ड्राइफूड नभएको होइनन् तर त्यतिले पुग्ला नपुग्ला । भोक त मस्तैले लागेको छ ।


मनमा अर्कै कुरा उब्जिन्छ । भोक भनेको भोक नै हो । भोकको अगाडि कसैको केही लाग्दैन । सितिमिति भोकको सामना कसैले गर्न सक्दैन । भित्री मनले पनि भनिरहेछ ‘तिमीलाई भोक ठूलो कि डलर ? खल्तीमा पैसा राख्दैमा भोक मेट्दैन । केही खानेकुरा अर्डर गर्नु र खाइहाल । भोकभाकै यात्रा नगर ।’ दुबै कुरा ठीकै हो । अब के गर्ने ? दोधारमा परियो । अब परेन फसाद? जहाज उड्ने समय पनि निकै बाँकी छ, जहाजमा दिएको खानाले पुगिहाल्छ भनेर चित्त बुझाउन पनि सकिन्न ।
यसरी अल्मलिएर सोचमा डुबिरहँदा काउण्टर अगाडि लाइन बसेका सबै गइसकेका थिए । सायद सबैले आफ्नो अर्डर सकाएर गएका होलान् । म त झस्याङ्ग नै भएँ । काउण्टरवालाले मलाई ट्वाल्ल परेर हेरिरहे जस्तो लाग्यो । त्यहाँ टाँङ्गिएका मेनुतर्फ आँखा डुलाइरहें । खानेकुराको समुचित नाउँ अंग्रेजी अक्षर भएकोले पढ्न सकें । तर, त्यसअन्तर्गतको अन्य परिकारको नाउँ भने कोरियाली भाषा लिपीको भएर केही बुझ्न सकेन ।


प्रायःजसो खानामा पोर्क र बीफको परिकार । त्यस्तो खाना त आफूलाई हुँदै भएन । खानेकुराको मूल्य भने अंग्रेजीमा लेखेको भए तापनि कोरियाली मुद्राको रहेछ । हामीले खोजेको दालभात त कतै लेखेको पाइएन । निकै अलमलमा परें ।
नौलो ठाउँ र परिवेशमा भाषाको कारण लाटो भएको एकातिर जिउँदै छ । अर्को झन् कोरियाली लिपिको मेनु देखेर त अन्धो नै भएँ । जे पर्ला अर्डर गरिहालौं जस्तो पनि लाग्यो । तर, फरकपनको खानेकुरा आउने हो कि भनेर अर्डर गर्न सकेन ।

एकछिन त अक्क न बक्क नै परें । हुन त नयाँ ठाउँ र परिवेशमा केही नयाँ कुराको अनुभूति बटुल्न पाइरहेकोमा मनमा कताकता उत्साह र उमङ्ग भने जग्मगाइरहेछ । तर, के गर्नु ? आफूले खोजेको कुरा नपाएपछि । ‘हिस्स बुढी खिस्स’ भनेजस्तै भएँ ।
केही त खानैपर्ला भनेर त्यहाँ टाँगिएको मेनुमा बारबार आँखा डुलाउँछु । ज्यान जाला कोरियन लिपी बुझ्न सकेको होइन । अधिकांश खानेकुराको परिकार कोरियाली मात्र पाउने भएर फसाद । त्यसमा पनि पोर्क (बंगुरको मासु) र बीफ (गाईको मासु)को परिकार । कतैकतै मनले कताकता गुन्गुनाइरहेछ । ‘यात्रा त हो, जहाँ जे उपलब्ध हुन्छ हसुरिहालौं ।’ तर, अन्तरमन मानिरहेको छैन ।


काउण्टरमा भने मान्छेहरु आइरहेका छन्, गइरहेका छन् । अर्डर गरी भित्र पसेकाहरु भने खानेकुरा मज्जाले चपाइरहेका थिए । आफू भने हेरेको हेरै । त्यत्रो फराकिला ठाउँमा लामबद्ध छरिएका मेच टेबुलहरु प्रायः सबै भरिएका थिए । अझ कोही आउँदै थिए । कोही जाँदै थिए । मानौं कुनै बिहे भोजको कार्यक्रम भैरहेको छ । आखिर रेष्टुरेण्ट न हो खाइसकेपछि केका लागि बसिरहन्छ र । हामीले पो खान नै पाएको छैन, भित्र केका लागि पस्ने ?


आखिरमा एउटा उखान सम्झना आयो ‘जहाँ समस्या त्यहाँ उपाय ।’ भने जस्तै काउण्टर अगाडि निकै बेर घोत्लिएर मेनु हेर्दै थिएँ । आखिर एउटा कुनामा चिकेनको परिकार लेखेको देखें । धन्य ! खिस्रिक भएको मन तीन हात उफ्रयो । चिकेनवाला खानेकुरा खान पाउने भएर । त्यही अर्डर गर्ने निधो गरें । ती खानेकुरा चाहिँ बर्गर हो । पल्छितिर फर्केर शान्तालाई सोधें । ‘यहाँ भात नपाउने रहेछ । बर्गर पाउने रहेछ, खाने हो ?’ तिनले बर्गर भनेको बुझेनछ । उत्निखेरै ‘बर्गर त नखाने । भात पाउँदैन र ?’ भनिन् । ‘भात नपाउने रहेछ’ भनें । ‘त्यसो भए बम (बोन ब्रेड) काटेर तल माथि राखेको छ नि ऊ….. त्यो छ
नि !’ भनेर मेनुको कुनापट्टि लेखेको चिह्न देखाइन् ।

‘बाबु (विनय)ले त्यस्तै ल्याएर ख्वाएको हैन ? मलाई मनपर्छ भनेकी थिएँ नि त्यही लिए हुन्छ नि’ भनिन् । मैले पनि त्यही बर्गर लिन खोजेको थिएँ । ‘त्यही बर्गर लिने त हो नि’ भन्दा तिनी दङ्ग परिन् । बर्गर खानेकुराले बितेको कुरालाई सम्झाइदियो । सन् २०१६ मा हामी पहिलो पटक अमेरिका पुगेका थियौं । त्यसबेला भ्रमणको सिलसिलामा शिकागोबाट न्यूयोर्क, वाशिङ्टन डिसी र एटलाण्टा पुगेका थियौं । त्यसबेला बाटोमा भात खान पाउने भनेर इण्डियन होटल खोज्दै गएका थियौं । शान्ताले अरु खानेकुरा मन पराउँदैनथी । बरु भोकै बस्न तयार हुने यताउतिको खानेकुरा मन नपराउने । त्यतिखेर विनयले आमालाई खाना खुवाउन अनेक तरिका अपनाउनु परेको थियो ।


यस्तैमा एकदिन एटलाण्टाको ओलम्पिक पार्कमा घुम्दै थियौं । पार्कमा विश्राम गरिरहँदा विनयले हामीलाई भोक लागेको होला भनेर बर्गर ल्याइदियो । खाँदाखाँदै विनयले ‘यो कस्तो लाग्यो माँ ?’ भनी सोधे । शान्ताले तुरुन्तै जवाफ फर्काए ‘यस्तो भए त मन पर्छ नि मलाई’ भनिन् । अनि विनयले ‘माँ पनि …. ! यस्तो खानेकुरा मनपर्छ भनेर पहिल्यै भन्नु पर्दैन ?’ भने । हामी सबै हाँस्यौं । अहिले त्यही सम्झेर बर्गर अर्डर गर्ने निधो गरें ।


खानेकुरा त मिल्यौ भनौं । बिल तिर्न फेरि उही समस्या आउने देखियो । आफूसँग अमेरिकी डलर छ । आफूलाई अंग्रेजी राम्ररी बोल्न पनि नआउने । कसरी के भनेर अर्डर गर्ने ? द्विविधामा नै छु । काम चलाउ दुईचार टुटुफुटेका अंग्रेजी शब्द कनीकुथी बोल्न नसक्ने त होइन । त्यसैले चिकेन आइटमको बर्गर मगाएँ । आफूसँग अमेरिकी डलर मात्र भएको कुरा पहिले नै जानकारी गराएँ । उसले ‘ओके नो टेन्सन !’ भन्यो।


धन्य ! बर्गर अर्डर गरेर ५० डलरको नोट थमाएँ । उसले बिलको रकम कटाएर बाँकी रकम डलर नै फिर्ता ग¥यो । २ वटा बर्गरको बिल रकम २७ हजार कोरियन मुद्रा अर्थात् झण्डै १९ डलर । यसको मतलब नेपाली पैसाभन्दा सस्तो रहेछ कोरियन पैसा । कोरियन पैसा फिर्ता गरेको भए अर्को समस्या पर्ने । बिलको पैसा तिरेपछि अलि पल्तिर कुनाको काउण्टरमा जान इशारा गरे । भित्रतिर जाँदा पो थाहा भयो, फरक खाना समूहका लागि अलग्गै भान्साको काउण्टर रहेछ ।


बर्गर लेखेको काउण्टर त अलि परै रहेछ । त्यहाँ पुगेर कागज देखाएँ । ‘५ मिनेट पर्खनू’ भनेपछि अगाडिको खालि सीटमा बस्यौं । एकैछिनमा माइकबाट नम्बर भन्यो । आफूसँग भएको बिलको साथमा दिएको कागजमा के लेखेको छ भनेर पल्टाएर हेर्दा पो थाहा भो, त्यो माइकबाट बोलेको नम्बर हाम्रै परेछ । नम्बर भएको त्यो कागज देखाएँ, अनि हाम्रो खानेकुरा अगाडि सारिदिए । फरक परिवेशको भाषा र लिपि नजान्नाले केही अप्ठ्यारो परिस्थितिको सामाना गर्न पुगें ।


यस्तै २०५८ सालतिर अफिसको कामको सिलसिलामा म्यानमार भ्रमण पुगेको थिएँ । त्यहाँ पनि बर्मेली भाषाको अनभिज्ञताले गर्दा बाटोमा सानोतिनो अप्ठ्यारो भोग्नु परेको थियो । खासै ठूलो समस्या भने होइन । म्यानमार (बर्मा)को यांगून (रंगून) भ्रमणकै सिलसिलामा एकपटक यांगूनबाट बर्माको पुरानो राजधानी माण्डलयसम्म जान रात्रीबस प्रयोग गरेको थिएँ ।
त्यहाँसम्मको बाटोको दूरी ३८९ माइल टाढा पर्ने रहेछ । बाटोमा खाना खान बस रोक्दा बर्मेली भाषा नजान्नाले केही अप्ठ्यारो महसुस गर्नु परेको थियो । आफूले केही अंग्रेजी शब्द बोल्दा होटलका कामदारले नबुझ्ने । उनीहरुले भनेको आफूले नबुझ्ने ।


त्यसबेला त्यहाँ भोकै बस्न परेको थिएन । खाना खान होटलमा बस रोक्नुभन्दा पहिला नै सबै टेबुलमाथि बाटाभरि भात राखेर माथिबाट थालले छोपेर राख्ने गर्दा रहेछन् । भात खानेहरुले त्यही बाटामा राखेको भात झिक्दै आफूलाई चाहिने मात्रामा थपीथपी खान्थे । दाल, तरकारी र अचार भने कामदारले अलग्गै ल्याइदिन्थे । माछा, मासु (कुखुरा÷खसी) वा अन्य केही खानेकुरा चाहिएमा अलग्गै अर्डर गर्नुपर्ने । भाषा नजानेकाले त्यस्ता खानेकुरा मगाउन सकिनँ । बाटोमा जातेआते गर्दा सादा खानाकै भरमा पेट भरेको थिएँ ।


त्यही क्रममा माण्डलयबाट अलि उचाइँमा रहेको पिइन्उल्वीन भन्ने ठाउँ (यसलाई बर्माको दार्जिलिङ भन्दा रहेछन् । किनभने पहाडी इलाका भएकाले शीतल हुने ठाउँ रहेछ।)मा गएको थिएँ । त्यतातिरका नेपालीहरुको निम्तोमा गएको थिएँ । त्यहाँ नेपालीहरु धेरै बस्दा रहेछन् । त्यहाँ पुग्दा नेपालकै कुनै जिल्लातिर पुगेको अनुभव भएको थियो ।


त्यहाँसम्म पुग्न माण्डलयबाट ४० माइलको दूरी पार गर्नुपर्ने रहेछ । त्यता जाँदा बाटोमा चियाखाजाको लागि गाडी रोके । मलाई कोक खान मन लागेर कोकाकोला भनेर मागेको त हत्तपत्त होटलवालाले ट्वाइलेट पो देखाइदियो । मैले होइन भनेपछि अलि अंग्रेजी बोल्न सक्ने व्यक्तिले मेरो कुरा सुनेर कोक ल्याइदियो । फिस्स हाँसे म आफैं ।


ट्रान्जिट होटलमा बसेको समय पनि सकिन लाग्यो । बेलुकी ५ः०० बज्नुभन्दा केही मिनेट अघि नै कोठाबाट निस्केर काउण्टरमा साँचो बुझाएँ । हामीलाई ह्विलचेयरवाला आउने भनेकाले काउण्टरमा सोधें । उनीहरु त पहिले नै आएर बसेका रहेछन् । हामीलाई लिएर जहाज लाग्ने ढोका (गेट नं. २४६) निर पु¥याए । लामो प्रतीक्षापछि निर्धारित समय (कोरियाको स्थानीय समयअनुसार बेलुका ७ः३० बजे)मा डेल्टा–डिएल१७० विमान अमेरिकाको मिनिपोलिसको लागि उड्यो ।
जहाजले उचाइँ लिएर ४१ हजार फिटभन्दा माथिसम्म उडिरहेको थियो, मानौं आकाश नै छुने गरी ।

तर, आकाश त कता हो कता टाढा ? कसरी छुन सकिएला
र ? आखिर मनको भ्रान्ति न हो । मेरो मन भने जहाजले लिएको उचाइँभन्दा कैयौं गुणा उचाइँमा उडेको छ । अझ भनौं जहाजको रफ्तारभन्दा कयौं गुणा बढीको रफ्तारमा मनमस्तिष्क दौडिरहेको छ । यस्तैमा जहाज लगभग १२ः३० घण्टाजति उडेपछि अमेरिकाको मिनिपोलिस हवाई मैदान उत्रियो ।


हाम्रो अन्तिम गन्तव्य क्यानाडाको विनिपेग भएकाले यता पनि लगभग ४ घण्टाको ट्रान्जिट समय छ । यताको ट्रान्जिट समय कम भएकाले त्यति अत्यासलाग्दो भएन । अझ भनौं यहाँको केही पसलहरुमा आफूलाई आवश्यक सामान किन्नुपर्दा पनि सजिलै अनुभव गरें । किनभने आफूसँग अमेरिकी डलर भएकोले नगदै भुक्तानी गर्दा पनि केही फरक नपर्ने रहेछ ।


मिनियापोलिस एयरपोर्ट पुगेपछि काठमाडौं एयरपोर्टमा बुझाएको लगेजहरु संकलन गरेर क्यानाडा जानका लागि उतातिर जहाजको लागि राख्नु पर्ने रहेछ । लगेजहरु संकलनका लागि पर्खेर बस्दा हाम्रो चारवटा लगेजमध्येको एउटा मात्र आइपुगेछ । बाँकी तीनवटा आएको देखिएन । अनि लगेज व्यवस्थापनको इन्चार्जसमक्ष कुरा राखें । उनले यता नआएको लगेजको लागि अन्तिम गन्तव्यमा पुगेर त्यतै उजुरी गर्नुपर्छ भने । केही हदसम्म ढुक्क त भएँ । तर, समयमा आउने हो कि हैन ।


अनि अमेरिकाको टेक्ससमा बसिरहेका विनयलाई तीनवटा लगेज यता आइनपुगेको र क्यानाडा पुगेपछि त्यतै उजुरी गर्नुपर्छ भनेको कुरा बताएँ । उनले चिन्ता लिनुपर्दैन, सोधखोज गरौंला । ढिलै भए पनि आउँछ भनेकाले ढुक्क भएँ । हुन त, पहिले छोरी क्यानाडा जाँदा पनि अन्तिम गन्तव्यमा पुग्दा लगेज आएको थिएन रे ।
सम्बन्धित एयरलाइन्समा लगेज नआएको बारेमा उजुरी दर्ता गरेर आएपछि लगेज आइपुग्नासाथ आफू बसेको ठाउँमा ल्याइदिए रे । त्यसैले ढुक्क नै छु । तर, मनमा भने खुल्दुली लागिरहेकै छ, लगेज कहिले आउने हो । नियमित सेवन गर्नुपर्ने अधिकांश औषधीहरु त्यही लगेजमा राखेको थिएँ । हुन त हप्ता दिन जतिको लागि त अलग्गै राखेको औषधी साथमै थियो ।


चारघण्टाको ट्रान्जिट बिताएपछि डेल्टा–डिएल३६५६ जहाजले हामीलाई लिएर राति ९ः५५ (स्थानीय समय)मा उड्यो । उडान तालिकाअनुसार नै लगभग १ः३४ मिनेटको उडानपश्चात् हामीलाई क्यानाडाको विनिपेग विमानस्थलमा उता¥यो ।
विमानस्थलमा हामीलाई लिन ज्वाइँ आइरहनु भएको कुरा विनिताले पहिले नै भनेकी थिइन् । त्यसैले ढुक्क नै छौं । धन्य सबै लगेजहरु यता आइपुगेछ । सबै लगेजहरु बटुलेर निस्कने क्रममा यहाँको अध्यागमनमा केही सोधपुछ गर्ने कार्य भएकाले बाहिर निस्कन केही ढिला हुन पुग्यो । अध्यागमनको लागि थप जानकारी ज्वाइँबाट प्राप्त गरेपछि हामीलाई गन्तव्यमा जान संकेत ग¥यो ।


अध्यागमनमा अलि चासो लिएर सोधपुछ गर्नुको कारण अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उनले लिएको नीतिको कारण भन्छन् । पहिला यस्तो हुने गर्दैनथ्यो अरे । हामीलाई एयरपोर्टमा लिन युवराज आचार्य (ज्वाइँको साथी) पनि आउनुभएको रहेछ । सामान्य शिष्टाचार आदान प्रदानपश्चात् हामी त्यहाँबाट गन्तव्यतर्फ लाग्यौं । लगभग आधा घण्टाको बाटो तय गरिसकेपछि विनिपेगको विनकावा रोडस्थित अपार्टमेण्टमा पुग्यौं ।


एयरपोर्टबाट निस्केदेखि नै बाटोको दायाँबायाँतिर लामबद्ध लस्करै चाँदीझैं टल्केका हिउँले हामीलाई स्वागत गर्न पर्खिबसेका रहेछन् । कतैकतै सोहोरेर थुपारेका हिउँका थुम्काथुम्कीले हामीलाई हेरिरहेका थिए । हामीले पनि के कम छौं र मन प्रफूल्लित पार्दै टाढैबाट नजर लाउँदै ती हिउँका अवशेषलाई अभिवादन ग¥यौं ।
दायाँबायाँतिर आँखा डुलाउँदै निर्धक्क बाहिरको चिसोको अनुमान गर्दै गयौं । हाम्रो स्वागतका लागि आतुर भई प्रतीक्षारत विनिता र निविधि सम्मुख उभिन पाउँदा खुसीको सीमा नै रहेन । यतिखेर समय सूचक (घडी)ले रातको १२ः४५ बज्यो भनेर हाम्रो आँखा तानिरहेको पत्तो नै भएन । विनिताले आमाबुबाको लागि तयार गरिराखेको मीठो खाना खाएपछि निद्रादेवीको काखमा लुटपुट गर्दै कतिखेर निदायौं पत्तो नै भएन ।

२२ मार्च, २०२५ (०९ चैत्र, २०८१)
विनिपेग, क्यानाडा