संकटमोचक होमनाथ –खाडीका नेपालीको हिम्मत
२४ असार, काठमाडौं । पोखरा महानगरपालिका–३३ बाघमारामा जन्मिएका होमनाथ गिरीको जीवन यात्रा संघर्ष, बलिदान र अन्ततः सफलतासँग जोडिएको छ । सामान्य ग्रामीण परिवेशमा हुर्किएका उनले बाल्यकालमै जिम्मेवारीको भारी काँधमा बोक्न थालेका थिए । गिरीले माध्यमिक शिक्षा परीक्षा ‘एसएलसी’ सकेपछि आइए अध्ययन थाले । तर, पढाइभन्दा बढी उनको ध्यान घरको आर्थिक अवस्थाले तान्यो । उनका बुवा खाडी मुलुक साउदी अरेबियामा लेबरको रुपमा काम गर्न पुगेका थिए । यही कारणले उनले आफ्नै पढाइ रोकेर बुवालाई स्वदेश फर्किन आग्रह गरे । बुवा घर फर्किएपछि भने होमनाथले नयाँ निर्णय गरे– संघर्षको बाटो समात्दै राजधानी काठमाडौं जाने ।
काठमाडौंको त्यो संघर्ष
काठमाडौंमा प्रारम्भिक दिनहरु खासै सहज थिएनन् । केही समय आफन्तकहाँ बसे पनि चाँडै उनले आत्मनिर्भर बन्ने निर्णय गरे । उनले घर–घरमा जार बोकेर पानी पु¥याउने, ग्याँस सिलिन्डर तथा अन्य सामग्री डेलिभरी गर्नेजस्ता शारीरिक श्रमका कामहरु गर्न थाले । दुई वर्षसम्म निरन्तर त्यही काम गर्दै घर खर्च धान्न थाले । तर, धेरै आम्दानी नहुँदा पेट भर्ने भए पनि पर्याप्त भएन ।
विदेश जाने सपना मनमै राखेर उनले धेरैजनासँग सम्पर्क गरे । तर, सपना बेच्ने दलालहरुसँग धोका खाँदा मन कुँडिन्थ्यो । यस्ता धोखापछि पनि उनले हार मानेनन् । भित्री दृढता अझ बलियो बन्दै गयो ।

एक विज्ञापनले मोडिदियो जीवन
शाही शासनको अन्त्यतिरको असहज वातावरणबीच उनले एक दिन दैनिक पत्रिकामा एउटा विज्ञापन देखे, इराक–कुवेत युद्धपछि कुवेतमा सेक्युरिटी कम्पनीमार्फत रोजगारीको अवसर खुलेको थियो । उनले आवेदन दिए, तर मनमा शंका थियो, ‘५२ किलो मात्र तौल भएको यो शरीरले सुरक्षा गार्डको काम गर्न सक्ला र ?’
तर आशा जिन्दगीको मूल कुरा हो । लामो प्रतीक्षापछि सन् २००४ मा १९ वर्षको कलिलो उमेरमै उनलाई अलअमाना सेक्युरिटी कम्पनीमा सामान्य सुरक्षा गार्डको रुपमा नियुक्ति मिल्यो । तलब थियो करिब ३२ हजार नेपाली रुपैयाँ, जुन त्यसबेलाका लागि राम्रो मानिन्थ्यो । यहींबाट उनको नयाँ जीवन सुरु भयो । कुवेत जानका लागि उनले सयकडा ५ रुपैयाँ ब्याजमा १ लाख ८० हजार रुपैयाँ तिरेर भिजिट भिसामा कुवेत पुगेका थिए । कुवेत पुगेपछि मात्रै वर्किङ भिसा लागेको थियो ।
समयसँगै गिरीले आफ्नो दक्षता, लगनशीलता र इमानदारीको बलमा कम्पनीभित्रै प्रगति गर्न थाले । कठिन परिश्रम र लगानशीलताले उनलाई कम्पनीको उच्च व्यवस्थापन तहसम्म पु¥यायो । अहिले उनी असिस्टेन्ट म्यानेजिङ डाइरेक्टर पदमा कार्यरत छन् । सन् २०२५ सम्म आइपुग्दा उनका अधिनमा २ हजार ४ सय ५३ जना कर्मचारी कार्यरत छन्, जसमा १ हजार ५ सय ५४ जना नेपाली छन् । ३२ हजार तलबबाट सुरुआत गरेका गिरी आज कुवेतमा लाखौं रुपैयाँ आम्दानी गर्ने सीमित नेपालीहरुमध्ये एक हुन् ।

सहयोगी मन, नेपाली आत्मा
होमनाथ गिरी केवल एक व्यावसायिक व्यक्ति मात्र होइनन् । उनी कुवेतस्थित नेपाली समुदायबीच एक सहयोगी, परोपकारी र संवेदनशील पात्रको रुपमा स्थापित छन् । चाहे कुवेतस्थित नेपालीहरुको समस्या होस् वा नेपालमा आएको कुनै प्राकृतिक विपत्ति– गिरीको मन कहिल्यै चुप लाग्दैन ।
उनले नेपालका विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनमा सहयोग पु¥याउँदै आएका छन् । नेपाली राजदूतावास, स्थानीय प्रशासन र कुवेती समाजले पनि उनलाई विश्वासिलो नेपाली प्रतिनिधिको रुपमा हेर्छन् ।
संघर्षबाट समृद्धितर्फ
सानो कद, ५२ किलोको शरीर, तर आँखामा ठूलो सपना बोकेका थिए– होमनाथ गिरी । कास्कीको पोखरा महानगरपालिका–३३, बाघमाराबाट सुरु भएको उनको जीवन यात्रा आज कुवेतको ठूलो कर्पोरेट कार्यालयसम्म आइपुगेको छ । त्यो पनि कुनै सौभाग्यले होइन, निरन्तरको संघर्ष, इमानदार श्रम र असल मनले हो ।
अभाव र जिम्मेवारीको शुरुआत
जब उनका बुबा साउदी अरेबियाबाट फर्किए, परिवारको आर्थिक अवस्था कमजोर थियो । उमेरले जवान तर काँधमा अभावको भारी बोकेका गिरीले आफ्ना व्यक्तिगत आकांक्षा त्यागे– परिवारका लागि । तर भित्रै कतै गहिरो सपना लुकेको थियो, एउटा राम्रो घर बनाउने, परिवारलाई सुरक्षित जीवन दिने र अझ परे अरुको जीवनमा पनि केही योगदान पु¥याउने ।
कुवेत पुगेपछि उनको जीवनले नयाँ मोड लियो । सामान्य सुरक्षा गार्डको रुपमा सुरु भएको करियर उनले इमानदारी, मेहनत र नेतृत्व क्षमताबाट उचाइतर्फ डो¥याए । विभिन्न तह पार गर्दै अहिले उनी कम्पनीमा मालिकपछि दोस्रो स्थान अर्थात् असिस्टेन्ट म्यानेजिङ डाइरेक्टर पदमा कार्यरत छन् । उनको मातहतमा आज २० हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । जसमध्ये १५ सयभन्दा बढी नेपाली छन् । सामान्य तलबबाट सुरु गरेको करियरले अहिले उनलाई कुवेतमै उच्च आम्दानी गर्ने सफल नेपालीमध्ये एक बनाएको छ ।
आज गिरीको परिवार फुर्सदमा कुवेत र नेपाल दुवै स्थानमा बसोवास गर्छ । आमा, श्रीमती, दुई छोरी र एक छोरासँग कुवेती बसोवास अनुमति कार्ड छ । परिवारका सबै सदस्यलाई जुनसुकै समयमा नेपाल आउने र कुवेत जाने सुविधा हुन्छ । नेपालमा उनले शैक्षिक क्षेत्रमा लगानी पनि गरेका छन् । आफ्नै सुन्दर घर पनि बनाएका छन् । तर त्योभन्दा ठूलो कुरा हो, उनी आफै नेपालीका लागि संकटमा परेका बेला भरपर्दो साथी बनेका छन् ।
विपतमा सँगसँगै होमनाथ
बाढीपहिरो, डुबान, भूकम्प, जब–जब नेपालमा विपत्ति आउँछ, गिरीको मन थिचिन्छ । उनलाई लाग्छ, ‘यो मेरो पीडा नै हो ।’ त्यसैले उनी चुप बस्दैनन् । धरानका दृष्टिविहीन ५ वर्षीय बालकको आँखामा ज्योति फर्काउन उनले पहल गरे, आर्थिक सहयोग जुटाए र शल्यक्रिया सम्पन्न गराए । बालकले अहिले देख्न थालेका छन् । एक नेपाली फूटबल खेलाडीको मेरुदण्डमा चोट लागेपछि शल्यक्रिया आवश्यक प¥यो, त्यसबेला पनि उनी नै अगाडि सरे ।
कास्कीमा बाढीले घर बगाएको पीडित परिवारका लागि उनी आफैं नेपाल आएर घर बनाइदिए । त्यो परिवारका लागि उनी भगवान साबित भए । पाल्पाको अपाङ बालबालिकाका लागि सञ्चालित विद्यालयमा पनि उनले नियमित सहयोग पु¥याउँदै आएका छन् । यी त केही उदाहरण मात्रै हुन्, नेपालभरिका धेरै क्षेत्रहरुमा गिरीको सहयोग पुगेको छ ।
आत्मसन्तुष्टि सबैभन्दा ठूलो उपलब्धि
‘आत्मसन्तुष्टि नै ठूलो कुरा रहेछ । रोएको अनुहारमा मुस्कान ल्याउँदा प्राप्त हुने खुसी शब्दमा व्यक्त गर्न सकिँदैन’, उनी भन्छन्– ‘असहज परिस्थितिमा कसैलाई साथ दिन पाउनु नै मेरो सौभाग्य हो ।’ होमनाथ गिरी कुवेत र इराकमा रहेका हजारौं नेपालीका लागि यो नाम संकटमा परेका बेला सम्झिने पहिलो नाम हो । नेपालमा बाढी, भूकम्प, पहिरो होस् वा खाडी मुलुकमा मृत्यु, भोक, अलपत्र अवस्था, समस्या जहाँ भए पनि उनले टाढाबाट पनि आफ्नो कर्तव्य नबिर्सने आत्मीयता देखाउँदै आएका छन् ।
कुवेतमा कोही नेपालीको दुर्घटनामा परेर मृत्यु भयो भने सम्बन्धित निकायले पहिला सम्झिने व्यक्ति उनी नै हुन् । नेपाली संघसंस्था, स्थानीय प्रशासन र यहाँसम्म कि नेपाली दूतावाससमेत उनलाई संकटमोचकका रुपमा अगाडि राख्छन् । नेपाली दूतावासको सहकार्यमा कुवेतमा ज्यान गुमाएका नेपालीको शव स्वदेश फर्काउने कार्यमा होमनाथको भूमिका सबैभन्दा प्रमुख रहँदै आएको छ । यस्तो काममा उनी आर्थिक मात्र होइन, प्रशासनिक समन्वयमा पनि उत्तिकै सक्रिय हुन्छन् ।
कुवेतजस्तो इस्लामिक देशमा गैरमुस्लिमको अन्तिम संस्कारको वैधानिक विकल्प छैन । यदि मृत्यु हुने व्यक्ति वैधानिक कामदार भए भने कम्पनीले खर्च बेहोर्छ । तर, अवैधानिकरुपमा बस्ने नेपालीको मृत्युपछि भने खर्च उठाएर शव नेपाल पठाउनु निकै चुनौतीपूर्ण हुन्छ । यही चुनौतीमा होमनाथले सामुदायिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण दिएका छन् ।
दाता मात्र होइन, सहारा पनि
घर फर्किन चाहने, तर टिकट नहुने नेपालीहरुलाई पनि उनले भुल्दैनन् । प्रतिमहिना सरदर ३–४ जनाको हवाई टिकट उनी आफैंले बेहोर्छन् । कुनै संघसंस्था नभईकन, कुनै प्रचारबिना– सिर्फ मानवीय मूल्य र अपनत्वको भावनाले ।
इराक र कुवेतमा अलपत्र परेका सयौं नेपालीहरुको उद्धारमा पनि उनले मुख्य भूमिकामा काम गरेका छन् । यो काम उनको आफ्नो काम होइन, उनी सरकारी कर्मचारी पनि होइनन् । न त उनमा यो काम गर्नका लागि कुनै औपचारिक दायित्व रहेको छ । तर, उनले यो काम वर्षौंदेखि निरन्तर गरिरहेका छन् ।
पछिल्ला वर्षहरुमा घरेलु कामदारका रुपमा धेरै नेपाली महिलाहरु कुवेत पुगेका छन् । तर, केही नेपाली महिला श्रम शोषण, तलब नपाउने, दुव्र्यवहार र सम्पर्कविहीन अवस्थाको सामना गर्नुपरेको छ । यस्तो अवस्थामा विभिन्न व्यक्ति वा संस्थाहरुको पहिलो फोन पुग्ने व्यक्ति पनि होमनाथ नै हुन् । उनले दूतावाससँग समन्वय गरेर महिलाहरुको उद्धार, आवास, उपचार र स्वदेश फिर्र्तीसम्मका काम आफैं सक्रिय भएर गरेका छन् ।

कोभिड महामारीमा बने ‘जीवनदाता’
सन् २०१९ को कोभिड महामारीले खाडी मुलुकका कामदारहरुलाई सबैभन्दा ठूलो असर पु¥यायो । हजारौं नेपाली कामविहीन, आम्दानीविहीन र बसोवासविहीन भए । यही बेलामा होमनाथ गिरीले आफ्नो कम्पनीलाई ‘सेन्टर अफ होप’ बनाइदिए । दैनिक १०० जनासम्मलाई महिनौंसम्म खाना खुवाए, आवासको व्यवस्था गरे । घर भाडा तिर्न नसक्ने नेपालीहरुलाई फ्री सेल्टरमा राखे ।
कम्पनीको उच्च पदमा पुगेकाले उनले कुवेती प्रशासनसँग सिधा समन्वय गर्दै सयौं नेपालीको उद्धार, परीक्षण, औषधि र सुरक्षित फिर्तीको व्यवस्थासमेत गरे । यस्तो काम गर्ने सरकारी संयन्त्र थिएनन्, त्यसैले गिरी आफैं अघि सरे ।
इराकका नेपाली कामदारहरुका समस्या हेर्ने जिम्मेवारी पनि कुवेतस्थित नेपाली दूतावासकै भएकाले गिरी इराकमा फसेका नेपालीको पनि जीवनरक्षाका लागि पनि खटिने गरेका छन् ।
कोभिडको बेलामा मात्र इराकबाट झण्डै ५० नेपालीको उद्धारमा उनको भूमिका प्रमुख रह्यो । उनीबारे थाहा पाएका अधिकांश नेपालीले एउटै कुरा भन्छन्, ‘हामीले गाह्रो पर्दा कसैको नम्बर बुझ्नुपरेन, सबैले एउटै नाम दिए, गिरी सर ।’ धेरैपटक कुवेतका अस्पताल, थानामा फसेका, वा काम पाएका तर तलब नपाएका नेपालीहरुलाई दूतावासले नभ्याए पनि होमनाथ गिरी एक्लैले सम्हालिरहेका हुन्छन् ।
कुवेत, मध्यपूर्वको एउटा शान्त, कानूनी रुपले कडाइ गरिएको देश, जहाँ अन्य धेरै इस्लामिक राष्ट्रसरह रक्सीको सेवन, बिक्री र ओसारपसार पूर्ण रुपमा निषेध गरिएको छ । तर, यथार्थ यो पनि हो, गोप्य तरिकाले कच्चा पदार्थ ओसारपसार गर्ने र घरेलु मदिरा उत्पादन गर्ने गिरोह बेला–बेलामा सक्रिय भइरहन्छ । चिन्ताको कुरा के छ भने यस्ता गिरोहमा नेपाली कामदारहरुलाई अघि सार्ने प्रवृत्ति बढ्दो छ । कानूनी चेतनाको अभाव, भाषा नबुझ्ने कमजोरी र आर्थिक लोभका कारण धेरै नेपाली अनजानमा आपराधिक जालोमा फस्ने गरेका छन् ।
यही समस्यालाई देखेपछि होमनाथ गिरीले केवल समस्या देखेर चुप बस्ने होइन, समाधानतर्फ सक्रिय हुने निर्णय गरे । उनले कुवेतमा जनचेतनामूलक अभियान सुरु गरेका छन् । जहाँ नेपाली कामदारहरुलाई कुवेती कानुनको जानकारी दिइन्छ, रक्सीको निषेधको अर्थ बुझाइन्छ र आपराधिक गिरोहबाट कसरी जोगिने भन्ने विषयमा सरल भाषामा बुझाउने काम गरिन्छ । निशुल्क कानूनी परामर्श दिइन्छ ।
जब कोही नेपाली रक्सीसम्बन्धी मुद्दामा फस्छ ।
उनी कम्पनी, प्रहरी प्रशासन र नेपाली दूतावाससँग समन्वय गरेर त्यस्ता व्यक्तिलाई न्यूनतम सजाय वा उचित प्रक्रियामार्फत उद्धार गर्न सक्रिय हुन्छन् । ‘धेरै नेपाली यस्ता छन्, जो आफ्नो गल्ती नबुझीकन मात्रै हैन, कसैले फसाएर पनि कारबाहीमा पर्छन्,’ उनी भन्छन्– ‘कानुनी जानकारी नहुनु नै ठूलो दुर्भाग्य हो । त्यसैले चेतना र परामर्श दुवै आवश्यक छन् ।’
मानव–सेवाको आत्मगौरव
होमनाथको यिनै उदाहरणीय कार्य मानवीय सेवा, कानुनी चेतना, आप्रवासीको सुरक्षा लगायतका कारण उनी कुवेतमा नेपाली समुदायबीच सम्मानित व्यक्तिका रुपमा स्थापित भएका छन् । नेपाली दूतावास, कुवेती निकाय र विभिन्न संघसंस्थाले उनलाई पटक–पटक सम्मानित गरेका छन् । उनीसँग दर्जनौं सम्मानपत्र छन्, तर त्यो देखाउन कहिल्यै उनी इच्छुक छैनन् । उनी भन्छन्, ‘कसैको दुःखमा साथ दिन पाउनु सम्मानपत्रभन्दा धेरै ठूलो कुरा लाग्छ मलाई । आफैंलाई काम लाग्नेभन्दा अरुलाई काम लाग्ने कार्य गर्नु नै जीवनको साँचो अर्थ हो ।’ नेपालमै पनि उनले विभिन्न निकायबाट प्रशंसा–पत्र र सामाजिक कार्यका लागि सम्मान पाएका छन । तर, त्योभन्दा ठूलो पुरस्कार उनले आफैंलाई दिएका छन्, आत्मसन्तुष्टि र मानव–सेवाको आत्मगौरव ।
संघर्षबाट उठेका होमनाथको भूमिका केवल उद्धारमा सीमित छैन, आफ्नो कर्मभूमिमा बसेर कर्म मात्र होइन, कर्तव्य, संवेदना र सामाजिक उत्तरदायित्वको अनुकरणीय मिसाल बनिरहेका छन् । उनको जीवन कथा हजारौं नेपाली युवाका लागि प्रेरणा हो । जहाँबाट उनी हिंडे त्यो गाउँ, त्यो संघर्ष, त्यो अभाव, यही सब उनको ऊर्जा बन्यो । गिरी केवल सफल व्यावसायिक व्यक्ति मात्र होइनन्, संकटमा परेका नेपालीका लागि एउटा भरपर्दो काँध, आत्मीय साथी र उज्यालो विश्वास पनि हुन् । उनी विदेशमा बसेर पनि आफ्ना देशका नागरिकको दुःख–सुखमा साथ दिन सक्ने नेपालीपनको असल प्रतीक हुन् ।