समर क्याम्पमा तीन सय बालबालिका सहभागी
ड्यालस । नेपाली मूलका बालबालिकाहरुलाई हिन्दू धर्म, संस्कार–संस्कृति र नैतिक शिक्षा सिकाउने उद्देश्यले आयोजित समर क्याम्प ड्यालसमा सम्पन्न भएको छ । नेपाली समाज टेक्सासद्वारा आयोजित समर क्याम्प शनिबार सम्पन्न भएको हो ।
समर क्याम्प उमेर समूहअनुसार सिनियर र जुनियर गरी दुई चरणमा विभाजन गरिएको थियो । गत साता जुनियर समर क्याम्प सम्पन्न भएको थियो । शनिबार भने सिनियर बालबालिकाहरुको दीक्षान्त (ग्राजुएसन) कार्यक्रम सम्पन्न गरेको छ ।
दुई दशकदेखि नेपाली बालबालिकाहरुलाई हरेक समर याममा डा. चिन्तामणि योगीले समर क्याम्प सञ्चालन गर्दै आएका छन् । १ सय ५७ जुनियर र १ सय ४४ सिनियर बालबालिकाले समर क्याम्पमा सहभागिता जनाएका थिए । नेपाली समाज टेक्सस र नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रले अमेरिकामा विद्यालय बिदाको सदुपयोग गर्दै लामो समयदेखि समर क्याम्प चलाउँदै आएका छन् ।
