बाढी पहिरो पिडितको नाममा गरिने चन्दा संकलन र वितरण
हजुरी शाह, न्युयोर्क
गत हप्ता रसुवाको चीन नाकामा रहेको मितेरी पुल सहित ठुलासाना गरी ५० भन्दा सवारी साधन समेत बगाउने गरी ठुलो बाढी आयो । मानिस र जनधनको क्षतिको यकिन विवरण नआएपनि करि १८ जना बगाएको अनुमान गरिएको छ । चीनको तिब्बत क्षेत्रबाट रहेको हिमनदी फुटेर आएको बाढीले रसुवा नुवाकोट क्षेत्रमा त्रासदी बढायो ।
मौसमी बर्षा नभइ अन्य कारणले आएको बाढी भन्दापनि हरेको वर्ष बर्षाको सिजनमा आउने बाढी पहिरोले नेपालमा ठुलो जनधनको क्षति पुर्याएको हुन्छ । नेपालमा पिडा बिपत परेपछि सबैभन्दा पहिला बिदेशमा भएका नेपालीलाई छोएको अनुभूति हुन्छ । तर बिदेशमा उठ्ने राहत सहयोगको सही सदुपयोग कति हदसम्म हुन्छ त्यो भने सधै प्रश्नको घेरामा रहन्छ । यसर्थ चन्दा सहयोग उठाउनु भन्दा पनि पिडितसम्म कहिले र कति पुग्छ भन्ने महत्वपुर्ण हुन्छ ।
मैले झण्डै २ दशक परदेश बसाईको क्रममा कयौं यस्ता कार्यक्रममा सहभागी भएँ । ती मध्ये केही घटनाबाट हामीले कसरी अझ प्रभावकारी ढंगले गर्न मिल्छ, मनन गर्न सकिन्छ ।

एउटा संझना;
सन २०११ मा म ईजरायलमा कार्यरत थिएँ । म संगै मेरा केही सहकर्मीहरु मिलेर २०११ ताका एउटा सामाजिक संस्था “हेल्पिगं हेन्डस् ईन् ईजरायल” भन्ने सहयोगी संस्था खोलेका थिंयौं । त्यस्ले खास मातृभुमिमा सहयोग गर्ने गर्दथ्यो । त्यसबाहेक ईजरायलमा मनोरंजनात्मक र सहयोगात्मक कामहरु गर्ने गर्दथ्यो । यस्तै सहयोग गर्ने क्रममा सन् २०१३ मा सुदुर पश्चिमको दार्चुलामा हामीले केही सहयोग गरेका थियौं । त्यति बेला सुदुर पश्चिममा धेरै ठुलो बाढी गएको र बाढीले त्यता धेरै नै नोक्सान गरेको थियो। मातृभूमी दुख्दा संधै दुख्ने हामी फेरि विचलित भयौं र स्वफुर्त केही सहकर्मीहरु फेरि सहयोगको लागी जुट्न शुरु गर्यौं ।
“महाकाली बाढी पिडीत अभियान “भनेर संस्थाका २,४ जना र अरु २,४ जना साथीहरुले तुरुन्तै आपातकालिन सहयोग आव्हान गर्यौं । पहिला केही साथीहरुले अभियान शुरु गरेर सहयोग संकलन शुरु गर्यौ । लगत्तै अरु केहि संस्था साथै समुहहरुले पनि सहयोग संकलन शुरु गरे र र पछि गएर हेन्डस् ईन ईजरायलले नै प्राय जसो सबैलाई समेटेर एकमुष्ट सहयोग पठाउने निर्णय गर्यो । हामीले भन्नलाई आपातकालिन सहयोग भनेतापनि बिविध कारणले सॅकलन जुटाउन करिव ३ महिना जति लाग्यो ।त्यति बेला सहयोग जुटाउन मनी टांन्स्फर गर्ने कुनै व्यबस्था थिएन र सो सहयोग संकलनको लागि तेलअभिभ एरिया र अरु संबन्धित ब्यक्तिलाई आआफ्नो एरियाभित्र दिनु पर्ने हुन्थ्यो।
सरकारले राहत रकम प्रधानमन्त्री कोषमा पठाउन सुचना जारी गरेको भएतापनि हामी त्यस्मा पठाउने पक्षमा थिएनौं र कसरी पिडीतहरुको हातमा रकम पुग्ला भनेर सोच्दै थियौं । यसै क्रममा हामीले न्युज २४ का प्रेम बांनियालाई संपर्क गर्यौं । उहां त्यतिबेला “जय स्वाभिमान” नामक कार्यक्रम चलाउनु हुन्थ्यो। युवा पत्रकार, जोश जांगर र बोल्ने शैली निकै नै दमदार थियो । साथै त्यसताका मलाई एकदम मन पर्ने मिडीयाकर्मी प्रेम बांनिया धेरैको प्रिय हुनुहुन्थ्यो।अन्तत: मिडीया माफर्त वितरण गर्ने हेतुले सेप्टेम्बरमा उहाँ कार्यरत न्युज २४ लाई राहत रकम ११ लाख ४६ हजार २ सय ४ पठाईयो तर मिडीयाले राहत रकम दार्चुला पठाउन धेरै ढिला गर्यो । यता ईजरायलमा हामी २, ४ जनालाई राहत रकम दुरुपयोग भयो। ब्याजमा लगाए । कतै लगानी गरे भन्ने जस्ता आरोप आईलाग्यो । तर हामी कति पनि विचलित नभई सिधा न्युज २४ का कार्यक्रम संचालक प्रेम बांनियालाई बारंबार ताकेता गरि हाम्रा अध्यक्ष कृष्ण ज्ञवालीजीलाई रकम तुरुन्त उपलब्ध गराउन दवाव दियौं ।
प्रेम बांनिया र कृष्ण ज्ञवालीजीको बिशेष पहलमा करिब ४ महिनापछि जनवरीको अन्ततिर बल्ल मिडीयाबाट त्यो पैसा हामीले प्राप्त गर्यौं । त्यसपछि हाम्रो संस्थाका अध्यक्षज्यु ,प्रेम बांनिया, न्युज २४ का फोटोग्राफर सहित गरि ५ जनाको टोली दार्चुला तर्फ प्रस्थान गर्यो। काठमाडौंदेखि धनगंडीसम्म बस त्यसपछि सानो सुमो रिजर्भ गरि भारत हुंदै टोली दार्चुला पुग्यो । त्यहां पुग्दा त अरु बिभीन्न देशका सहृदयीहरुले पठाएको रकम पनि वितरण गर्न नसकेको अवस्था थियो । त्यस्तो अति संवेदनशिल अवस्थामा सहयोगी संस्था प्रमुख, मिडीया संगै प्रेम बांनिया स्वंय त्यहां पुग्दाखेरि सबैजना खुसी भए र त्यहांका सिडीयो सहित अरु उच्च अधिकारी र हाम्रो संस्थाको रोहवरमा त्यहा पिडीतहरुको अवस्था हेरि त्यहांका पिडीतहरुलाई हामीले पठाएको रकम ११ लाख ४६ हजार २ सय ४ र अरु ठाउंबाट आएको रकम गरि जम्मा ७६ ,९९१,४३/- प्रत्येक पिडीतहरुलाई वितरण गरि हाम्रो टिम काठमाण्डौ फर्क्यो।
१२ बर्ष अघि गरेका यस्ता कार्यहरुका समाचार कान्तिपुर र अरु मिडीयाहरुले पनि छापेका थिए तर समयसंगै सबै धुमिल भएपनि हामीसंग रहेका फोटो संझनाहरुले प्रत्येक वर्ष नेपालमा बिपत परेको बेला स्मरण र वितरणको कठिनाई स्मरण हुन्छ ।

मैले १२ वर्षपछि सो वितरणमा भएको कठिनाई र ढिलासुस्तिको कारण पिडाको समयमा तत्काल मल्हम लगाउन नसक्नाले उठाउनु मात्र पनि ठुलो कुरा होइन रहेछ, समयमै पुर्याउनुको अझ ठुलो महत्व हुन्छ भन्न खोजेकी हुँ । यसर्थ चन्दा संकलन गर्नेले शुरुमा नै कसरी ? को मार्फत ? तत्कात राहत पुर्याउने हो, सोको टुङ्गो गरेर मात्र संकलन कार्य शुरु गर्न अनुरोध गर्दछु ।