डायस्पोरा

न्युयोर्कमा नेवा: संस्कृति जोगाउदै नेवा: नख:

न्युयोर्क, अमेरिका ।

नेवाः नखः न्यूयोर्कको आयोजनामा नवौं पटक सामुहिक ईही कार्यक्रम सम्पन्न भएको छ । नेपाल सम्वत् ११४५ दिल्लागा एकादशी (जुलाई ६ तारिख २०२५) मा ज्याक्सन हाईटको शेर्पा किदुगंको हलमा भएको ईहीमा अमेरिकाका चार राज्यका ६ जना बालिकाको सहभागिता थियो । ईहीका सहभागीहरू न्युजर्सी, म्यासाच्युसेट, ओहायो र न्युयोर्क स्टेटहरूबाट ईही कार्यक्रमस्थल पुगेका थिए । लुनिभा श्रेष्ठ, ग्रेश प्रधान, जियाना तुलाधर, मेलानी तुलाधर, लीला श्रेष्ठ र अनन्या प्रधानको ईही गरिएको थियो ।

नेवाः गुभाजु (पुरोहित) समन्त श्री बज्राचार्यजुले नेवाः विधिपूर्वक ईही सम्पन्न गराएका थिए । ईहीमा गुरूमा पुष्पा बज्राचार्यज्यू र संस्थाका निवर्तमान अध्यक्ष महेन्द्र बीर बज्राचार्य जजमान (मुख्य कर्ता) का रुपमा पुजा सम्पन्न गरेका थिए ।

संस्थाका महासचिव तुलसी नारायण चित्रकारले कार्यक्रम सञ्चालन गरेका थिए भने संस्थाका प्रथम उपाध्यक्ष्य श्रुति अमात्यले उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी र अतिथिहरूलाई स्वागत गरेका थिए । संस्थाका निवर्तमान अध्यक्ष महेन्द्र बीर बज्राचार्यले संस्थाको स्थापना र उद्देश्यको बारेमा प्रकास पार्दै नेवाः चाडपर्व, परम्परा, रितिरिवाज तथा कला–संस्कृतिको संरक्षण र प्रवर्धन गर्नका लागि सन् २०११ मा न्युयोर्कमा यस संस्थाको स्थापना गरिएको बताए । अमेरिकामा जन्मेका हाम्रा नानीबाबुहरूलाई नेवाः संस्कृति, परम्परा, कला, भाषा सिकाउँदै आफ्नो संस्कृतिको निरन्तरता कायम गर्नु पर्नेमा सल्लाहकार बज्राचार्यले जोड दिए ।

नेवाः नखः न्यूयोर्कका महासचिव तुलसी नारायण चित्रकारले पुजा सम्पन्न भैरहेको बेलामा संस्थाका कार्यकारी पदाधिकारीहरू, सदस्यहरू, ईही बालबालिकाका अभिवावकहरू, पाहुनाहरू, ईही गर्ने बालिकाहरू लगायत उपस्थित सबै जनाको परिचय गरेका थियो । परिचयको क्रममा बालिकाका अभिवावकहरूले परदेशमा पनि स्वदेशमा जस्तै पारिवारिक वातावरणमा विधिपूर्वक बालिकाको ईही गर्न पाउँदा धेरै नै खुशी लागेको कुरा व्यक्त गर्नु भयो ।

संस्थाका कोषाध्यक्ष शलोनी वन्त श्रेष्ठ, सह कोषाध्यक्ष मेनी श्रेष्ठ र सदस्य नम्रता प्रधानले कार्यक्रममा सहभागीहरूको उपस्थिति दर्ता गर्ने कार्य गरेका थिए ।

नेवाः नखः न्यूयोर्कका अध्यक्ष डा. नरेश मान शाक्य, प्रथम उपाध्यक्ष श्रुति अमात्य, द्वितीय उपाध्यक्ष महेन्द्र कुमार बज्राचार्य, महासचिव तुलसी नारायण चित्रकार, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सल्लाहकार महेन्द्र बीर बज्राचार्यले ईहीमा सहभागी बालिकाहरूलाई6 प्रशंसा–पत्र प्रदान गरि बधाई तथा शुभकामना दिएका थिए ।

संस्थाका महिला सदस्यहरु श्रुति अमात्य, शलोनी वन्त श्रेष्ठ, मेनी श्रेष्ठ, नम्रता प्रधान, उजिला प्रधान, लघु श्रेष्ठ, लक्ष्मी शोभा चित्रकार, अनिता बज्राचार्य, मोहिनी कर्माचार्य, कल्पना प्रधान, कमला प्रधान र गुरुमा पुष्पा बज्राचार्य लगायतले बालिकाहरुलाई मूलढोकाबाट लसःकुसः गरि ईही गर्ने स्थलमा भित्र्याएका थिए ।

संस्थाका प्रथम उपाध्यक्ष श्रुति अमात्यको सम्योजनमा कोषाध्यक्ष शलोनी वन्त श्रेष्ठ, सदस्य उजिला प्रधान, लघु श्रेष्ठ, अनिता बज्राचार्य, लक्ष्मी शोभा चित्रकार र मोहिनी कर्माचार्यले ईहीको पुजा सामाग्री, उपहार र सगुन सहित ईही गर्ने बालिकाहरूलाई “थाय्–भू” तयार गरेका थिए ।

गुभाजु (पुरोहित) समन्त श्री बज्राचार्यज्यूले सहभागीहरुलाई ईहीको महत्वबारे शिक्षा दिनु भएको थियो भने संस्थाका अध्यक्ष डा. नरेश मान शाक्यले ईहीको विभिन्न चरणहरूमा पुजामा प्रयोग हुने भिन्नभिन्न सामाग्रीहरु कसरी प्रयोग गर्नेबारे बताउनु भएको थियो । साथै संस्थाका द्वितीय उपाध्यक्ष महेन्द्र कुमार बज्राचार्य, सचिव अनित श्रेष्ठ, सदस्यहरु जिवेन्द्र प्रधानाङ्ग, लघु श्रेष्ठ, अनिता बज्राचार्य, लक्ष्मी शोभा चित्रकारले ईही पुजाको विभिन्न चरणहरू सम्पन्न गर्न सहयोग गरेका थिए । सदस्यहरू किरण रंजित, सबिना शाक्य, दिपक प्रधान, अभिषेक छोचूँ, पुष्प श्रेष्ठ, मुनिन्द्र बज्राचार्य, जिवेन्द्र प्रधानाङ्गले अतिथीहरूको सत्कारका साथै नेवा: खाना समयबजीको व्यवस्थापन गरेका थिए । त्यस्तै तुलासा चित्रकार, रोहण चित्रकार, साइमन शाक्य, साय्म श्रेष्ठ, इप्सा रजक, ऐश्वर्या श्रेष्ठ, पारसले स्वयम् सेवकका रुपमा सहयोग गरेका थिए ।

कार्यक्रमको अन्त्यमा नेवा: नख: न्युयोर्कका अध्यक्ष डा. नरेश मान शाक्यले कार्यक्रममा सहभागी सबैमा धन्यवाद व्यक्त गर्नुका साथै सहभागी बालिकाहरूको उज्ज्वल भविष्यको कामना गरे । उनले अमेरिकामा रहेर पनि यस्तो महत्वपूर्ण संस्कार संस्थागत रूपमा गर्न गराउन पाउँदा गौरवान्वित भएको धारणा राखे ।

न्युयोर्कमा यसरी गरिएको नेवा: परम्परागत ईहीबाट अभिभावक र बालिकाहरु लाभान्वित हुनुको साथै यस्ता कार्यक्रमबाट विदेशमा रहेर पनि नेवा: मौलिक संस्कृति र परम्पराको समेत संरक्षण र प्रवर्द्धन हुने संस्थाका निर्वतमान अध्यक्ष तथा सल्लाहाकार बिष्णु मान प्रधानले जानकारी दिनुभयो ।