राष्ट्रपति ट्रम्पको चेतावनीले शान्ति प्रक्रियामा असर पर्ने रूसी आशंका
३२ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने घोषणा र रूसी व्यापारिक साझेदारहरूमाथि सम्भावित प्रतिबन्धको चेतावनी दिएपछि रूसले उक्त अभिव्यक्तिलाई शान्ति प्रक्रियामा प्रतिकूल असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । राष्ट्रपति ट्रम्पले रूसलाई ५० दिनको समयसीमा दिँदै युक्रेनसँग शान्ति सम्झौता गर्न आग्रह गरेका छन् । साथै, उनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सदस्य राष्ट्रहरूसँग समन्वय गर्दै युक्रेनलाई नयाँ अमेरिकी हतियार उपलब्ध गराउने योजनाको घोषणा गरेका छन् ।
रूसी प्रवक्ता दिमित्री पेस्कोभले मस्कोमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “वाशिङ्टन तथा नेटोका राष्ट्रबाट लिइएको यस्तो निर्णयलाई युक्रेनी नेतृत्वले सम्भवतः युद्ध जारी राख्न प्रोत्साहनको रूपमा बुझ्न सक्छ । ट्रम्पद्वारा व्यक्त विचार अत्यन्त गम्भीर छन्, र त्यसको यथोचित विश्लेषण आवश्यक रहेको छ ।” यदि उक्त अवधिमा शान्ति सम्झौता हुन नसकेको खण्डमा, राष्ट्रपति ट्रम्पले रूसका बाँकी व्यापारिक साझेदारमाथि उच्च दरको आयात कर (ट्यारिफ) लगाउने चेतावनी दिएका छन् । जसको उद्देश्य रूसको सैन्य अर्थतन्त्रमा प्रत्यक्ष असर पार्नु हो ।
हालसम्म रूसले चीन, भारतजस्ता व्यापारिक साझेदारहरूसँगको सहकार्यबाट पश्चिमी प्रतिबन्धको प्रभावलाई न्यून तुल्याउँदै आएको देखिन्छ ।
यसैबीच, डेनमार्क र नेदरल्यान्ड जस्ता युरोपेली राष्ट्रहरूले राष्ट्रपति ट्रम्पको प्रस्तावित योजनामा सहभागी हुने इच्छा व्यक्त गरेका छन् । उक्त योजनाअनुसार, अमेरिका निर्मित उच्च प्रविधियुक्त हतियार युक्रेनलाई आपूर्ति गरिनेछ ।
रूसले शान्ति वार्ताका लागि खुला रहनुको साथै युक्रेनी पक्षबाट समय र स्थान सम्बन्धी प्रस्तावको प्रतीक्षा गरिरहेको बताएको छ । यद्यपि, युक्रेनी नेतृत्वले वर्तमान रूसी वार्ता टोलीसँग संवाद गर्नु ‘अप्रभावकारी’ हुने धारणा व्यक्त गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले अघिल्ला वार्तामा युक्रेनले सम्पूर्ण पश्चिमी सैन्य समर्थन त्याग्नुपर्ने तथा पूर्व र दक्षिणका चारवटा क्षेत्रहरूबाट सेना फिर्ता गर्नुपर्ने सर्तहरू राख्नुभएको थियो, जसलाई युक्रेन तथा उसका पश्चिमी सहयोगी राष्ट्रहरूले अस्वीकार गरेका छन् ।
रूसी राजधानी मस्कोमा सर्वसाधारणहरूले राष्ट्रपति ट्रम्पको अभिव्यक्तिलाई विविध दृष्टिकोणबाट व्याख्या गरेका छन् । एभिएसन इन्जिनिय स्वेतलानाले भने, “यो एक रणनीतिक खेलजस्तै हो । उनले ५० दिन दिनेका थिए, त्यसपछि अर्को निर्णय आउनेछ । अब हामी हाम्रो राष्ट्रपतिको आगामी कदम प्रतिक्षा गरिरहेका छौँ ।” त्यस्तै, युक्रेनका अग्रपंक्तिमा रहेर डटेर लडिरहेका सुरक्षाकर्मीहरूले आशावादी भए पनि सतर्क प्रतिक्रिया दिएका छन् ।
एक सैनिकले भने, “पछिल्ला अभिव्यक्तिहरूको आधारमा मात्र विश्वास गर्न गाह्रो छ । अतीतमा पनि यस्ता धेरै वाचा भएका थिए, तर सबै पूरा भएका थिएनन् ।” एक अन्य सुरक्षाकर्मीले भने, “यदि यी हतियार केही समयअघि आएका भए, हामीलाई धेरै सहयोग पुग्थ्यो । तर अहिले पनि यदि यसले स्थिति सुधार गर्न सघाउँछ भने, हामी त्यसलाई सकारात्मक रूपमा लिन्छौँ ।”