गाजामा अमानवीय तरिकाबाट मानिसहरु मारिएपछि बेलायतसहित २७ देशको आपत्ति
६ साउन, काठमाडौं । बेलायत र अन्य २७ देशहरूले गाजामा त्यहाँका मानिसहरूको पीडा नयाँ गहिराइमा पुगेको भन्दै जारी युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन्। एउटा संयुक्त वक्तव्यमा गाजामा सहायता वितरण गर्ने इजरेलको तरिका खतरनाक रहेको बताइएको छ । खानेकुरा र पानीको खोजीमा रहेकाहरूलाई थोपा थोपा गरेर सहायता वितरण गर्ने र गैरसैनिक मानिसहरूलाई अमानवीय रूपमा ज्यान लिने कार्य भैरहेको भन्दै त्यस्को निन्दा गरिएको छ।
गाजाको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले सप्ताहान्तमा खानेकुराको पर्खाइमा रहेका बेला इजरेली गोली लागेर १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको र अन्य १९ जनाको कुपोषणका कारण मृत्यु भएको जनाएको छ। इजरेलको विदेश मन्त्रालयले ती देशहरूका वक्तव्यलाई अस्वीकार गरेको छ र त्यो वास्तविकताबाट अलग रहेको र त्यसले हमासलाई गलत सन्देश दिएको जनाएको छ। उक्त मन्त्रालयले सशस्त्र समूहहरूमाथि नयाँ युद्ध विराम र बन्धक रिहा गर्ने सम्झौतामा सहमत हुनुको सट्टा झूट फैलाएको र सहायता वितरणलाई कमजोर बनाएको आरोप लगाएको छ।
गाजामा विगत २१ महिनादेखि हमाससँगको युद्धको क्रममा इजरेलले अपनाइरहेको रणनीतिको निन्दा गर्दै थुप्रै अन्तर्राष्ट्रिय वक्तव्यहरू आएका छन्। तर यसपटकको सामूहिक घोषणा यसको स्पष्टताको लागि उल्लेखनीय देखिन्छ। यूकेसहित अस्ट्रेलिया, क्यानडा, फ्रान्स, इटली, जापान, न्यूजिल्यान्ड र स्वीट्जरल्यान्डलगायत २७ देशका विदेश मन्त्रीहरू यो वक्तव्यका हस्ताक्षरकर्ता रहेका छन्। उक्त वक्तव्यको पाठ गाजामा जारी युद्ध अब अन्त्य हुनैपर्छ भन्ने घोषणाका साथ सुरु हुन्छ।
त्यसपछि उक्त वक्तव्यमा चेतावनी दिइएको छ, गाजाका मानिसहरूको पीडा नयाँ गहिराइमा पुगेको छ। इजरेली सरकारको सहायता वितरण गर्ने तरिका खतरनाक छ त्यसले अस्थिरतालाई बढावा दिन्छ र गाजाका मानिसहरूलाई उनीहरूको मानवीय आत्मसम्मानबाट वञ्चित गर्छ।’ ‘थोपा थोपा गरेर सहायता प्रदान गर्ने अनि पानी र खानेकुराजस्ता अति आधारभूत आवश्यकता पूरा गर्न खोजिरहेका बालबालिकासहित सर्वसाधारणको अमानवीय रूपमा ज्यान लिइएको कुराको हामी निन्दा गर्छौँ। ८०० भन्दा धेरै प्यालेस्टिनीहरू सहायताको खोजीमा रहेका बेला मारिनु भनेको निकै भयानक कुरा हो।’
यूकेका विदेश मन्त्री डेभिड ल्यामीले पछि हाउस अफ कमन्समा बोल्दै गाजामा भयानक घटनाहरूको थुप्रो नै लागिरहेको र त्यस्ता घटनामा विवश, भोका बालबालिकाहरूको ज्यान लिने गरी हमलाहरू भैरहेका बताए। यो वर्ष गाजाका लागि थप ४० मिलियन पाउन्ड मानवीय सहायता घोषणा गर्दै ल्यामीले आफू ूइजरेलको सुरक्षा र यसको अस्तित्वको अधिकारको दृढ समर्थक रहेको तर त्यहाँको सरकारको कामलेूविश्वमा इजरेलको प्रतिष्ठामा अव्यक्त क्षति पुर्याइरहेको र इजरेलको दीर्घकालीन सुरक्षालाई कमजोर पारिरहेको बताए।
इजरेलले गाजामा सहायता वितरणमा लागु गरेको ११ साताको पूर्ण प्रतिबन्धलाई आंशिक रूपमा खुकुलो बनाएपछि र अमेरिकासँग मिलेर गाजा ह्युमेनिटेरिअन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालित नयाँ सहायता प्रणाली स्थापना गरेपछि मे महिनायता खानेकुराको पर्खाइमा रहेका प्यालेस्टिनीहरू मारिएको विवरणहरू लगभग दैनिक जसो आइरहेका छन्। तर संयुक्त राष्ट्रसङ्घ र उसका साझेदारहरूले त्यस्तो प्रणाली असुरक्षित रहेको र त्यसबाट निष्पक्षता, तटस्थता र स्वतन्त्रताको मानवीय सिद्धान्तको उल्लङ्घन हुने भन्दै सहयोग गर्न अस्वीकार गरेका छन्।
गत मङ्गलवार संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जीएचएफको सहायता वितरण स्थल वरपर ८ साताअघिदेखि ६७४ जनाको ज्यान गएको जनाएको थियो। त्यस्तै संयुक्त राष्ट्रसङ्घ र अन्य सहायता सामग्री बोकेका गाडीका लस्कर चल्ने बाटोमा अन्य २०१ जनाको ज्यान गएको विवरण उनी उक्त कार्यालयले दिएको छ। आइतवार उत्तरी गाजाको एउटा नाकानजिकै संयुक्त राष्ट्रसङ्घको सहायता बोकेका गाडीहरू जाँदै गर्दा त्यसतर्फ मानिसहरूको भीड अघि बढ्दा ६७ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरेली सेनाले तत्कालको खतरा हटाउन भीडमाथि चेतावनी स्वरूप गोली चलाएको बताएको छ।
यी घटनाहरूपछि विश्व खाद्य कार्यक्रमले गाजाको भोकमरीको सङ्कट निराशाको नयाँ स्तरमा पुगेको चेतावनी दिएको थियो। मानवीय सहायताको अभावमा मानिसहरूको ज्यान गइरहेको छ। कुपोषणका कारण ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको खाँचो परेको छ, संयुक्त राष्ट्रसङ्घको सो निकायले भनेको छ।
२७ देशले जारी गरेको वक्तव्यमा गाजाको पूरै २१ लाख जनसङ्ख्यालाई दक्षिणी रफाह क्षेत्रमा तथाकथित मानवीय सहर मा सार्ने भन्ने इजरेली प्रस्ताव अस्वीकार्य रहेको उल्लेख गर्दै मानिसहरूलाई स्थायी रूपमा बलपूर्वक विस्थापन गर्नु अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन हुने भनिएको छ। उनीहरूले इजरेल, हमास र अन्तर्राष्ट्रिय समुदायलाई तत्काल, बिना सर्त र स्थायी युद्ध विरामको माध्यमबाट यो डरलाग्दो द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन्।
उनीहरूले चेतावनी दिँदै आफूहरू तत्काल युद्धविराम र सुरक्षा तथा शान्तितर्फको राजनीतिक मार्गको समर्थन गर्नका लागि थप कदम चाल्न तयार रहेको बताएका छन्। त्यस्तो सन्देशलाई धेरैले प्यालेस्टाइन राज्यलाई मान्यता दिन सकिने सङ्केतका रूपमा अर्थ्याएका छन्। थुप्रै देशले त्यस्तो कदम चालेका छन् तर युके अनि फ्रान्स लगायतका अन्य देशहरूले त्यसो गरेका छैनन्।
इजरेलको विदेश मन्त्रालयका प्रवक्ता ओरन मार्मर्स्टीनले त्यस्तो आलोचनाको खण्डन गरेका छन्। सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासको नेतृत्वमा इजरेलको दक्षिणी क्षेत्रमा भएको हमलायता गाजामा कम्तीमा ५९,०२९ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बीबीसीबाट