समाचार

न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते

एजेन्सी
२५ साउन, काठमाडौं । अमेरिकाको न्युयोर्क शहरको अत्यधिक भीड हुने पर्यटकीय स्थल टाइम्स स्क्वायरमा शनिबार बिहान एक १७ वर्षीय किशोरले गोली चलाउँदा तीन जना घाइते भएका न्यूयोर्क प्रहरी विभागले जनाएको छ। विभागका प्रवक्ताले एएफपीसँग भने, “स्थानीय समयअनुसार राति १ः२० मा ‘सामान्य भनाभनपछि’ गोली चलेको थियो । प्रहरीका अनुसार आक्रमणबाट एक १८ वर्षीया युवतीको घाँटीमा चोट लागेको छ भने १९ वर्षीय पुरुष र ६५ वर्षीय वृद्धको शरिरको तल्लो भागमा चोट लागेको छ ।

चोटपटकका कारण कुनै पनि व्यक्तिको जीवन खतरामा नरहेको अस्पताल स्रोतले बताएको छ । घाइते तीनै जनालाई न्यूयोर्क शहरको बेलेभ्यु अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । “आक्रमणकारी युवकलाई प्रहरी हिरासतमा लिइएको छ र एउटा बन्दुक बरामद गरिएको छ,” नयुयोर्क प्रहरी विभागका प्रवक्ताले बताए । संदिग्ध किशोरमाथि अनुसन्धान जारी रहेकोले औपचारिक रूपमा अभियोग लगाइएको छैन ।

दैनिक दशौं हजार पर्यटक आउने शहरको थिएटर डिस्ट्रिक्टको बीचमा रहेको ४४ औं स्ट्रिट र सेभेन्थ एभिन्यूमा गोली चलेको हो । न्युयोर्क टाइम्सले सन् २०२५ को पहिलो सात महिनामा शहरमा गोली काण्ड र गोली प्रहारका घटनामा अहिलेसम्मकै न्यून रहेको यसै महिनाको सुरुमा अधिकारीलाई उद्धृत गरी बताएको थियो । गत जुलाई ३० मा म्यानहट्टनमा सेमी अटोमेटिक राइफलले सुसज्जित एक व्यक्तिले चार जनाको गोली हानी हत्या गरेका थिए । ‘गन भायलेन्स आर्काइभ’का अनुसार यस वर्ष संयुक्त राज्य अमेरिकामा २५४ वटा सामूहिक गोलीकाण्ड भएका छन् ।